लेबनान मिशनमा नेपाली सेनालाई वातावरणीय सुरक्षा पुरस्कार


जेठ ३१, २०७८, सोमबार | विहान ११:२५ बजे | 45


लेबनान मिशनमा नेपाली सेनालाई वातावरणीय सुरक्षा पुरस्कार

नेपाली सेनाको शान्ति सैनिक मिशनमा सहभागिताको ऐतिहासिक विरासत बोकेको युनिफिल मिशन, लेबनानमा हाल तैनाथ नेपाली सेनाको गणले यस बर्षको बातावरणीय सुरक्षा पुरस्कार जित्न सफल भएको छ । युनिफिल मिशन प्रमुख तथा फोर्स कमाण्डर उपरथी स्टेफेन डेल कोलले युनिफिल हेडक्वार्टर, नाकुरामा आयोजित एक विशेष समारोहमा उक्त्त गणका गणपतिलाई पुरस्कार हस्तान्तरण गर्नुभयो । उक्त्त प्रतिस्पर्धामा फ्रान्स, ईटाली, स्पेन, आयरल्याण्ड, भारत, मलेसिया, दक्षिण कोरिया, ईण्डोनेसिया र घाना लगायत राष्ट्रका १२ वटा गण तथा बाहिनीहरु सहभागी थिए । त्यसमध्ये उत्कृष्ट तीन छनौट गरी युनिफिल हेडक्वार्टरमा गठित समितिले गरेको भोटिङ्गको आधारमा भारतीय सेनालाई पाँच अंकले पछि पार्दै नेपाली सेना सर्वोत्कृष्ट घोषित भएको हो । यस पुरस्कार युनिफिल मिशन ईलाकाभित्र वातावरणीय तथा पर्यावरणीय क्षेत्रमा असाधारण योगदान दिने व्यक्ति तथा सैनिक व्यारेकहरुलाई वार्षिक रुपमा प्रदान गर्दै आईरहेको छ ।
दक्षिणी लेबनानको अत्यन्त संवेदनशील ईलाकामा तैनाथ रही युनिफिल मिशनको म्याण्डेट अनुसार निर्दिष्ट अपरेशनल जिम्मेवारी उत्कृष्ट ढंगले वहन गर्दै आईरहेको उक्त्त गणले आफ्नो व्यारेक हाताभित्र र स्थानीय समुदायलाई समेत लक्षित गरी सृजनशिल, यथार्थपरक र मितव्ययी ढङ्गबाट वातावरणमैत्री कार्य गरी पर्यावरणीय सुरक्षामा दिएको अतुलनीय योगदानको मुल्याकंनको आधारमा उक्त पुरस्कार प्रदान गरिएको थियो । निरीक्षण टिमले पहिचान गरेका वातावरणमैत्री कार्यहरुमा खेर गईरहेको पानीको पुनः प्रयोग, वर्षादको पानीको समुचित उपयोग, प्लाष्टिक तथा कागजजन्य वस्तुहरुको पुन प्रयोग, व्यारेक हाताभित्र तथा स्थानीय समुदायमा वृक्षारोपण, सडेगलेको खाध्यपदार्थको कम्पोष्ट मल,थोपा सिंचाई, प्लाष्टिक वोतलहरुको प्रयोग गरी हरित गृह नर्सरी, खेर गएका सामाग्रीहरुको प्रयोग गरी फूलदानी बनाउने जस्ता कार्यहरुप्रमुख प्रोजेक्टको रुपमा गरिएका थिए ।
हाल लेबनानमा श्री बर्द बहादुर गण तैनाथ रहेको छ,जुन गण नेपाली सेनाको स्थापनाकालमा खडा भएको पाँच गणहरुमध्येको तेस्रो गण हो । सन १९७८ मा पहिलो पटक पूर्व(प्रधानसेनापति महारथी धर्मपाल वरसिंह थापा ९अ।प्रा।० को नेतृत्वमा लेबनानमा शान्ति स्थापनार्थ तैनाथ भएको यस गणले हाल चौथो पटक लेबनानमा सहभागी हुदै अन्य ४४ वटा युरोपेली, अफ्रिकी तथा एसियाली राष्ट्रका सैनिकहरु माझ एक पेशेवर शान्ति सैनिकको छवि बनाउन सफल भएको छ ।

Comments