शिलु महादेव मेलाको औपचारिक शुभारम्भ


असार २७, २०८३, शनिबार | विहान ०६:५० बजे | 75


शिलु महादेव मेलाको औपचारिक शुभारम्भ

भक्तपुर, असार २७ — भक्तपुर दरबार क्षेत्रस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध शिलु महादेव मन्दिरमा लामो समयदेखि रोकिएको नित्यपूजालाई पुनः सञ्चालन गर्ने उद्देश्यका साथ होम तथा रुद्री पूजा कार्यक्रम आयोजना गरिने भएको छ।

लायकू सम्पदा संरक्षण कोषको आयोजनामा हुने उक्त कार्यक्रम २०८३ साल असार २७ गते शनिबार बिहान ९ बजे शिलु महादेव मन्दिर परिसरमा सम्पन्न हुनेछ। आयोजकका अनुसार वि.सं. १९९० सालपछि नियमित रूपमा हुन नसकेको नित्यपूजालाई पुनः निरन्तरता दिने तयारीस्वरूप यो विशेष धार्मिक अनुष्ठान आयोजना गरिएको हो।

कार्यक्रममार्फत प्रत्येक वर्ष श्रावण १ गतेदेखि सुरु हुने शिलु महादेव मेलाको औपचारिक शुभारम्भ गरिने जनाइएको छ। यस अवसरमा वैदिक विधिअनुसार होम तथा रुद्री पूजा सम्पन्न गरिनेछ भने भक्तजन, स्थानीयवासी, गुठियार, संस्कृतिप्रेमी तथा सरोकारवालालाई कार्यक्रममा उपस्थित भई धार्मिक तथा सांस्कृतिक अभियानलाई सफल बनाउन आयोजकले आग्रह गरेको छ।

शिलु महादेव मन्दिर भक्तपुरको ऐतिहासिक सम्पदामध्ये एक महत्वपूर्ण धार्मिक स्थल मानिन्छ। यहाँ श्रावण महिनाभर विशेष पूजा–आराधना र मेला लाग्ने परम्परा रहेको छ। नित्यपूजाको पुनः सुरुवातसँगै मन्दिरको धार्मिक गतिविधि थप सक्रिय हुने तथा स्थानीय सम्पदा संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

Comments