भगिनी सहर शान्नानबाट ख्वप अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग
जेठ ३०, २०७८, आइतबार | विहान ०९:५१ बजे | 30
मित्र राष्ट्र चीनबाट भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान सहरबाट प्राप्त सहयोग उपकरणहरूमा भेन्टिलेटर १ सेट, अक्सिजन कन्सन्ट्रेटर ३२ सेट, अक्सिजन सिलिन्डर (४० लिटर) १०० वटा र आईसीयु बेड ५० वटा रहेको छ ।
तातोपानी नाकामार्फत पठाइएको उक्त सामाग्रीहरू हाल भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा राखिएको छ । उक्त सहयोग चिनियाँ युयान ५ लाख ९९ हजार ४ सय अर्थात् नेपाली रुपैयाँ १ करोड ९ लाख २१ हजार ६८ रुपैयाँ रहेको छ ।
एउटा असल मित्रको उदाहरण प्रस्तुत गर्दै भगिनी शहर शान्नानले तत्कालै आवश्यक स्वास्थ्य सामाग्री सहयोग गर्न तत्पर रहेको भक्तपुर नपालाई पचात्रार गरेको थियो ।
चीनको शान्नान सहरबाट भक्तपुर नपालाई प्राप्त उक्त सहयोगबारे प्रतिक्रिया दिनुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा संकट परेको बेला छिमेकी मित्र देशको तर्फबाट भएको सहयोगको लागि सान्नान नपाका मेयर, विदेश विभागका कर्मचारीहरूमा नगरबासी र नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुहुँदै दुई नगरबीचको सहयोग आदानप्रदानले आपसमा मित्रता र सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नपाले हाल ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा कोभिड—१९ का बिरामीको लागि ख्वप अस्पतालअन्तर्गत २५ शैय्याको एचडीयुसहित ७५ शैय्याको कोभिड युनिट सञ्चालन गर्दै आइरहेको अवगत गराउनुहुँदै उहाँले जनतासँग सहयोग संकलनबाट उठेको रकमबाट ख्वप अस्पतालमा स्थापना गर्ने अक्सिजन प्लान्टको आवश्यक सामाग्रीहरू चीनको छेन्दुबाट ल्याइसकेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, अक्सिजन प्लान्टबाट परीक्षणको रुपमा अक्सिजन उत्पादन भइरहेको छ, अबको केही दिनबाटै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुनेछ ।
साथै उहाँले नेपालमा कोभिड नियन्त्रण तथा रोकथामको लागि मित्र राष्ट्र चीनले केही दिन अगाडि नेपाल मजदुर किसान पार्टीको तर्फबाट पठाएको १५ हजार थान मेडिकल मास्क र ५ थान हाइड्रोजन अक्सिजन जेनेरेटर ख्वप अस्पताललाई प्राप्त भएको बताउनुभयो । चीन सरकारबाट प्राप्त उक्त स्वास्थ्य उपकरणहरूबाट ख्वप अस्पतालका कोभिड बिरामीका साथै अन्य बिरामीहरूको उपचारमा समेत टेवा पुग्ने उहाँले बताउनुभयो ।