असार १५ को सांस्कृतिक उत्सवसँगै भक्तपुरमा सम्पन्न भयो ‘शब्द रोपाइँ’ कार्यक्रम
असार २८, २०८३, आइतबार | विहान ०९:१६ बजे | 60
भक्तपुर, २०८३ असार २७ (शनिबार)। सुख्खा याममा आकाशे पानीको प्रतीक्षामा रहेका कृषकहरू झमझम वर्षासँगै खेतमा रोपाइँमा व्यस्त भइरहेका बेला भक्तपुरको एभरेष्ट इङ्गलिश स्कूलमा भने साहित्यकारहरू ‘शब्द रोपाइँ’ गर्न तम्तयार थिए। उपत्यकाभर २१३औँ भानु जयन्तीको उत्साह छाएको थियो। मानो रोपी मुरी फलाउने असार महिनाको सांस्कृतिक र साहित्यिक वातावरणबीच विद्यालयका शिक्षक–शिक्षिका सफल व्यवस्थापनका लागि व्यस्त थिए भने सभाकक्ष वरिष्ठदेखि कनिष्ठ स्रष्टा–सर्जकहरूको उल्लेखनीय उपस्थितिले भरिएको थियो। विद्यालयका शिक्षक तथा विद्यार्थीहरू पनि शब्द रोपाइँमा सहभागी हुन उत्साहित देखिन्थे। भक्तपुर साहित्यिक समाजको आयोजनामा तथा एभरेष्ट इङ्गलिश स्कूलको सहकार्यमा सम्पन्न कार्यक्रममा आदिकवि भानुभक्त आचार्यलाई भावपूर्ण रूपमा स्मरण गर्दै समाजका अध्यक्ष राजुराम मुनंकर्मीले दीप प्रज्वलन गर्नुभयो। विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले आदिकवि भानुभक्तको तस्बिरमा माल्यार्पण गरेपछि कार्यक्रम औपचारिक रूपमा सुरु भयो। समाजकी सदस्य पवित्रा दाहालले ‘घाँसी’ कविताका केही हरफ वाचन गर्नुभयो। त्यसपछि समाजका सल्लाहकार काशिराम विरसले आदिकवि भानुभक्तको जीवन, व्यक्तित्व र योगदानमाथि प्रकाश पार्नुभयो। त्यसलगत्तै सहभागी स्रष्टाहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गर्दै ‘शब्द रोपाइँ’ प्रारम्भ गरे। यसपटकको कार्यक्रमको विशेषता कविता वाचनसँगै प्रत्येक कवितामाथि समीक्षक कवि कृष्ण बाउसेद्वारा गरिएको समीक्षात्मक टिप्पणी तथा युवा शिक्षक–कवि धनेश राजोपाध्यायद्वारा प्रस्तुत ‘दही–चिउरा संस्कृतिको आयाम’ विषयक विचार रह्यो। सहभागीहरूले यस नवीन अभ्यासलाई विशेष रुचाएका थिए। कार्यक्रममा समाजका बेथिति, मौलाउँदै गएको भ्रष्टाचार, अनुशासनहीनता, कानुनको उपहास, सामाजिक विकृति तथा राष्ट्रिय सरोकारका विषयमा सशक्त अभिव्यक्तिहरू प्रस्तुत भए। कतिपय स्रष्टाले देशप्रेमका भावना उजागर गरे भने कतिपयले आदिकवि भानुभक्तप्रति श्रद्धाञ्जलीस्वरूप छन्द कविता वाचन गरे। कार्यक्रममा मानिक बाबु ग्वंग, सुशिला प्रधानाङ्ग, कृष्ण बाउसे, काशिराम विरस, पवित्रा दाहाल, मानन्धर अभागी, गुहेश्वरी शाक्य, सुलोचना सैंजु जोशी, दिलकुमारी डंगोल, राजेन्द्र चित्रकार, सूर्यलक्ष्मी भोमी, ईश्वर थोकर, वसन्त नकर्मी, मिमला शर्मा, चन्द्रलाल भोमी, राजेशमान केसी, न्हुछे रत्न बुद्धाचार्य, राजकुमार श्रेष्ठलगायतका स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गरे। त्यसैगरी एभरेष्ट इङ्गलिश स्कूलका विद्यार्थी आरूषी दण्डेखु, आयुष्मा सिमाछ्वा, दृढता तथा दक्षता जयना, आराध्या भुजू, बोधिता मानन्धर, रिति नेपाल, श्रेणी मानन्धर र आराध्या प्रजापतिले पनि आफ्ना सिर्जना प्रस्तुत गरे। छन्द कविता वाचनमा सूर्यांश दाहाल, सर्वाङ्गी प्रजापति, सुयशी मोक्तान, विविशा घिमिरे, आराध्या दाहाल, नियाशा प्रधानाङ्ग र दृष्णा पौडेल सहभागी थिए। कार्यक्रमले पुस्तान्तरणको सुन्दर उदाहरण पनि प्रस्तुत गर्यो। वरिष्ठ स्रष्टाहरूका अनुभवी सिर्जनासँगै विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिताले साहित्यप्रतिको नयाँ पुस्ताको आकर्षणलाई थप उजागर गर्यो। असारको रोपाइँले खेतमा अन्नको बीउ रोपेजस्तै यस ‘शब्द रोपाइँ’ कार्यक्रमले बालबालिका र युवापुस्ताको मनमा भाषा, साहित्य, संस्कृतिप्रतिको प्रेम र सिर्जनशीलताको बीउ रोप्ने विश्वास सहभागीहरूले व्यक्त गरे। विद्यालयका व्यवस्थापन संयोजक शिक्षक नर्वदा भुषालले सबैको साझा सहयोगबाट गुणस्तरीय कार्यक्रम सञ्चालन गर्न सफल भएको बताउनुभयो। समाजका अध्यक्ष राजुराम मुनंकर्मीले संख्यात्मकभन्दा गुणात्मक सहभागिताले कार्यक्रम अझ प्रभावकारी बन्ने उल्लेख गर्दै आगामी दिनमा यस पक्षमा विशेष ध्यान दिइने बताउनुभयो। कार्यक्रमको अन्त्यमा भक्तपुर साहित्यिक समाजका तर्फबाट एभरेष्ट इङ्गलिश स्कूल तथा समीक्षक कवि कृष्ण बाउसेलाई कदरपत्र प्रदान गरिएको थियो। असार १५ को कृषिजन्य संस्कृतिलाई साहित्यसँग जोडेर आयोजना गरिएको यस ‘शब्द रोपाइँ’ कार्यक्रमले सिर्जना, संस्कृति र सामाजिक चेतनाको सुन्दर संगम प्रस्तुत गरेको सहभागीहरूको धारणा थियो। यस्ता कार्यक्रमले आदिकवि भानुभक्तको योगदानलाई नयाँ पुस्तासम्म जीवन्त रूपमा पुर्याउनुका साथै नेपाली भाषा, साहित्य र पठन–लेखन संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।
