तन्त्र यौन र समाधि


असार १०, २०८३, बुधबार | विहान १०:२४ बजे | 115


तन्त्र यौन र समाधि

प्रजापति तिमिल्सिना
रचनाकार, कोटेश्वर 
९८४१०४६५१३
(यो लेख मित्र श्री पदम दाहालज्यू र मसहित दुईजनालाई भक्तपुर निवासी डा. इन्दुल के.सी.ज्यूले पथप्रदर्शक भई भक्तपुर नगरका ऐतिहासिक मठमन्दिरहरु भ्रमण गराउँदा मैले आएका व्यहोरा यस लेखमा प्रस्तुत गरेको छु ।)
यौनकार्य प्राणीको सृष्टि निरन्तरताको मूल माध्यम बनेको छ र हो पनि  । सृष्टिका देवता ब्रह्माले  प्राणी निर्माण गर्दा सृष्टि निरन्तर रहिरहोस् भनेर नै प्रणयलाई प्रमुख आनन्दका स्रोतको रूपमा शरीरको संरचनामा स्थान दिएको हुनुपर्छ । हाम्रा शास्त्रहरूले पनि यसका बारेमा व्याख्या गर्ने गरेको पाइन्छ । धेरै पछि आएर ओशोले आफ्नो चिन्तनमा यौनलाई सम्भोग देखि समाधि सम्म पु¥याउन  यौनलाई एउटा सिध्दान्त मानी, यसलाई आवश्यक उदजनको रूपमा पनि ब्याख्या गरेका छन् ।  
तन्त्रदर्शनले  पनि यौनका विषयमा नयाँ आयाम र चिन्तनबाट नयाँ सोच प्रस्तुत गरेको छ । धर्म, कला र संस्कृतिलाई व्यापक बनाइदिएको छ । वेदले पनि यौनलाई कामयज्ञका रूपमा व्याख्या गरेको पाइन्छ ।  यही आधारमा पनि हाम्रा धार्मिक र आध्यात्मिक स्थानहरूमा  कामकलाका चित्रहरू कोरिएका हुन सक्छन् ।  यस विषयलाई हाम्रा शास्त्रहरूले  अत्यन्तै व्यापक रूपमा व्याख्या गरेको पाइन्छ । 
भोकले काम बदल्छ, कर्म बदल्छ, रङ्ग बदल्छ, रूप बदल्छ, साइनो बदल्छ, सम्बन्ध बदल्छ, के मात्र बदल्दैन ? प्यार पनि बदल्छ ।  प्रेम पनि बदल्छ । इमान र बेइमानी पनि बदल्छ । मानिसका कर्म (काम) दुई प्रकारका हुन्छन् – मानसिक र शारीरिक । भोगलाई पनि शारीरिक कर्म भित्रको आनन्ददायी कर्म मानिन्छ, जुन कर्मले शरीर र मन दुवैलाई आनन्द दिन्छ ।
पूर्वीय दर्शनमा रतिकला सम्बन्धित चिन्तन वेद र तन्त्र दुवैमा पाइन्छन् । तिनलाई निगम र आगम दुई धारमा विभक्त गरिएको छ । रति कलालाई आध्यात्मसँग जोडिने पनि गरिन्छ । । रतिकलालाई अध्यात्मसँग जोडेर कलाको रूप दिनु पूर्वीय दर्शनको महत्त्वपूर्ण विशेषता मानिन्छ । अझ तन्त्र दर्शनले यसका सार्वभौम आवश्यकतालाई महसुस गरी रतिक्रिया र त्यसका पक्षहरूलाई नयाँ आयाम दिएर धर्म, कला, र संस्कृतिमा यसलाई व्यापक बनाउने कोसिस गरेको देखिन्छ  । 
