गणेश नेपालीको आत्मदाह प्रकरण: सरकारको कार्यशैलीप्रति तरुण दलका निवर्तमान अध्यक्ष गुरुङको आक्रोश
असार २६, २०८३, शुक्रबार | राति १०:५० बजे | 25
काठमाडौं , असार २६
मुगुका गणेश नेपालीले राज्यको चरम उपेक्षा र त्रासका कारण आफ्नै शरीरमा आगो लगाएर गरेको आत्महत्याको घटनाले देशभर तरंग फैलाएको छ। सोही घटनालाई लिएर नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङले वर्तमान सरकारको कडा आलोचना गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता गुरुङले एक श्रमजीवी नेपालीले राज्यको दमन सहन नसकी मृत्युवरण गर्नु पर्ने अवस्था आउनु लज्जास्पद भएको बताएका छन्। उनले मृतक नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सरकारी रवैयाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका हुन्। के भन्छन् गुरुङ? नेता गुरुङले चुनावका बेला दिइएका आश्वासन र अहिलेको अवस्थाबीचको विरोधाभासलाई औंल्याउँदै सरकारको आलोचना गरेका छन्। आफ्नो स्ट्याटसमा उनले भनेका छन्: "हालसालैको चुनावमा मत माग्न जाँदा 'कर्णालीको सुइना (सपना) हाम्रो सुइना' भन्दै हिँड्नेहरूले बालुवाटारको गद्दी आरोहण गरेपछि जनतालाई पल-पल मर्न बाध्य पारेका छन्।" उनले राज्यद्वारा त्रसित पारिएका एक श्रमजीवी नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था आउनु सरकारको असफलता र संवेदनहीनताको पराकाष्ठा भएको जिकिर गरेका छन्। गुरुङको यो अभिव्यक्तिले वर्तमान राजनीतिक नेतृत्वले जनताका आधारभूत समस्या समाधान गर्न नसकेको र उल्टै नागरिकलाई असुरक्षित बनाएको भन्दै चौतर्फी बहस सुरु भएको छ। यस घटनालाई लिएर नागरिक समाज र विभिन्न राजनीतिक वृत्तबाट पनि सरकारसँग जवाफदेहिताको माग भइरहेको छ।
