बादल पत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री
जेठ २७, २०७८, बिहीबार | विहान १०:५६ बजे | 15
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। ओलीले ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
प्रधानमन्त्री ओलीको सिफारिसमा गत वैशाख ३१ गते गठित मन्त्रिपरिषदमा नेपालको संविधानबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
मन्त्रिपरिषद्मा खगराज अधिकारीलाई गृह, जनता समाजवादी (जसपा) का राजकिशोर यादवलाई उद्योग,वाणिज्य तथा आपूर्ति, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ की श्रीमती नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि, माओवादीबाट एमाले प्रवेश गरेकी ज्वालाकुमारी साहलाई कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै, नारदमुनि रानालाई वन तथा वातावरण, माधव नेपाल समूहका नेता गणेशकुमार पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ। यस्तै, आशाकुमारी विकलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको छ।