वेदले यसलाई कामयज्ञका रूपमा स्वीकार गरेकोे र तन्त्रदर्शनले उच्चतम यज्ञका रूपमा लिएको छ । यसैलाई आधार मानेर हाम्रा मठमन्दिरहरूमा रतिकलाका विभिन्न रूपका चित्रहरू कोरिएको हुनुपर्दछ । कुनै आलिङ्गन युक्त चित्र , कुनै चुम्बनका चित्र, कुनै प्रेमरसमा लिप्त चित्र, कुनै मैथुन आसनमा लिप्त चित्रहरू कोरिएको देखिन्छ । यसरी रतिकलालाई विभिन्न आसनका कोरिएको पाइन्छ । वात्स्यायनका अनुसार रतिकलामा ६४ कला र ८४ आसन बताइएको छ । नेपालमा तन्त्रयान र बज्रयानको प्रभावका कारण चौधौँ र पन्ध्रऔँ शताब्दीदेखि मठमन्दिरमा यस्ता चित्रहरू कोरिँदै आएको मानिन्छ । यस्ता चित्रहरू नेपालका  पाटीपौवा, मठमन्दिर, धर्मशाला, परम्परागत – घर र दरबारका टुँडालहरूमा समेत देख्न पाइन्छ । 
तन्त्र र कामसूत्रलाई रसानन्द स्रोतका रूपमा ऋग्वेदको नासदीय सूक्तमा पनि उल्लेख गरेको पाइन्छ भने  तन्त्रलोकको विज्ञान भैरव २, श्लोक २० मा पनि वर्णन गरिएको पाइन्छ ।
‘सकत्यवस्था  प्रविटस्य निर्विभागेन भावना ।
तदाऽसौ शिवरूपीस्यात शैवी मुख मिहच्छेते ।।’
यही रसानन्द समाधिको प्रक्रियालाई मुक्त रूपमा अभिव्यक्त गर्दा कलाकारहरूले कामकलाका स्वरूपलाई चित्रमा उल्लेख गर्ने गरेका थिए भनिन्छ । 
योगमार्गमा समाधिका लागि प्रयोग भएका विभिन्न प्रणालीहरू मध्ये– रसानन्द योगसमाधि पनि एक हो । घेरण्ड संहिताको ७ । १२ ।१३ मा बताइएको रसानन्द समाधिको विधि यसप्रकार छ –
‘ योनि मुद्रां समासाद्य स्वयंशक्तिमयो भवेत् ।
  सुश्रृङ्गगार रसेनैव विहुरेत् परमात्मनि ।।
  रसानन्दमयो भूत्वा ऐक्यं ब्रह्मणि सम्भवेत् ।
  अहं ब्रह्मेति वाऽद्वैतम् समाधिस्तेन जायते ।।’
अथात् साधकले योनिमुद्राको साधना गरी वा योनिजन्य रसको आस्वादन गरी शक्तिमय हुनू, अर्थात् आफूलाई स्त्रीभावले युक्त बनाउनू । त्यसपछि परब्रह््मलाई पुरुषका रूपमा कल्पना गरी श्रृंङ्गाररसले युक्तभई उक्त परमात्माका साथ रमण गर्नु । यसरी रमण गर्दागर्दै साधक आनन्दरसमा डुबेर ब्रह््मका साथ एकाकार बन्न पुग्छ । यसप्रकार म ब्रह्म हुँ, म अद्वैत तत्त्व हुँ भन्ने पूर्ण बोध भएपछि साधक योगसमाधिमा लीन हुन्छ । शक्तितत्वसँग एकाकार बोध भएपछि नै शिवका साथ एकात्म्य लाभको स्थिति उत्पन्न हुन्छ ।   
श्रीमद्भागवद् गीताको १४–३–४ श्लोकमा पनि – यही भाव झल्कन्छ । यसमा भनिएकोछ,‘मद्ब्रह्म मेरो योनि हो । यसैमा गर्भको आराधना गर्छु । त्यसपछि महत (बुध्दि) आदि क्रमले समस्त सृष्टिको रचना गर्छु । देवपितृ र मनुष्यपशु आदि योनिमा देहधारी जति पनि प्राणी छन् , ती सबैलाई उत्पन्न गर्ने माता प्रकृति हुन भने बीज प्रदान गर्ने पिता मै हुँ । सन्तानोत्पत्तिका लागि पुरुषले गर्भ धारण गरिदिन स्त्रीको आराधना गनुपर्छ । यो कार्य पनि भगवान्कै अंश मानिन्छ ।’ यसरी गीताले पनि योनिलाई सृष्टिप्रधान प्रकृति र वीर्य  दान गर्ने पुरुष स्वयं  भगवान् भएको बताउँछ । 
