पर्सिदेखि डोलेश्वरमा साउने मेलाः एक करोड भेटी उठ्ने अ‍ेपक्षा 


असार ३१, २०८३, बुधबार | राति ०९:१३ बजे | 75


पर्सिदेखि डोलेश्वरमा साउने मेलाः एक करोड भेटी उठ्ने अ‍ेपक्षा 

भक्तपुर । भक्तपुरको केदारनाथको शिर डोलेश्वरमा भोलि साउन १ गतेदेखि साउनी मेला सुरु हुने भएको छ । केदारनाथको शिर डोलेश्वरका रूपमा परिचित जिल्लाको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा लाग्ने एक  महिने मेलाको तयारी पूरा भएको जनाइएको छ । 
बुधबार पत्रकार सम्मेलन गरी साउन १ गतेदेखि सुरु हुने ३८ दिने श्रावणी मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज वस्नेतले पत्रकार सम्मेलनमा मेला सञ्चालनका सबै तयारी पूरा भएको जानकारी दिएको हो ।
समितिका अध्यक्ष बस्नेतका अनुसार २०६६ साल भदौ ६ गते डोलेश्वर महादेवलाई केदारनाथको शिरका रूपमा घोषणा गरिएपछि यसको धार्मिक महत्त्व निरन्तर बढ्दै गएको छ । यस वर्ष पनि साउन १ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन हुने श्रावणी मेलामा स्वदेश तथा विदेशबाट उल्लेख्य संख्यामा भक्तजन आउने अपेक्षा गरिएको छ । भक्तजनको भीडलाई व्यवस्थित गर्न १४ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको जनाइएको छ ।
मेला अवधिभर दर्शनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन स्थानीय संघसंस्था, टोल सुधार समिति, महिला समूह तथा स्वयंसेवकसँग समन्वय गरी व्यवस्थापन गरिने समितिले जनाएको छ । मन्दिर परिसरमा सिसिटिभी जडान गरिएको छ भने शान्ति सुरक्षाका लागि जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती र डोलेश्वर प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । यातायात व्यवस्थापनमा सल्लाघारी ट्राफिक प्रहरीको सहयोग रहने पत्रकार सम्मेलनमा जनाइयो ।
भक्तजनको आकस्मिक स्वास्थ्य सेवाका लागि रणशेर गण, सूर्यविनायक नगर अस्पताल तथा अन्य स्वास्थ्य संस्थाको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिने जनाइएको छ । साथै, दर्शनार्थीलाई सहज सेवा उपलब्ध गराउन स्वयंसेवक परिचालन गरिने समितिले जनाएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार साउन १ गते बिहान ७ बजे पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट डोलेश्वर महादेवसम्म कलश यात्रा निकालिनेछ । सोही दिन बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले श्रावणी मेलाको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
साउन १ गतेदेखि भदौ ६ गतेसम्म विभिन्न धर्मगुरुबाट धार्मिक प्रवचन, कथा वाचन तथा कलाकारहरूद्वारा भजन–कीर्तनका कार्यक्रम सञ्चालन गरिनेछन् । भदौ ६ गते डोलेश्वर महादेवको वार्षिक उत्सवका अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यमा श्रावणी मेलाको समापन गरिने कार्यक्रम तय गरिएको छ । मेलाबाट एक करोड भन्दा वढी भेटी उठ्ने मन्दिर रहेको सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पुष्पराज वस्नेतले बताए ।
 

फाेटाेमा हेर्नुहाेस्...

पर्सिदेखि डोलेश्वरमा साउने मेलाः एक करोड भेटी उठ्ने अ‍ेपक्षा 

Comments