काभ्रेको मादनकुँडारीमा १० बेडको आइसोलेसन सञ्चालनमा
जेठ २३, २०७८, आइतबार | विहान ०२:२५ बजे | 30
काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा वडा नं. ७, मादनकुँडारीमा १० बेडको आइसोलेसन कक्ष निर्माण भई सञ्चालनमा आएको छ । मङ्गलवारदेखि उक्त अक्सिजन सहितको आइसोलेसन कक्ष सञ्चालनमा आएको वडा सदस्य निमा लामाले जानकारी दिएका हुन् ।
सो वडामा यस अघि ५२ जनामा कोरोना परीक्षण गर्दा २७ जनामा कोरोना पुष्टि भएपछि गौर सरकारी संस्था महासङ्घका केद्रिय अध्यक्ष जितराम लामा र समाजसेवी तथा अधिवक्ता रामबहादुर लामाको अगुवाइमा स्वास्थ्य सामग्री लिएर पुगेका थिए ।
दोस्रो चरणको सहयोगमा अध्यक्ष लामा र अधिवक्ता लामाले आइसोलेसन कक्ष निर्माणका लागि सामग्रीहरू लिएर गएपछि आइसोलेसन कक्ष निर्माण गरिएको वडा सदस्य लामाले बताए । स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको सहयोगमा उक्त सामग्रीहरू प्राप्त भएको उनले बताए ।
आइसोलेसन कक्ष तयार भएपनि आवश्यक जनशक्तिका अभावमा आइसोलेसनमा विरामी राखेर उपचार गर्न नसक्ने अवस्थामा रहेको वडा सदस्य लामाले बताए । ‘आइसोलेसन कक्ष त तयार भयो नि तर के गर्नु ? आवश्यक जनशक्ति छैन ।’ उनले भने, ‘सबै कुराको तयारी भयो तर जनशक्ति पनि भए राम्रो हुनेथियो ।’
मङ्गलवार १० थान बेड सेट, १० थान अक्सिजन सिलिन्डर सेट, पल्स अक्सिमिटर ५ थान, मास्क २७५० थान, पिपिई ३ थान, गाउन ३ थान, ग्वोव्स १ बक्स, सेनिटाईजर २ बोतल तथा अन्य सामग्री वडा कार्यालयमा हस्तान्तरण गरेको थियो । उक्त सामग्रीहरू वडा अध्यक्ष बिरबल तामाङलाई हस्तान्तरण गरिएको थियो ।
सामग्री प्राप्त हुनेवित्तिकै आइसोलेसन कक्ष निर्माण गरिएको वडा सदस्य लामाले जानकारी दिए ।
यसैबिच गाउँमा कोरोना सङ्क्रमण देखेपछि यस अघि ५२ जनाको परीक्षण गर्दा २७ जनामा कोरोना पुष्टि भएको थियो । वडा सदस्य लामाका अनुसार उनीहरूको अवस्था सामान्य रहेको र निको हुने क्रममा रहेका छन् ।
होम आइसोलेसनमा रहेका बिरामीको स्वास्थ्यकर्मीहरुले नियमित स्वास्थ्य जाँच गर्दै आएको बताउँदै उनले जनप्रतिनिधिहरू समेत बेलाबेलामा बिरामी भेट्न पुगेको लामाले बताए ।
सो वडामा पहिलो चरण र दोस्रो चरणमा गरेर ५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । पहिलो चरणमा २ जना र दोस्रो चरणमा ३ जनाको मृत्यु भएको हो ।