नेवा सभ्यता, हिति प्रणाली र भक्तपुरबारे अन्तरसंवाद 'हितिलाई राष्ट्रिय सम्पदा घोषणा गरौँ, उपत्यकाका सबै हितिको नक्साङ्कन गरौँ' : जोशी
असार २७, २०८३, शनिबार | राति ०९:३८ बजे | 30
भक्तपुर, असार २७ । काठमाडौं उपत्यकाको परम्परागत हिति (ढुंगेधारा) प्रणाली नेपालको मौलिक, वैज्ञानिक तथा दिगो जल व्यवस्थापन प्रणाली भएकाले यसको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ। बुक क्लब भक्तपुरद्वारा आयोजित "नेवा सभ्यता, हिति प्रणाली र भक्तपुर" विषयक अन्तरसंवाद कार्यक्रममा 'हिति प्रणाली' पुस्तकका लेखक, इन्जिनियर, दिगो सहरी विकासका योजनाकार तथा काठमाडौं उपत्यकाको परम्परागत जल व्यवस्थापन प्रणालीका अध्येता पद्मसुन्दर जोशीले प्रस्तुतिकरणसहित हिति प्रणालीको ऐतिहासिक विकासक्रम, वर्तमान अवस्था र भावी चुनौतीबारे आफ्नो धारणा राख्नुभयो। काठमाडौं सभ्यताको पानी प्रणाली, सांस्कृतिक सम्पदा तथा दिगो सहरी विकासका क्षेत्रमा लामो समयदेखि अध्ययन–अनुसन्धानमा सक्रिय जोशीले हिति प्रणालीलाई विश्वकै उत्कृष्ट परम्परागत जल व्यवस्थापन प्रणालीमध्ये एक भएको बताउनुभयो। प्रस्तुतिकरणका क्रममा उहाँले काठमाडौं उपत्यकाका अधिकांश हिति सुकिसकेको उल्लेख गर्दै हिति निर्माणसम्बन्धी परम्परागत ज्ञान पुस्तान्तरण हुन नसक्नु, शाहकालपछि नयाँ हिति निर्माणको परम्परा रोकिनु तथा राज्यले यसको संरक्षणमा आवश्यक अपनत्व नलिनु वर्तमान संकटका प्रमुख कारण भएको बताउनुभयो। जोशीका अनुसार हिति ढुंगेधारा मात्र नभई मुहान, राजकुलो, पोखरी, भूमिगत जलभण्डार, नाभीमण्डल, हितिदुँ (जलमार्ग) र ढुंगेधाराहरूको समग्र जल व्यवस्थापन प्रणाली हो। यही प्रणालीले करिब दुई हजार वर्षदेखि काठमाडौं उपत्यकाका बस्तीहरूमा पानीको व्यवस्थापन गर्दै आएको उहाँको भनाइ थियो। उहाँले काठमाडौं उपत्यकाको हिति प्रणाली तीन प्रमुख जल प्रणालीमा आधारित रहेको जानकारी दिँदै काठमाडौंमा बुढानीलकण्ठ प्रणाली, ललितपुरमा टीकाभैरव प्रणाली र भक्तपुरमा वागेश्वरी प्रणाली मार्फत परम्परागत जलसञ्चारको सञ्जाल विकास भएको बताउनुभयो। यी प्रणालीहरूले प्राकृतिक मुहानबाट पानी सङ्कलन गरी राजकुलो, पोखरी र हितिहरूमार्फत बस्तीसम्म पुर्याउने वैज्ञानिक तथा दिगो संरचना विकास गरेको उहाँले स्पष्ट पार्नुभयो। जोशीले हितिलाई राष्ट्रिय सम्पदा घोषणा गर्न, काठमाडौं उपत्यकाभर रहेका सबै हितिको नक्साङ्कन (म्यापिङ) गर्न, स्थानीय तहले संरक्षणलाई प्राथमिकतामा राख्न तथा सार्वजनिक प्रयोगलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राख्नुभयो। उहाँका अनुसार सम्पदा संरक्षणको सबैभन्दा प्रभावकारी उपाय त्यसको निरन्तर प्रयोग र स्थानीय समुदायको सक्रिय सहभागिता हो। उहाँले हिति संरक्षणलाई खानेपानीको समस्या समाधानसँग मात्र नभई भू–जल पुनर्भरण, ढल व्यवस्थापन, वातावरणीय सन्तुलन, जलवायु परिवर्तनसँग अनुकूलन र सांस्कृतिक सम्पदा संरक्षण सँग जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। परम्परागत ज्ञान, स्थानीय सीप र समुदायको सहभागितालाई पुनर्जीवित नगरे हिति प्रणालीको अस्तित्व नै संकटमा पर्ने चेतावनी पनि उहाँले दिनुभयो। कार्यक्रममा सहभागीहरूले हिति संरक्षणलाई सरकारी निकाय, स्थानीय तह र समुदायको साझा जिम्मेवारीका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए। साथै, हिति निर्माणसम्बन्धी परम्परागत ज्ञानको अभिलेखीकरण, नयाँ पुस्तामा ज्ञान हस्तान्तरण तथा स्थानीय विद्यालयदेखि विश्वविद्यालयसम्म हिति प्रणालीसम्बन्धी अध्ययनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइयो। कार्यक्रमको सञ्चालन तथा सहजीकरण उज्ज्वल प्रजापतिले गर्नुभएको थियो भने नरेश अन्तरक्रियामा नरेश कर्माचार्य, सरोज कायस्थ श्रेष्ठ (बनेपा), सुदीप दुवाल (भक्तपुर) र सृजना प्रजापति, केपी छुस्याकीफगायत सहभागीहरूले हिति संरक्षण, स्थानीय समुदायको भूमिका, परम्परागत ज्ञानको पुस्तान्तरण तथा भावी पुस्ताका लागि हिति प्रणाली जोगाउने उपायबारे आफ्ना जिज्ञासा र धारणा राखेका थिए। हिति प्रणाली ऐतिहासिक सम्पदा नभई आजको पानी संकट समाधान गर्न सक्ने दिगो, वैज्ञानिक र जीवन्त प्रणाली भएकाले यसको संरक्षणमा राज्य, स्थानीय तह र समुदायबीच समन्वित पहल अपरिहार्य रहेको सहभागीहरूले औँल्याएका थिए । कार्यक्रममा भक्तपुर बुक क्लबका अध्यक्ष दिनेश प्रधानले लेखक जाेशीलाई मायाकाे चिनाे प्रदान गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...
