लोमश वाङ्मय प्रतिष्ठानको नियमित कार्यक्रममा सत्या अधिकारीको ‘ऐना’ माथि परिचर्चा सम्पन्न
असार २८, २०८३, आइतबार | राति ०९:१३ बजे | 50
जयराम बिडारी
असार २८
काठमाडौं हरेक महिनाको चौथो शनिबार नियमित साहित्यिक शृङ्खला सञ्चालन गर्दै आएको लोमश वाङ्मय प्रतिष्ठानको विशेष समारोह राजधानीमा सम्पन्न भएको छ। हिम रश्मी हाई स्कुलमा आयोजित सो समारोह प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ को अध्यक्षता तथा जापानका लागि पूर्व नेपाली राजदूत एवं वरिष्ठ साहित्यकार डा. विष्णुहरि नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। उक्त विशेष अवसरमा स्रष्टा सत्या अधिकारीको नवीनतम लघुकथा कृति ‘ऐना’ माथि गहन परिचर्चा गरिनुका साथै प्रतिष्ठानका सचिव नवीन पल्लवका दिवंगत पिता एवं समाजसेवी इन्द्रबहादुर सुवर्णकारको सामाजिक योगदानको स्मरण गर्दै श्रद्धासुमन व्यक्त गरियो। सोही अवसरमा प्रमुख अतिथिको बाहुलीबाट सचिव पल्लवलाई श्रद्धाञ्जलि पत्र समेत प्रदान गरिएको थियो। कार्यक्रममा विशिष्ट अतिथि तथा मुख्य परिचर्चाकारका रूपमा बोल्दै साहित्यकार एवं लघुकथा अध्येता डा. पुष्करराज भट्टले ‘ऐना’ कृतिभित्रका लघुकथाहरूले समाजमा व्याप्त विकृति र विसङ्गतिप्रति तिखो प्रहार गरेको टिप्पणी गरे। वि.सं. २००७ सालतिर पूर्णप्रकाश ब्राह्मणका कथाहरूबाट नेपाली लघुकथा विधाको सुरुवात भएको ऐतिहासिक सन्दर्भ उल्लेख गर्दै डा. भट्टले सत्या अधिकारीका सिर्जनाहरूले पुराना र नयाँ पुस्ताबीच वैचारिक सेतुको काम गरेको बताए। उनले कृतिकारले समाजका रैथाने उखान-टुक्का र लोकसाहित्यको सान्दर्भिक प्रयोग गर्दै मानवीय अङ्गहरूबीचको वार्तालाप जस्ता नवीन शैली भित्र्याएको चर्चा गरे। साथै, कथामा पशु हिंसाको विरोध, महिला अधिकारका सवाल, विद्रोही चेत र सकारात्मक सन्देश अत्यन्त सन्तुलित शब्द चयनका साथ प्रस्तुत भएको विश्लेषण गर्दै डा. भट्टले अधिकारीको समुज्वल लेखनयात्राको कामना गरे। प्रमुख अतिथि डा. विष्णुहरि नेपालले साहित्य मनोरञ्जनको माध्यम मात्र नभई समाजलाई सही दिशा दिने चेतनाको उज्यालो भएको धारणा राखे। असल साहित्यले मानिसलाई आत्ममूल्याङ्कन र सकारात्मक परिवर्तनका लागि प्रेरित गर्ने बताउँदै उनले भाषा, साहित्य र संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमको दीर्घकालीन महत्त्व रहने विश्वास व्यक्त गरे। सो क्रममा डा. नेपालले आफूले अस्कल क्याम्पसमा पढ्दा हाते बुलेटिन प्रकाशन गरेको बाल्यकालीन स्मृति स्मरण गर्दै साहित्यलाई समाज रूपान्तरणको अभिन्न अङ्गका रूपमा चित्रण गरे। कृतिकार सत्या अधिकारीले विशिष्ट स्रष्टाहरूको समुपस्थितिमा आफ्नो दोस्रो कृति ‘ऐना’ माथि विमर्श आयोजना गरेकोमा लोमश वाङ्मय प्रतिष्ठान तथा अध्यक्ष ‘अटल’ प्रति आभार प्रकट गरिन्। यस्ता रचनात्मक बहसले आफ्नो सिर्जना यात्रामा थप ऊर्जा थप्ने बताउँदै उनले समाजमा अरूलाई उपदेशको भारी थोपर्ने तर आफ्नै कमजोरी नदेख्ने प्रवृत्तिका लागि ऐनाका रूपमा यो कृति प्रस्तुत गरेको रचनागर्भ खुलाइन्। साहित्यिक जमघटको उक्त अवसरमा रचना वाचन सत्र समेत सञ्चालन गरिएको थियो, जसमा आमन्त्रित स्रष्टाहरू आल्फिफोहेन फाक्लुप्पा र अलका मल्लले गजल; बलराम बिष्ट, रघुनाथ घिमिरे, गोपालकृष्ण अधिकारी, वीरेन्द्र कुँवर एवं गङ्गा खतिवडाले कविता; तथा प्रतीक्षा गौतम, आसरा के.सी., तृप्ती राना (गीत), प्रमिला पौडेल ‘आस्था’, मनिष ढकाल, केशरी अम्गाईँ, केशवप्रसाद पराजुली, भीम क्षेत्री, कमला घिमिरे र विष्णुप्रसाद आचार्य लगायतले आ-आफ्ना उत्कृष्ट सिर्जनाहरू प्रस्तुत गरेर हललाई साहित्यिक वातावरणमा गुञ्जायमान बनाएका थिए। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रविधिसम्मत शिक्षाका अभियन्ता विश्वराज अर्यालले प्रतिष्ठानको अभियानले नेपाली साहित्यको उत्थानमा नयाँ ऊर्जा थपेको बताए। प्रगतिशील लेखक सङ्घ (प्रलेस) का पूर्व कोषाध्यक्ष कृष्णहरि भट्ट र विद्युतकर्मी साहित्य समाजका अध्यक्ष विष्णुप्रसाद आचार्य ‘अतृप्त’ ले स्थापनाको छोटो अवधिमै लोमश वाङ्मय प्रतिष्ठानले वाङ्मय उन्नयनको क्षेत्रमा उल्लेखनीय छलाङ मारेको भन्दै प्रशंसा गरे। प्रतिष्ठानका सचिव एवं माइन्ड प्लसका प्रबन्ध निर्देशक नवीन पल्लवद्वारा कुशलतापूर्वक सहजीकरण गरिएको उक्त कार्यक्रममा प्रतिष्ठानका तर्फबाट अप्सरा के.सी. र विद्यालयका को-अर्डिनेटर महाप्रसाद अम्गाईले शब्द-सुमनद्वारा पाहुनाहरूलाई स्वागत गरेका थिए। कार्यक्रमको समापन सत्रमा प्रतिष्ठानका कोषाध्यक्ष गोपालकृष्ण अधिकारीले उपस्थित सम्पूर्ण महानुभाव, सहयोगी संस्था र अतिथिहरूप्रति धन्यवाद ज्ञापन गरे। अन्तमा, सभाध्यक्ष माधव घिमिरे ‘अटल’ ले आफ्नो संक्षिप्त मन्तव्य राख्दै समस्त साहित्यिक अभियन्ता, स्रष्टा र सहयोगी हातहरूको आत्मीय एवं निष्ठापूर्ण साथकै कारण प्रतिष्ठानका हरेक कार्यक्रमहरू भव्य रूपमा सफल हुँदै आएको विचार व्यक्त गरे।
