पुरानो जगातीको ऐतिहासिक पुल पुनःनिर्माण सम्पन्न, गरियो उदघाटन
असार २७, २०८३, शनिबार | दिउँसो १२:०० बजे | 70
भक्तपुर, असार २७
भक्तपुर नगरपालिका–८ स्थित ऐतिहासिक महत्व बोकेको पुरानो जगाती पुल पुनःनिर्माण सम्पन्न भएपछि शनिबार एक विशेष समारोहबीच औपचारिक रूपमा उद्घाटन गरिएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
पुनःनिर्माण सम्पन्न पुलको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरूले ऐतिहासिक सम्पदाको संरक्षणसँगै आधुनिक आवश्यकतालाई ध्यानमा राखेर पुलको पुनःनिर्माण गरिएको उल्लेख गर्दै यसले स्थानीय आवागमनलाई सहज बनाउनुका साथै सांस्कृतिक सम्पदाको संरक्षणमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
वडा नं. ८ कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा पुलको ऐतिहासिक महत्व, पुनःनिर्माण प्रक्रियाको आवश्यकता तथा स्थानीय विकासमा यसको भूमिकाबारे चर्चा गरिएको थियो । सहभागीहरूले पुराना सम्पदाको संरक्षण गर्दै भावी पुस्तालाई इतिहाससँग जोड्ने यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
कायक्रममा वडा अध्यक्ष केपी कोजू, नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरपालिका वडा नं ८ का इन्चार्ज लक्ष्मीनारायण दुवाल, वडा सदस्य कृष्णलाल किसी, स्थानीय समाजसेवी जगतशेर गोसाई, उपभोक्ता समितिका अध्यक्ष बालगोविन्द तचामो, रामप्रसाद किसीलगायतले पुलका विविध पक्षमा चर्चा गरेका थिए ।
भक्तपुरको पुरानो जगाती क्षेत्र ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने भएकाले पुनःनिर्माण सम्पन्न पुलले स्थानीय बासिन्दा, पर्यटक तथा सम्पदा संरक्षणमा चासो राख्ने सबैका लागि थप आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
फाेटाेमा हेर्नुहाेस्...
