समाजवादी कम्युनिष्ट पार्टी नेपालको एकता राष्ट्रिय भेला सम्पन्न, ५७ सदस्यीय केन्द्रीय समिति गठन


असार ९, २०८३, मङ्गलबार | राति ०९:५२ बजे | 35


समाजवादी कम्युनिष्ट पार्टी नेपालको एकता राष्ट्रिय भेला सम्पन्न, ५७ सदस्यीय केन्द्रीय समिति गठन

काठमाडौं । समाजवादी कम्युनिष्ट पार्टी नेपालको एकता राष्ट्रिय भेला सम्पन्न भएको छ। भेलाले विभिन्न कम्युनिष्ट पार्टी तथा समूहमा आबद्ध नेता–कार्यकर्ताहरूलाई एकताबद्ध गर्दै वैज्ञानिक समाजवादी जनक्रान्तिलाई अगाडि बढाउने निर्णय गरेको जनाएको छ।

भेलाबाट अशोक सुवेदी ‘विप्लव’लाई महासचिव चयन गरिएको छ। साथै ५७ सदस्यीय केन्द्रीय समिति तथा १२ सदस्यीय सचिवालय गठन गरिएको जानकारी दिइएको छ। वरिष्ठ नेता मानध्वज श्रेष्ठ ‘रिम’लाई सल्लाहकार समितिको अध्यक्षको जिम्मेवारी दिइएको छ।

पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा वर्तमान राजनीतिक व्यवस्था, साम्राज्यवाद, संशोधनवाद तथा अवसरवादविरुद्ध संघर्षलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। विज्ञप्तिमा वैज्ञानिक समाजवाद स्थापना गरी समाजवादी व्यवस्था निर्माण गर्ने लक्ष्य दोहोर्याइएको छ।

भेलाले शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता योद्धाका परिवार, घाइते तथा अपाङ्ग योद्धा, राजनीतिक बन्दी र आन्दोलनका क्रममा पीडित भएकाहरूप्रति सम्मान व्यक्त गरेको छ। उनीहरूको उचित व्यवस्थापन, सम्मान तथा अधिकार सुनिश्चित गर्न राज्यसँग माग समेत गरिएको छ।

अन्तर्राष्ट्रिय विषयमा भेलाले प्यालेस्टाइन, इरान र लेबनानमाथि भइरहेको आक्रमणको विरोध गर्दै तत्काल युद्धविरामको माग गरेको छ। साथै अमेरिकी साम्राज्यवाद तथा विभिन्न मुलुकमाथिको हस्तक्षेपकारी नीतिको आलोचना गरेको छ।

भेलाले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका नेपाली भूभाग फिर्ता गर्न भारतसँग माग गरेको छ। यस्तै, एमसीसीलगायतका सम्झौताहरू राष्ट्रहितविपरीत रहेको दाबी गर्दै ती सम्झौता खारेज गर्न सरकारसँग आग्रह गरेको छ।

महँगी, भ्रष्टाचार, कालोबजारी, सहकारी ठगी, बेरोजगारी, भूमिहीनता तथा वैदेशिक पलायनजस्ता समस्याप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भेलाले सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको पुनःस्थापना र राहत व्यवस्थापनमा पनि विशेष ध्यान दिन माग गरिएको छ।

भेलाले विभिन्न जनवर्गीय संगठनहरूको नेतृत्व समेत चयन गरेको जनाएको छ। साथै कम्युनिष्ट आन्दोलनमा ध्रुवीकरण र एकताको प्रक्रिया अघि बढाउन अन्य वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूसँग संवाद र सहकार्यलाई निरन्तरता दिने निर्णय गरेको छ।

महासचिव अशोक सुवेदी ‘विप्लव’द्वारा जारी विज्ञप्तिमा पार्टीको एकता राष्ट्रिय भेला ऐतिहासिक रूपमा सफल भएको उल्लेख गर्दै सहभागी नेता–कार्यकर्ता, शुभेच्छुक, सञ्चारकर्मी तथा सहयोगीहरूप्रति आभार व्यक्त गरिएको छ।

फाेटाेमा हेर्नुहाेस्...

समाजवादी कम्युनिष्ट पार्टी नेपालको एकता राष्ट्रिय भेला सम्पन्न, ५७ सदस्यीय केन्द्रीय समिति गठन

Comments