यौन वा मैथुन क्रियालाई  वृहदारण्यकोपनिषदको –अध्याय ६को ब्राह्मण४को ३ मा भनिएको छ ,‘‘ तस्या वेदिरूपस्थो लोमानि बर्हिश्चर्माधिषवणे समिध्दो मध्यस्तौ मुष्कौ स यावान् ह वै वाजपेयेन यजमानस्य लोको भवति । तावानस्य लोको भवति य एवं विद्वानधोपहासं चरत्यासा ँ’स्त्रीणा ँ’ सुकृतं वृङ्क्तेऽथ य इदमविद्वानधोपहासं चरत्यास्य स्त्रीयःसुकृतं बृञ्जते ।’’
अर्थात्  स्त्रीको (उपस्थन्द्रिय) यौनी वेदी हो । यज्ञमा होम गर्ने यज्ञकुण्डलाई वेदी भनिन्छ । कारण योनिको मध्यभागमा प्रज्वलित अग्निु हुन्छ । योनिमा उम्रिएका रौँहरू कुश हुन । योनिको पाश्र्वभागमा उठेको जुन कठोर मांसखण्ड हुन्छन् तिनलाई मुष्क भनिन्छ । ती दुबै मुष्क (मासु र छाला) ‘अधिषवण’ नामक सोम फलक ( फ्ल्याक) हुन । जसले यौन रस निचोर्न सघाउँछ । योनिको मध्यभाग अग्नि कुण्ड हो । जसमा वीर्य होम गरिन्छ । यो यज्ञबाट वाजपेय यज्ञ गरेर यजमानलाई जति फल प्राप्त हुन्छ, त्यति नै फल  मैथुन विज्ञान जानेर गरिने मैथुन क्रियाबाट प्राप्त हुन्छ  । यसरी ज्ञानपूर्वक गरिने मैथुनले पुण्य वृध्दि हुनेकुरा वेदमा उल्लेख भएको पाइन्छ ।
प्राचीन वैदिक कर्महरूको सम्पादन यज्ञबाटै गरिन्थ्यो । किनभने यज्ञबाट शक्ति आर्जन गर्न सकिन्छ भन्ने मान्यता रहेको थियो र छ । यौनीलाई यज्ञकुण्ड मानेर शक्ति आर्जन गर्न सकिन्छ भन्ने मान्यता वेदले पनि बताउँछ । समयको परिवर्तनसँगै तन्त्रसाधनाको विकासमा उपासना गर भन्ने सिध्दान्त प्रतिपादन  भयो । यही सिध्दान्त  बमोजिम उपासना गर्ने स्वरूपहरूमा पनि परिवर्तन आयो । जसलाई तान्त्रिक शब्दावलीमा अन्तर्यजन भनिन्छ । यही  अन्तर्यजनका साथै बहिर्यजनकोे पनि विकास भयो । यसै गरी वैदिक कार्यले बहिर्यजनलाई बढी महत्त्व दियो भने तन्त्रकर्ममा अन्तर्यजनलाई बढी महत्त्व दिइयो । अझ तन्त्रको मूल उध्देश्य  भन्नु पर्दा बहिर्यजनलाई र  अन्तर्यजनलाई एकअर्कामा विलय गराउनु नै हो भन्ने पनि गरिन्छ ।
वेदले जस्तै तन्त्रले पनि सांसारिक क्रियाकलापलाई निषेध गर्दैन । त्यसैले सृष्टिप्रक्रियाको निरन्तरताका लागि आवश्यक मैथुनलाई तन्त्रमा अत्यन्तै ठूलो महत्त्व दिइएको छ । महत्त्व सन्तान तिविस्तारको लागि मात्र दिइएको छैन, जगदानन्दको अनुभूतिका लागि, साधनाका लागि उच्चतम स्थान दिइएको छ । तन्त्रले मात्र होइन,वेदले पनि मैथुनी क्रियालाई सन्तान उत्पादनमा मात्र सीमित नराखी केवल शारीरिक आनन्दका लागि सम्भोग कसरी गर्ने भनेर उपाय  बताएको छ । त्यसैले सहकर्मीे गर्भवती नबनोस् भनेर मन्त्रको प्रयोगद्वारा वीर्यपात हुन नदिन ‘आपानन’ जस्ता उपायहरूको व्याख्यासमेत गरेको  छ । 
