सडक नाटक तथा सरसफाइ कार्यक्रम सम्पन्न


असार ९, २०८३, मङ्गलबार | साँझ ०५:५१ बजे | 95


सडक नाटक तथा सरसफाइ कार्यक्रम सम्पन्न

भक्तपुर, असार ९— समुदायमा सरसफाइ, वातावरण संरक्षण तथा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले अमरज्योति स्काउट प्याकले सडक नाटक तथा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत स्काउट सदस्यहरूले स्थानीय समुदायमा सरसफाइको महत्व, फोहोर व्यवस्थापन, सार्वजनिक सम्पदाको संरक्षण तथा नागरिक जिम्मेवारी सम्बन्धी सन्देशमूलक सडक नाटक प्रस्तुत गरेका थिए।

नाटकमार्फत जल प्रदूषणका कारण उत्पन्न हुने समस्या र त्यसको समाधानका उपायहरूलाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको थियो। स्थानीय बासिन्दा, अभिभावक तथा विद्यार्थीहरूले सडक नाटकलाई निकै रुचिपूर्वक अवलोकन गरेका थिए। सडक नाटकपछि कब र ब्राउनीले वाकुपती नारायण मन्दिर वरपरको क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेका थिए। कार्यक्रममा सहभागी स्काउटहरूले प्लास्टिकजन्य फोहोर, कागज तथा अन्य फोहोर संकलन गरी उचित व्यवस्थापन गरेका थिए। यस अभियानले स्थानीय क्षेत्रमा सरसफाइप्रति सकारात्मक सन्देश प्रवाह गर्नुका साथै समुदायलाई पनि सरसफाइ अभियानमा सहभागी हुन प्रेरित गरेको थियो। कार्यक्रममा बोल्दै स्काउट मास्तर जीवन सुवालले समाज परिवर्तनका लागि युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सेवा, अनुशासन र नेतृत्व विकासमा स्काउट अभियानको महत्वपूर्ण भूमिका रहेको बताए। उनीहरूले सरसफाइ केवल एक दिनको कार्यक्रम नभई दैनिक जीवनको संस्कार बन्नुपर्ने धारणा व्यक्त गरे। अमरज्योति स्काउट प्याकका कब र ब्राउनीले “सफा वातावरण, स्वस्थ जीवन”, “मेरो समुदाय, मेरो जिम्मेवारी” तथा “सेवा नै स्काउटको पहिचान” जस्ता नारासहित ब्राउनी कृति आगन्जाले सरसफाइ सम्बन्धमा समेत प्रस्तुत  गरेको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले समुदायको हितका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको समापनमा आयोजक पक्षले सहयोग गर्ने सम्पूर्ण शिक्षक, अभिभावक, स्थानीयवासी तथा सहभागी स्काउट सदस्यहरूप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व, आत्मविश्वास, सामाजिक उत्तरदायित्व र सेवाभावको विकास गर्ने विश्वास व्यक्त गरेको थियो। “अरूलाई मद्दत गर्नु र समाजलाई सकारात्मक परिवर्तनतर्फ डोर्याउनु नै साँचो स्काउटको परिचय हो।” यसै भावनालाई आत्मसात् गर्दै अमरज्योति स्काउट प्याकले च्यामासिह देखि सुर्यमढी सम्म समुदायमा सकारात्मक सन्देश फैलाउन मार्च पास समेत प्रस्तुत गरेको थियो।

फाेटाेमा हेर्नुहाेस्...

सडक नाटक तथा सरसफाइ कार्यक्रम सम्पन्न

Comments