महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना


असार ३२, २०८३, बिहीबार | दिउँसो ०१:३० बजे | 405


महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना

भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण सहकारी संस्था लिमिटेड को संयुक्त आयोजनामा नेपाल घरेलु तथा साना उद्योग महासंघको हालै सम्पन्न २६औं राष्ट्रिय अधिवेशन र महिला उद्यमी समितिको २३औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ।कार्यक्रममा महासंघका नव-निर्वाचित केन्द्रीय पदाधिकारी, केन्द्रीय महिला उद्यमी समितिका पदाधिकारी तथा जिल्लाका सरोकारवालाहरूको सहभागिता रहेको थियो।

     सो अवसरमा नवनिर्वाचित महासंघकी अध्यक्ष शोभा गुरुङले कार्यक्रममा बधाई तथा शुभकामना ग्रहण गर्नुहुँदै भक्तपुर घरेलु संघ र भक्तपुर साकोसप्रति आभार व्यक्त गर्नुभयो। आफूलाई विश्वास गरेर अमूल्य मत दिई नेतृत्व सुम्पिएकोमा कृतज्ञता प्रकट गर्दै आफ्नो कार्यकाल मुलुकभरका लघु, घरेलु तथा साना उद्योगहरूको हक, हित, प्रवर्द्धन र उत्थानका लागि पूर्ण रूपमा समर्पित हुने बताउनु भयो साथै  यो उद्देश्य हासिल गर्न केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, सदस्यहरू र जिल्ला संघहरूको साथ र सहयोग अपरिहार्य छ।साथै अध्यक्ष गुरुङले भक्तपुर घरेलु तथा साना उद्योग संघको उत्कृष्ट व्यवस्थापन र गतिविधिको उच्च प्रशंसा गर्नुभयो। उहाँले भक्तपुर संघको कार्यशैलीबाट आफू प्रभावित भएको बताउँदै महासंघका अन्य जिल्ला शाखाहरूलाई पनि भक्तपुर जिल्ला संघको अध्ययन र अवलोकन भ्रमणको लागि गर्न अनुरोध गर्ने प्रतिबद्धता जनाउनुभयो।त्यसैगरी महासंघका निवर्तमान अध्यक्ष उमेशप्रसाद सिंहले स्थापनाकालदेखि नै महासंघले साना तथा घरेलु उद्यमीहरूको अधिकार र हितका लागि निरन्तर काम गर्दै आएको स्मरण गर्नुभयो। उहाँले अत्यन्तै सौहार्दपूर्ण वातावरणमा नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। साथै आगामी दिनहरूमा पनि महासंघलाई आवश्यक परेको खण्डमा जुनसुकै बेला पनि रचनात्मक सहयोग र सल्लाह दिईरहने बचन दिनुभयो।

      भक्तपुर घरेलु तथा साना उद्योग संघका संस्थापक एवं महासंघका निवर्तमान उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले इतिहास स्मरण गराउँदै जिल्लाको प्रतिनिधित्व गरेर केन्द्रमा पुग्ने तर केन्द्रमा पुगेपछि आफ्नो जग (जिल्ला) लाई बिर्सने र दायित्व पूरा नगर्ने प्रवृत्ति स्वीकार्य हुँदैन। विगतमा जिल्लाप्रति गैरजिम्मेवार बनेकै कारण केन्द्रीय प्रतिनिधिलाई जिल्ला संघले बर्खास्त गरेको इतिहास समेत छ ,त्यसैले केन्द्रमा जानेहरूले आफ्नो दायित्व भुल्नु हुँदैन भन्नुभयो ।श्रेष्ठले महासंघ विशुद्ध रूपमा उद्यमी व्यवसायीहरूको साझा र व्यावसायिक संस्था भएकोले यसमा राजनीतिक खिचातानी नगर्न सुझाव दिनुभयो। उहाँले थप्नुभयो, "संस्थालाई अगाडि बढाउने हो भने आपसी खुरापाती र खुट्टा तान्ने प्रवृत्ति सदाका लागि अन्त्य हुनुपर्छ। सबैले मिलेर नवनिर्वाचित अध्यक्षलाई काम गर्ने वातावरण बनाउनुपर्छ र सहयोग गर्नुपर्छ।"

     यसैगरी, भक्तपुर घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले भक्तपुर घरेलु तथा साना उद्योग संघको आफ्नै भवन निर्माण कार्यमा महासंघले पुर्‍याएको योगदानको चर्चा गर्नुभयो। साथै उहाँले जिल्ला संघबाट काम गर्ने सिलसिलामा भुलवश कुनै गल्ती भएमा महासंघले अभिभावकीय भूमिका निर्वाह गर्दै रचनात्मक सुझाव दिनुपर्ने विचार व्यक्त गर्नुभयो।

     भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा भएको सो बधाई तथा शुभकामना कार्यक्रममा डम्बरप्रसाद रेग्मी (वरिष्ठ उपाध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ) सत्यनारायण प्रजापति (उपाध्यक्ष, महासंघ) बिरेन्द्र जति (कोषाध्यक्ष, महासंघ) रीता अवाल (अध्यक्ष, केन्द्रीय महिला उद्यमी समिति) लक्ष्मण ग्वाछा (अध्यक्ष, भक्तपुर घरेलु साकोस) राजु श्रेष्ठ (सदस्य, भक्तपुर घरेलु साकोस) कमलश्वरी खर्बुजा (सभापति, महिला उद्यमी समिति) सृजना कक्षपति (सचिव, भक्तपुर घरेलु तथा साना उद्योग संघ)ले लघु, घरेलु तथा साना उद्योग एवं उद्यमीहरूको दिगो विकास र प्रवर्द्धनका लागि स्थानीय संघहरूले खेलिरहेको भूमिकाबारे चर्चा गर्नुभएको थियो। साथै वक्ताहरूले वर्तमान आर्थिक संकटका बीच साना उद्यमीहरूलाई जोगाउन र उनीहरूको क्षमता अभिवृद्धि गर्न वित्तीय पहुँच र बजार प्रवर्द्धनका कार्यक्रमहरूलाई एकीकृत रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

Comments