विद्यालयस्तरमा नेपालभाषा विषय अनिवार्य अध्यापन गराउन माग
असार १, २०७८, मङ्गलबार | विहान ०३:०५ बजे | 35
भक्तपुर । विद्यालयस्तरमा स्थानीय मातृभाषा (नेपालभाषा) को विषय अनिवार्य अध्यापन गराउनुपर्ने मागसहित नगर क्षेत्रका भाषाप्रेमी तथा शिक्षासेवीहरुले मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपालभाषा संरक्षण अभियानका संयोजक कृष्णकाजी मानन्धरको नेतृत्वमा पुगेको टोलीले पत्र बुझाएका हुन् । टोलीमा सदस्यहरु नविनप्रकाश श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, सुरेन्द्रकिलंनः श्रेष्ठ, ओमकृष्ण श्रेष्ठ, जीवनपति श्रेष्ठलगायतका उपस्थित रहेका थिए । विगत दुई वर्षदेखि विभिन्न निकायमा पुगेर ध्यानाकर्षण गराए पनि माग सुनुवाइ नभएपछि शिक्षा समितिका पदेन अध्यक्ष तथा नगर प्रमुख श्रेष्ठलाई लिखित ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षणपत्र बुझ्दै मेयर श्रेष्ठले यसबारे आगामी असार ७ गतेदेखि सुरु हुने मध्यपुर थिमिको नगर परिषद्को बैठकमा प्रस्तावको रुपमा पेश गर्ने प्रतिबद्धता जनाए । अहिलेको लागि नीति तथा कार्यक्रममा उल्लेख गरेर बजेट विनियोजन गराउने बचन पनि उनले दिए । उनले अहिलेको अवस्थामा आधार नबनिसकेको भए पनि निकट भविष्यमा आवश्यक कार्यदल बनाएर स्थानीय मातृभाषा (राष्ट्र भाषा)लाई कार्यान्वयन गराउने जनाए । उनले पाठ्यक्रम घोषणा मात्र गरेर नपुग्ने बरु त्यसको लागि आवश्यक तयारी गरेर अगाडि बढ्ने जनाए । नगरभित्रका संस्थागत र सामुदायिक विद्यालयको लागि दु्ई वर्ष अघि नै आधारभूत तहको स्थानिय पाठ्यक्रम बनाएको भए पनि पूर्ण रुपमा कार्यान्वयन गराउनमा कठिन भइरहेको भन्दै उनले विद्यार्थी कम भएका विद्यालयहरुलाई गाभ्ने, शिक्षक नियुपक्तलगायतका योजना समेत कार्यान्वयनमा समस्या भएको बताए । तैपनि शैक्षिक योजना बनाएर अनिवार्य नेपालभाषा अध्यापन गराउनको लागि पहल गर्ने उनले सुनाए ।