मेलम्चीको पानी आउन बन्द हुने


जेठ ३१, २०७८, सोमबार | विहान ०३:५७ बजे | 25


मेलम्चीको पानी आउन बन्द हुने

काठमाडौं । मेलम्चीको पानी आउन बन्द हुने भएपछि खानेपानी वितरणको तालिका फेरिएको छ । काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्दै आएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले असार १ गतेदेखि लागु हुनेगरी तालिका परिवर्तन गरेको हो । नयाँ तालिका अनुसार काठमाडौं उपत्यकामा वितरण केन्द्र अनुसार २ दिनदेखि १२ दिन बिराएर पानी आउनेछ ।

केयूकेएलका अनुसार मंगलबारदेखि सैंबु वितरण केन्द्रबाट वितरण हुँदै आएको स्थानमा १२ दिन बिराएर मात्रै पानी आउँछ । यसअन्तर्गत ललितपुर महानगरपालिकाका सबै क्षेत्र पर्छन् ।

त्यस्तै, बालाजु वितरण केन्द्रबाट वितरण हुँदै आएको पानी अब ९ दिनको एक दिन मात्रै आउँछ । यस केन्द्रबाट एराहिटी, बनस्थली, स्वयम्भु, नयाँबजार, बाफल, ताहाचल, सोह्रखुट्टे, पकनाजोल लगायतका स्थानमा पानी वितरण हुँदै आएको छ ।

अब काठमाडौंको महाँकालचौर, मीनभवन, अनामनगर, ठिमी बोडे वितरण केन्द्रबाट वितरण हुँदै आएको पानी अब साताको एक दिन मात्रै आउँछ । महाँकालचौर केन्द्र अन्तर्गत पुरानो बानेश्वर, सिनामंगल, मैतिदेवी, कालोपुल, सिफल, चावहिल, विशालनगर, मित्रपार्क, विशालनगर, हाँडीगाउँ, मालिगाउँ लगायत स्थानहरु पर्छन् ।

त्यस्तै, मीनभवन केन्द्र अन्तर्गत बानेश्वर, बुद्धनगर, थापागाउँ, कुरियागाउँ लगायत क्षेत्र पर्छन् । अनामनगर वितरण केन्द्र अन्तर्गत अनामनगर, न्यूरोड मरु, लगन क्षेत्र पर्छन् भने बोडे बितरण केन्द्र अन्तर्गत भक्तपुर र ठिमी क्षेत्र पर्छन् ।

उता, बँसबारी पानीपोखरी वितरण केन्द्रबाट ५ दिनको एक दिन पानी आउने तालिका छ । महाराजगञ्ज, बसुन्धरा, बालुवाटार, पानीपोखरी, रानीबारी, लाजिम्पाट, गैरीधारा क्षेत्र यी केन्द्र अन्तर्गत पर्छन् । त्यस्तै, भक्तपुर वितरण केन्द्रबाट ४ दिन बिराएर पानी आउँछ । सल्लाघारी, सूर्यविनायक लगायत क्षेत्र यसअन्तर्गत पर्छन् ।


कीर्तिपुर क्षेत्रमा भने सबैभन्दा छिटो पानी आउने ‍तालिका छ । यो क्षेत्रमा अब २ दिन बिराएर पानी आउँछ । यसअन्तर्गत भाजाङ्गगाल, पांगा, चिलन्चो, उमामहेश्वर, त्याङ्ला लगायतका स्थानहरु पर्छन् ।  

चैत १५ गतेदेखि वितरण सुरु गरिएको मेलम्चीको पानी हाल दैनिक १७ करोड लिटर आउने गरेको थियो । सुरुङ परीक्षणका लागि भन्दै पानीको वितरण बन्द गर्न लागिएको केयूकेएलले जनाएको छ । अब करिब २ महिनापछि मात्रै मेलम्चीको पानी पुनः वितरण गरिनेछ ।

Comments