 तन्त्रमा मैथुनलाई साधनाको एउटा अङ्गका रुपमा ग्हण गर्नुको आशय  पनि मैथुनजन्य आनन्दको पूर्ण उपभोगपूर्वक त्यसबाट साधकलाई निवृत्तिको मार्गमा  लैजानु हो । कामकलासम्बन्धी यिनै चिन्तनहरूको स्थूल अभिव्यक्ति र समष्टिगत रूप मन्दिरका टुँडाल र भित्ताहरूमा उत्कीर्ण गरिएका मूर्ति र चित्रहरूमा हामी देख्न सक्छौँ । 
सँगै शास्त्र यो पनि अनुरोध गर्छ, मन्दिरका टुँडालहरूमा उत्कीर्ण गरिएका चित्रहरू लौकिक रतिक्रियाको अभिव्यक्ति मात्र नभई शिव र शक्तिको सामरस्य वा जीवात्मा र परमात्माको संयोगका द्योतक हुन् भन्ने जानकारी बाँड्दछ । ती मूर्तिहरूमा देखिने पुरुष आकृतिलाई ब्रह्म वा शिवको प्रतीक बताउँछन् भने सम्पूर्ण जगत परम शिवको स्वातन्त्रय शक्तिको विलास भएकाले जगतलाई शक्तिको विस्तारका  रूपमा र परम् शिवलाई शक्तिमान्का रुपमा हेरिनु नै श्रेयस्कर हुन्छ ।
यही रसानन्दको  समाधिको प्रक्रियालाई मूर्त रूपमा अभिव्यक्त गर्दा कलाकारहरूले चित्रकला वा मूर्तिकलामा कामकलाका स्वरूपहरू निर्माण गर्दै आए । मानिसको यौनप्रतिको आकर्षण र झुकावले गर्दा प्राचीन कालदेखि नै यौनकलालाई विभिन्न मुल्य मान्यता , रूप स्वरुपमा स्वीकार्दै आएको देखिन्छ । त्यही परम्परालाई समात्दै नेपालका धार्मिक ग्रन्थहरू र मन्दिरहरूमा यौनका कलालाई मोक्ष प्राप्त गर्ने तत्त्वका रूपमा स्वीकार गरेर चित्र र मूर्तिहरू निर्माण गरिएको देखिन्छ ।  भनिन्छ, ‘मानवीय जीवनका व्यावहारिक प्रयोगहरूले लौकिक एवं अलौकिक सिध्द प्राप्त गर्ने उपायका रूपमा यौनकला रहेको छ ।’ 
वैदिक वाङ्मय होस् वा लौकिक साहित्य होस् , तिनमा तन्त्रवादका धारणाहरू प्रष्ट छन् । यो वैदिक परम्पराको समानन्तरता र परम्पराका रूपमा विकास हुँदै आएको छ । समयको चालसँगै यी दुवैधारा एकअर्कामा समन्वित र स्वतन्त्र रूपमा प्रवाहित भएको देखिन्छ । मानव जीवनमा ज्यादै महत्त्वपूर्ण भूमिका खेल्ने कामसम्बन्धी विषयलाई आत्मासँग जोडेर  कलाका रूपमा मन्दिर परिसरमा प्रवेश गराइनुलाई तन्त्रको महत्त्वपूर्ण विशेषताका रूपमा हेरिन्छ ।  तैपनि हाम्रा परम्पराहरूले यसलाई अति गोप्यतामा राख्ने गरेकाले यस सम्बन्धमा हाम्रा मनमा तर्कका तन्तुहरू जिज्ञासाका रूपमा बढी चल्ने गरेका  हुन सक्छन् ।
