परिषद्मा बोल्ने अवसर नपाएको भन्दै सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक


असार ३२, २०८३, बिहीबार | राति ०९:०६ बजे | 460


परिषद्मा बोल्ने अवसर नपाएको भन्दै सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक

परिषद्मा बोल्न नपाएको विषय सार्वजनिक गर्दै वडा अध्यक्ष धिमालले राखे ११ बुँदे धारणा

भक्तपुर — चाँगुनारायण नगरपालिकाका वडा अध्यक्ष श्यामसुन्दर धिमालले नगर परिषद्मा आफूले राख्न नपाएको धारणा सार्वजनिक गर्दै नगरको विकास, सुशासन र उत्तरदायित्वका विषयमा ११ बुँदे सुझाव अघि सारेका छन्। परिषद्मा बोल्ने अवसर नपाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

धिमालले यसपटकको नगर परिषद् अघिल्ला वर्षहरूको तुलनामा सकारात्मक वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै प्रमुख र उपप्रमुखको नेतृत्वप्रति आभार व्यक्त गरेका छन्। उनले सबै वडा अध्यक्षहरू परिषद्को समग्र प्रक्रियाबाट सन्तुष्ट देखिएको दाबी पनि गरेका छन्।

उनले बजेट कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन सबै वडा अध्यक्षहरूले सामूहिक रूपमा जिम्मेवारी लिनुपर्ने आवश्यकता औँल्याएका छन्। पाँच वर्षको अवधिमा करिब १२ अर्ब रुपैयाँ बराबरका योजना अघि बढाइए पनि कार्यपालिका बैठकमा पर्याप्त छलफल नगरी करिब ३ अर्ब रुपैयाँ खर्च भएको देखिएको उल्लेख गर्दै नगरकोट सडक निर्माणजस्ता योजनाको भने प्रशंसा गरेका छन्।

धिमालले चालिङ–ताथली, ताथली–नाला, सुडाल तथा इन्द्रखोल्सा सडक निर्माणका लागि छुट्याइएको करिब ५० करोड रुपैयाँ प्रभावकारी रूपमा खर्च गरी ती आयोजना यही कार्यकालमा सम्पन्न गर्न सुझाव दिएका छन्।

उनले यति ठूलो बजेट खर्च हुँदासमेत एउटा ठूला खानेपानी आयोजना सम्पन्न गर्न नसकिएको, शिक्षा र स्वास्थ्य क्षेत्रलाई नागरिकमैत्री तथा गुणस्तरीय बनाउन नसकिएको भन्दै आगामी योजनामा यी क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

त्यस्तै, करोडौँ रुपैयाँ राजस्व संकलन हुने चाँगुनारायण मन्दिर क्षेत्र अझै व्यवस्थित हुन नसकेको, मनोहरा नदीको बाढी समस्या समाधानमा पर्याप्त प्रगति नभएको तथा प्रविधिमैत्री सुशासनका लागि केन्द्र सरकारजस्तै डिजिटल प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन्।

धिमालले युवालाई लक्षित कृत्रिम बौद्धिकता (एआई), प्रविधि तथा अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने, नगरपालिकाभित्र बढ्दै गएको आन्तरिक स्वेच्छाचारिता नियन्त्रण गर्दै सुशासन कायम गर्नुपर्ने तथा नगर प्रमुखदेखि वडा अध्यक्ष र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न सरकारसमक्ष सार्वजनिक महत्वको प्रस्ताव पारित गर्नुपर्ने माग पनि गरेका छन्।

उनका अनुसार परिषद्मा आफू लगायत चार जना वडा अध्यक्षले बोल्नका लागि नाम टिपाए पनि बोल्ने अवसर नदिइएको थियो। त्यसपछि नगर प्रमुखले परिषद् समापन गरी बाहिरिएपछि आफूले आक्रोशमा टेबलमा रहेको पानीको बोतल फालेको बताएका छन्।

घटनापछि आफ्नो रक्तचाप (प्रेसर) बढेको र चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरी आराम गर्न सुझाव दिएको उनले उल्लेख गरेका छन्। आफूले बोल्न खोजेको भिडियो खिचिरहेका व्यक्तिको क्यामेरा खोसिएको आरोप पनि उनले लगाएका छन्।

यद्यपि नगर प्रमुख, उपप्रमुख, प्रशासन प्रमुख सुरज पौडेल तथा उपचारमा संलग्न चिकित्सकहरूलाई धन्यवाद दिँदै धिमालले अन्ततः चाँगुनारायण नगरपालिकाको समृद्धिका लागि सबै पक्षले सकारात्मक रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।

वडा अध्यक्ष धिमालले सार्वजनिक गरेको उक्त धारणा नगर परिषद्को प्रक्रिया, विकास प्राथमिकता र सुशासनसम्बन्धी विषयलाई लिएर स्थानीय तहमा थप बहसको विषय बनेको छ।

Comments