अध्यक्ष बिजुक्छेंद्वारा जनताको सहयोगबाट निर्मित ख्वप अस्पतालको अक्सिजन प्लान्ट उद्घाटन
असार १, २०७८, मङ्गलबार | दिउँसो ०२:०२ बजे | 40
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुर नपाद्वारा सञ्चालित भक्तपुरको च्याम्हासिंहमा अवस्थित ख्वप अस्पतालमा जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टको मंगलबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले कोभिड महामारीविरुद्धको लडाइँमा संसारका धनी र विकसित देशहरुलाई समेत कठीन भएको बताउनुहुँदै भक्तपुर नपाका जनप्रतिनिधिहरुले समयमै सक्रियतापूर्वक जनताको हितको निम्ति जनताकै सहयोगमा गरेको अक्सिजन प्लान्ट निर्माण कार्यको थालनी प्रशंसनीय भएको बताउनुभयो ।
[[img3]]
नेमकिपाले नेपालको सातवटै प्रदेशहरुमा सुविधासम्पन्न अस्पतालहरु बनाउनुपर्ने पक्षमा आवाज उठाउँदै आइरहेको बताउनुहुँदै उहाँले जनताको सहयोगी भावनाले प्राप्त भएको आर्थिक र भौतिक सहयोगबाट निर्मित अक्सिजन प्लान्टले व्यापक जनताकै हित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
नेपाल भारतबीचको सीमा नाका समयमै आवश्यक निगरानी, चेकजाँच र कडाइ गर्न नसक्दा नेपालमा कोभिड १९ को संक्रमण महामारीको रुपमा फैलिएको बताउनुहुँदै उहाँले यसमा सरकार नै दोषी भएको बताउनुभयो ।
समाजवादी र पुँजीवादी व्यवस्थाबीचको भिन्नताबारे प्रष्ट पार्नुहुँदै अध्यक्ष बिजुक्छेँले महामारीको समयमा समाजवादी देशहरुले जनताको जीवन रक्षामा खेलेको भूमिकाबारे चर्चा गर्नुभयो ।
जनताको जीवन रक्षामा सरकार चुकेको बताउनुहुँदै नेता बिजुक्छेँले जनतालाई सामुदायिक र निजी संस्थाहरुबीचको भिन्नता र महत्वबारे सचेत पार्नुपर्ने र समाजमा आमूल परिवर्तनको निमित जनतालाई नै राजनैतिक रुपले सचेत पार्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट र अन्य स्वास्थ्य उपकरणहरुको निम्ति जनता आफै अग्रसर भएर श्रोतको बन्दोबस्त गर्नु जनप्रतिनिधि र जनताबीच एकताको प्रमाण भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीले जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन व्यापक जनताकै हितको निम्ति प्रयोग हुने बताउनुभयो ।
उहाँले ख्वप अस्पताललाई जनताको अस्पतालको रुपमा सञ्चालन गर्ने उद्देश्यअनुरुप नगरपालिका लागिपरेको बताउनुहुँदै मानव जीवन रक्षा गर्ने अक्सिजन प्लान्ट नगरपालिकाको लागि गौरवको कार्य भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले अक्सिजन प्लान्ट खरिद प्रक्रियाबारे अवगत गराउनुहुँदै महामारीको मौका छोपी कृत्रिम अक्सिजन अभावको स्थिति सृजना गरी कालोबजारी गर्नेहरुलाई अपराधीको संज्ञा दिनुभयो । उहाँले भक्तपुरबासी जनताको अपार माया र सहयोगकै कारण अक्सिजन प्लान्ट स्थापना निर्धारित समयमै बन्न सम्भव भएको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले अक्सिजन प्लान्टको खरिद प्रक्रिया र जडानको प्राविधिक पक्षमाथि प्रष्ट पार्नुभयो । उहाँले सो अक्सिजन प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको १०० देखि १२० प्रति घण्टा अक्सिजन उत्पादन हुने बताउनुभयो ।
जनस्वास्थ्य केन्द्रका इन्चार्ज डा. रत्नसुन्दर लासिवाले ख्वप अस्पताल कोभिड युनिट र जनस्वास्थ्य केन्द्रका कोभिड संक्रमित बिरामीहरुको अवस्था र अस्पतालबाट बिरामीहरुको सेवासम्बन्धी भइरहेका गतिविधिहरुबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले गर्नुभएको थियो ।