बौध्द धर्मदर्शनको बज्रयानले पनि यी सबै कुरालाई स्वीकार गरेको छ । कुनै कुरालाई इन्कार गरेको छैन भन्ने मानिन्छ । बज्रयानलाई – तन्त्रवाद पनि भनिन्छ । तन्त्रवादले स्त्रीशक्तिको उपासनालाई  अनुमति दिन्छ ।  यस्तै अघोरी तन्त्रसाधनामा पनि स्त्री शक्तिको उपासनालाई  आवश्यक मानिन्छ ।  यसलाई शिवत्व मार्गमा प्रवेश गराउने साधनाका रूपमा मान्यता दिइएको देखिन्छ । अझ भनिन्छ, अघोरी तन्त्रसाधनामा रजप्रारम्भ पूर्वकी कन्या वा रजनिवृत्त महिलाको उपस्थितिलाई अनिवार्य मानिन्छ ।  समग्र रूपमा तन्त्रसाधनामा स्त्रीलाई महत्त्वपूर्ण शक्तिका रूपमा प्रयोग गर्ने गरेको देखिन्छ ।   
यस्ता कामचित्रहरू हाम्रा आध्यात्मिक र आस्थाका केन्द्रहरूमा किन उत्कीर्ण गरिएका होलान् ? भन्ने प्रश्नमा पनि यस विषयलाई तत्कालीन  परिस्थिति र अवस्थासँग जोडेर गरिएका व्याख्या विश्लेषण  धेरै सुन्नपढ्न पाइन्छ । स्त्रीमा अपार महिमा र शक्ति निहित भएको मानिन्छ । त्यो शक्तिलाई  प्रणयलीलासँग यौनसँग पनि जोडेर हेर्ने गरिन्छ । स्त्रीसँगको यौन आनन्दलाई उच्च आनन्द मानिन्छ । समाजलाई यौनसँग जोड्दै आनन्दमय बनाउन  पनि हाम्रा पौराणिक मठमन्दिर र सम्पदाहरूका टुँडालहरूमा रासलीलाका चित्रहरू कोरिएका हुन सक्छन् । ती चित्रहरूले सुन्दर अनि सुखी परिवारका लागि अभिप्रेरणा जगाइदिने गरेका पनि हुन्छन् । ती चित्रहरूले शारीरिक सन्तुष्टि कसरी लिने भनेर ज्ञान दिने गरेका पनि हुन्छन् । त्यसैले यसलाई धर्म र तन्त्रसँग जोडिएको हुन सक्छ ।  प्रणयमा गज्जवको विशेषता हुन्छ । यो प्रचुर आनन्दको स्रोत मानिन्छ ।  छिनैछिनमा फरकफरक सुखका सगुन सूचित गर्न सक्ने यसको विशेषता हुन्छ । । हृदय हँसााउन सक्छ । जीवनज्योति  जगाउन पनि सक्छ । 
मानिसले आफ्नो अन्तस्मा  यौनलाई जतिसुकै लुकाए पनि त्यसका प्रतिविम्बका छापहरू  कुनै न कुनै रुपमा बाहिर देखा परिरहेकै हुन्छन् । प्रकृतिको गर्भमा निवास रहेको वीर्य या वीजको अमृतत्वलाई जागरण गराउने एकमात्र क््िरmया हो रतिक््िरmया । त्यो वीज कुनै पनि आवरणमा पुष्टि हुँदैन । त्यसैले त्यसलाई जागरण गराउन मठमन्दिर जस्ता आध्यात्मिक केन्द्रका टुँडाल र भित्ताभित्तामा यस्ता चित्रहरू कोरिएका हुनुपर्दछ ।

डा इन्दुल केसी                          पदम दाहाल                         

(क्रमशः....)                             २०८३ असार ८, सोमबार

Comments