ख्वप इन्जिनियरिङ कलेजमा ४८ लाख ३२ हजार ८१७ बराबरको छात्रवृत्ति तथा फ्रीशिप वितरण
असार ३२, २०८३, बिहीबार | दिउँसो ०१:४७ बजे | 100
ख्वप इन्जिनियरिङ कलेजमा सेमेष्टर टपर र गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर तथा गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रम आज सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले विद्यार्थीलाई सक्षम, इमानदार र जिम्मेवार इन्जिनियर बनेर देश र जनताको सेवामा समर्पित हुन आग्रह गर्नुभयो।
उहाँले ख्वप माध्यमिक विद्यालय स्थापना भएपछि त्यसैको निरन्तरतास्वरूप ख्वप इन्जिनियरिङ कलेज स्थापना भएको स्मरण गर्दै यस्ता शैक्षिक संस्थाहरूको स्थापनाले भक्तपुरलाई शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुगेको बताउनुभयो।
एक घर, एक स्नातक भन्ने अवधारणाले भक्तपुरको शैक्षिक तथा सामाजिक विकासलाई थप उचाइमा पुर्याएको उल्लेख गर्दै उहाँले ख्वप इन्जिनियरिङ कलेजबाट हरेक वर्ष ४०० भन्दा बढी इन्जिनियर उत्पादन भइरहेको जानकारी दिनुभयो।
नगर प्रमुख प्रजापतिले शिक्षा नै समाज रूपान्तरणको सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै भक्तपुर त्यसको सफल उदाहरण बनेको बताउनुभयो। आर्थिक अभावकै कारण कुनै पनि विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट वञ्चित नहोस् भन्ने उद्देश्यले नगरपालिकाले विभिन्न प्रकारका छात्रवृत्ति वितरण गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो।
उहाँले चालु आर्थिक वर्षदेखि भक्तपुर नगरपालिकाले उच्च शिक्षा अध्ययनका लागि अधिकतम ७ लाख रुपैयाँसम्मको शैक्षिक ऋण उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिँदै यसको सदुपयोग गरी आफ्नो भविष्य उज्ज्वल बनाउन विद्यार्थीलाई आग्रह गर्नुभयो।
नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले ख्वप इन्जिनियरिङ कलेज मात्र नभई माध्यमिक तहको शिक्षा पनि सञ्चालन गर्दै आइरहेको बताउनुभयो। गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम र दक्ष शिक्षक आवश्यक पर्ने भएकाले नगरपालिकाले शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि नियमित रूपमा विभिन्न तालिम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो।
उहाँले शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकलाई योग्य, दक्ष र अनुसन्धानमुखी बनाउनु आवश्यक रहेको उल्लेख गर्दै शिक्षामा गरिएको लगानीले समग्र समाजको विकास र रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले ख्वप इन्जिनियरिङ कलेज भक्तपुर नगरपालिकाद्वारा सञ्चालन भइरहेको शैक्षिक संस्था भएकाले यसको उद्देश्य र योगदानबारे विद्यार्थीले बुझ्न आवश्यक रहेको बताउनुभयो। उहाँले संघीय सरकारले आफ्नै लगानीमा नयाँ कलेजहरु स्थापना गर्न नसकेको अवस्थामा अधिकांश नयाँ कार्यक्रम निजी क्षेत्रबाट उच्च शुल्कमा सञ्चालन भइरहेको उल्लेख गर्दै ख्वप इन्जिनियरिङ कलेजलाई भक्तपुर नगरपालिकाले आर्थिक तथा संस्थागत सहयोग गर्दै आएको बताउनुभयो। उहाँले नगरपालिकाको सहयोगकै कारण विद्यार्थीले गुणस्तरीय प्राविधिक शिक्षा तुलनात्मक रूपमा सहज शुल्कमा अध्ययन गर्न पाएको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा कलेजका प्राचार्य सुजन माकले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बधाई दिँदै यस्ता कार्यक्रमले विद्यार्थीलाई थप मेहनत गर्न प्रेरणा र मार्गदर्शन प्रदान गर्ने बताउनुभयो। उहाँले कलेजले प्रत्येक सेमेस्टरका टपर विद्यार्थीलाई पनि विशेष कार्यक्रममार्फत छात्रवृत्ति प्रदान गर्ने नीति कलेजले अपनाएको जानकारी दिनुभयो।
प्राचार्य माकले ख्वप इन्जिनियरिङ कलेज स्थापना भएको २५ औँ वर्ष विशेष कार्यक्रम तथा प्रदर्शनी सहित कलेजको वार्षिकोत्सव कार्यक्रम गर्ने तयारी गरिरहेको उल्लेख गर्दै कलेजले विभिन्न ६ वटा विधा अन्तर्गत छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो। ती विधामा प्रवेश परीक्षाका उत्कृष्ट, आरक्षित कोटा, गरिब तथा जेहेन्दार विद्यार्थी, कक्षा १२ को नतिजाका आधारमा, सामुदायिक विद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थी तथा खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थी समावेश रहेको जानकारी दिनुभयो।
उपप्राचार्य डा. सुबेगमान बिजुक्छेले छात्रवृत्ति विद्यार्थीका लागि प्रोत्साहनको माध्यम भएको बताउँदै अनुशासित भएर अध्ययन पूरा गर्न र आफ्नो करियर विकासमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। उहाँले प्राप्त अवसरको सदुपयोग गर्दै सक्षम र जिम्मेवार इन्जिनियर बन्न विद्यार्थीलाई प्रेरित गर्नुभयो।
कलेजले यस वर्ष अनुशासित, गरिब तथा जेहेन्दार छात्रवृत्ति अन्तर्गत ८० जना विद्यार्थीलाई कुल रु. ३९ लाख ५६ हजार ४५२ वितरण गरेको छ। त्यसैगरी सेमेस्टर टपर छात्रवृत्ति अन्तर्गत १६० जना विद्यार्थीलाई कुल रु. ८ लाख ७६ हजार ३६५ प्रदान गरिएको छ।
यसरी दुवै शीर्षकअन्तर्गत कुल २४० जना विद्यार्थीलाई रु। ४८ लाख ३२ हजार ८१७ बराबरको छात्रवृत्ति तथा फ्रीशिप वितरण गरिएको कलेजले जनाएको छ।
