महानगरको सहयोगमा आजदेखि कोविड अस्पताल सुरु


जेठ १२, २०७८, बुधबार | विहान ०६:२२ बजे | 0


काठमाडौँ । काठमाडौँ महानगरको सहयोगमा आजदेखि छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोविड अस्पताल सञ्चालनमा आएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा आज अस्पताल सञ्चालन शुभारम्भ गर्नुभएको हो । यसका लागि महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार ७ सय ५ र ३५ र मासिक सञ्चालन खर्चवापत् करीब ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँ व्यहार्नेछ । यसका लागि गएको बैशाख ३१ गते सम्झौता भएको थियो । यो सम्झौता महानगरले अर्को निर्णय नगरेसम्मका लागि हो ।

महानगरलाई भगिनी सहर ल्हासाले उपलब्ध गराएका भेन्टिलेटरमध्ये २ वटा छत्रपाटी चिकित्सालयलाई दिएको छ । यसैगरी अस्पतालले खरिद गर्ने थप ३ वटा भेन्टिलेटरको रकम महानगरले भुक्तानी गरिदिनेछ ।

अस्पतालको क्षमता बढाएर कोविड संक्रमणमा परेका विरामीलाई सहज उपचारको वातावरण मिलाउन महानगरले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य गरेको बताउँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, अहिले जनताको जीवन रक्षाका आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकता राखेको बताउनुभयो । अस्पतालको क्षमता बढाउन र संक्रमणको दर घटाउन दुवै कामलाई सँगै लिएर गए मात्र कोविडलाई नियन्त्रणमा लिन सकिने भएकोले सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन, प्रमुख शाक्यको भनाइ थियो ।

कोविड नियन्त्रण गर्न बैज्ञानिक आधार खोजी भइरहेको छ । जुनदिनसम्म यसको नियन्त्रणका लागि विज्ञानमा आधारित समाधान आउँदेन, त्यतिञ्जेलसम्म अहिलेसम्म प्राप्त भएका उपलब्धी र सामुहिक प्रयासको प्रयोग गर्नुपर्छ । शुभारम्भपछि राज्यमन्त्री मानन्धरले, महामारीले अस्पतालहरुको अवस्था बुझ्न मद्दत गरेको बताउनुभयो । महानगरले स्वास्थ्य क्षेत्रमा बढाउँदै लगेको लगानीको प्रशंशा गर्दै उहाँले, स्वास्थ्य सम्बन्धि कार्यक्रम व्यक्ति वा समूहकोभन्दा माथि हुने भएकोले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

यस अस्पतालको पूर्वाधार सुधारका लागि हामीले करीब ३० लाख रुपैयाँ खर्च गरेर लिफ्ट जडान गरिदिएका छौँ । नयाँ भवन निर्माण गर्न करीब ५ करोड रुपैयाँ विनियोजन गरेका छौँ । यसको लाभ जनतामा प्रत्याभूत हुने महानगरको अपेक्षा छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो, पूर्वाधार विकासमा गरिने लगानी रोकेर महानगरले स्वास्थ्य क्षेत्रको सुधारका लागि बढाएको छ ।

महानगरबाट प्राप्त सहयोगबाट धेरैभन्दा धेरै जनताको सेवा गर्नेछौँ । हामीले गरेको सेवा सम्बन्धि विवरण हरेक दिन महानगरमा पठाउनेछौँ । अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भन्नुभयो, हामीलाई अक्सिजन व्यवस्थापनमा भने अझै डर लागिरहेको छ । यसको जोहो गर्न प्लान्ट स्थापना गर्ने योजनामा छौँ । अस्पतालका निर्देशक डा. प्रेमलकुमार जोशीकाअनुसार अस्पतालमा ७ वटा आइसीयू, ४ वटा भेन्टिलेटर ६ वटा एचडीयूसहित ३५ वेडको कोविड अस्पताल सञ्चालन भएको हो ।

बैशाख २८ गते महानगरले सरकारी र सामुदायिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर बढ्दो कोविडको संक्रमणविरुद्ध लड्न कस्तो सहयोग आवश्यक पर्छ भनेर सोधेको थियो । यसपछि अस्पतालहरुले आफ्नो क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनका लागि सहयोग सम्बन्धि माग गरेका थिए । अस्पतालहरुको मागअनुसार विभिन्न मितिमा १२ वटा अस्पतालहरुसँग सम्झौता भएका छन् ।


यसरी गरिएका सम्झौताबमोजिम आजबाट कोविड अस्पताल सञ्चालनमा आएको हो । यससँगै ८८ अक्सिजनसहित २०० वेडको राधास्वामी कोविड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पतालमा २५ वेडको एचडीयू र २५ वेडको गरी ५० वेडको आइसोलेसन सञ्चालनमा आइसकेका छन् । यस्तै विभिन्न अस्पतालहरुमा ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप), १० थान वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप) सहित उपकरण जडान हुँदैछन् । यस्तै अस्पतालको भौतिक सुधारका क्षेत्रमा पनि काम भइरहेको छ ।
महानगरलाई भगिनी सहर ल्हासाबाट प्राप्त भएका ४ थान भेन्टिलेटरमध्ये २ वटा छत्रपाटी चिकित्सालयलाई र २ थान शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई वितरण गरिसकेको छ ।

Comments