नगरकोटमा हिमनदी, नदी प्रणाली र जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय सम्मेलन सुरु


साउन १, २०८३, शुक्रबार | विहान ११:३५ बजे | 145


नगरकोटमा हिमनदी, नदी प्रणाली र जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय सम्मेलन सुरु

भक्तपुर, साउन १ गते । जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम, नदी प्रणालीमा पर्ने प्रभाव तथा युवाको भूमिका विषयमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन आज शुक्रबार भक्तपुरको नगरकोटस्थित होटल मिस्टिक माउन्टेनमा सुरु भएको छ । सम्मेलनको आयोजना प्रो पब्लिक÷फ्रेन्ड्स अफ द अर्थ नेपालले गरेको हो ।
कार्यक्रम बिहान ७ बजेदेखि काठमाडौंबाट सहभागीहरू नागरकोट प्रस्थान गर्ने तालिकासहित सुरु भएको हो । बिहान ९ बजेदेखि दर्ता र नास्तापछि उदघाटन सत्र सञ्चालन भएको छ । उदघाटन सत्रमा कार्यक्रमको उद्देश्यबारे जानकारी दिइएको छ । कार्यक्रमको प्रमुख अतिथिका रूपमा वरिष्ठ वातावरणविद् तथा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा. सूर्य ढुंगेलले उदघाटन मन्तव्य दिएका छन् ।
सम्मेलनलाई तीन मुख्य सत्रमा विभाजन गरिएको छ । पहिलो सत्रमा हिमनदीको पछि हट्ने क्रम, हिमताल विस्फोटको जोखिम तथा पर्वतीय क्षेत्रमा देखिएका प्राकृतिक विपद्का विषयमा विज्ञहरूको प्रस्तुति र प्यानल छलफल हुनेछ । 
दोस्रो सत्रमा हिमाली क्षेत्रमा भइरहेको क्रायोस्फियर (हिममण्डल) परिवर्तनले नदी प्रणालीमा पारेको प्रभाव, जलस्रोत व्यवस्थापन र तल्लो तटीय क्षेत्रमा देखिएका असरबारे विशेषज्ञहरूबीच छलफल हुनेछ । त्यसपछि सहभागीहरूसँग अन्तरक्रिया तथा प्रश्नोत्तर कार्यक्रम राखिएको छ ।
दिउँसोको तेस्रो सत्र विशेष रूपमा युवामाथि केन्द्रित हुनेछ । यसमा जलवायु परिवर्तनका असर, युवा पुस्ताको दृष्टिकोण, उनीहरूको सहभागिता तथा समाधानका सम्भावनाबारे युवा वक्ताहरूले आफ्ना अनुभव र धारणा प्रस्तुत गर्नेछन् । अन्त्यमा कार्यक्रमका मुख्य निष्कर्ष सार्वजनिक गर्दै धन्यवाद ज्ञापन, सामूहिक तस्बिर तथा काठमाडौं फर्किने कार्यक्रम तय गरिएको छ ।
आयोजकका अनुसार सम्मेलनको उद्देश्य हिमनदी पग्लिने क्रम, नदी प्रणालीमा देखिएका परिवर्तन तथा जलवायु परिवर्तनबाट उत्पन्न जोखिमबारे वैज्ञानिक जानकारी आदानप्रदान गर्नुका साथै नीति निर्माण, वातावरण संरक्षण र युवा सहभागितालाई थप प्रभावकारी बनाउनु हो । नेपालसहित एशिया–प्रशान्त क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, वातावरणकर्मी तथा युवा प्रतिनिधिहरूको सहभागिता छ ।
 

Comments