अमरको मरेको त्यो गीत ‘बसमा सरर ….’ यसरी जीवित भयो


असार ४, २०८३, बिहीबार | राति ०९:२८ बजे | 115


अमरको मरेको त्यो गीत ‘बसमा सरर ….’ यसरी जीवित भयो

करिब चार वर्षयता साहित्य तथा लेखनका क्षेत्रमा ज्यादै सक्रियता अपनाउने सर्जकको खोजी गर्ने हो भने अमर अधिकारी अर्थात् अमर कीर्तिमानी सायद एक नम्बरमा पर्छन्। उनको सन्देशमूलक यातायात गीत ‘बसमा सरर …’ असार ३ गते होटेल सोल्टीको सभा हलमा गुञ्जियो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रममा सो गीत प्रमुख अतिथि, अतिथिहरु, सरोकारवाला तथा दर्शकहरुका माझमा महासंघका नवनिर्वाचित अध्यक्ष सरोज सिटौला, गीतका रचनाकार अमर कीर्तिमानी तथा गायिका रितु कँडेलले दर्शकदीर्घातिर गीतको व्यानर देखाएर र साउण्ट युनिटबाट गीत बजाएर गीत सार्वजनिक गरिएको थियो। साढे आठ मिनेटभन्दा बढीको सो गीतमा चालक-सहचालक तथा यात्रुहरुले पालना गर्नुपर्ने कुराहरु समावेश छन्। सेवा रेकर्डिङ स्टुडियोले रेकर्डिङ गरेको सो गीतमा वरिष्ठ संगीतकार बुलु मुकारुङले संगीत भरेका छन् भने बुलु मुकारुङ, अमर कीर्तिमानी, अञ्जु गौतम, रितु कँडेल र विनोद दनुवारको स्वर रहेको छ। त्यस्तै म्युजिक एरेञ्जको काम सुशिल भट्टराईले गरेका छन्। यातायातका क्षेत्रमा बेथितिहरु ज्यादा भएको महसुस गरी करिब एक वर्षअघि अमरले सो गीत रचेका थिए र रेकर्डिङका लागि बग्गीखाना जाँदा बजेट अभाव भएको जनाउ दिएपछि उनी गृह मन्त्रालयमा पुगेका रहेछन्। गृह सचिवको तोकसहितको निवेदन र गीत सम्बन्धित महाशाखामा पुगेपछि महाशाखा प्रमुखले यातायात व्यवस्था विभागको क्षेत्राधिकारभित्र पर्ने भन्दै उक्त विभागमा जान भने। गीतका रचनाकार अमर जाँतो घुमे झैँ अर्को दिन पुगे यातायात विभागमा। यातायात व्यवस्था विभागमा पुगेर अमरले एकजना निर्देशकलाई गीत देखाएपछि “गीत उत्कृष्ट छ, रेकर्डिङ गराउन जरुरी छ” भनेपछि महानिर्देशकले गीत सहितको निवेदन तोक लगाइदिए पश्चात सम्बन्धित शाखामा पुग्यो सो गीत। सम्बन्धित शाखाका अधिकृतले पनि गीतका एकएक पंक्ति हल्का लयसहित पढेपछि “सम्पर्क गर्दै गर्नुस्” भनिएपछि अमर लागे आफ्नो गन्तव्यतर्फ। एक हप्तापछि गीतकार अमरले ती अधिकृतलाई “गीत रेकर्डिङको प्रक्रिया कहाँसम्म पुग्यो?” भनेर फोनमा सोध्दा “यसका लागि बजेट छुट्याउनुपर्छ, योजना बनाउनुपर्छ” भनेपछि केही हप्तापछि पुनः फोनमा सोध्दा प्रक्रिया अगाडि बढेको छैन भन्ने जानकारी भयो र अमर केही दिनपछि पुनः पुगे विभागमा। महानिर्देशकलाई गीत रेकर्डिङको प्रक्रिया अगाडि बढाइदिन अनुरोध गर्दा महानिर्देशकले “म पनि गीत लेख्छु, मेरा पनि केही गीतहरु छन्” भनेपछि अमर निराश भएर अन्तै मोडिए। २०८२ भदौ २३-२४ मा उर्लिएको जेन-जी विद्रोहका कारण कैयन सरकारी भवनहरु ध्वस्त हुँदा यातायात व्यवस्था विभाग पनि अछुतो रहेन र अमरको सो गीत टेबुलको घर्रा अर्थात् ड्रयरभित्र खरानी बन्न पुग्यो। यसरी अमरको त्यो मरेको गीत हालै मात्र रेकर्डिङ भएर अडियोको रुपमा सार्वजनिक भयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना) बाट सो गीत छायांकन पनि हुने कुरा भएको गीतकार अमरले बताएका छन्। करिब दुई वर्षअघि ‘बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र’ शीर्षकको अमरको एक लेख काठमाडौँबाट प्रकाशन भएपछि इलामदेखि डडेलधुरासम्मका तमाम सञ्चार माध्यमहरुले उक्त लेख साभार प्रकाशन गरेको पाइएको थियो। उनले साहित्य-लेखनका क्षेत्रमा एकपछि अर्को कीर्तिमान कायम गर्दै आएका छन्। उनी व्यङ्ग्य रचना मार्फत पनि देशमा व्याप्त विकृति, विसंगती तथा भ्रष्टाचारलाई चिरफार गर्दैआएका छन्। अमरका लेख-रचनाहरूमा देशभक्ति र प्रकृतिप्रेम अधिक देखिन्छ। बहुविषयमा लेखहरू लेख्ने र बहुविधामा साहित्य रचना गर्ने उनको अर्को विशेषता हो। तर उनको गुनासो छ- “राम्रो गर्न खोज्नेहरुका लागि यो देशमा मुस्किल छ।“

Comments