१२ औं विश्व योग दिवस दशरथ रंगशालामा मनाइने, व्यापक सहभागिताका लागि आह्वान


असार ४, २०८३, बिहीबार | राति ०९:१९ बजे | 100


१२ औं विश्व योग दिवस दशरथ रंगशालामा मनाइने, व्यापक सहभागिताका लागि आह्वान

नबराज काफ्ले

काठमाडौं, ४ असार

आगामी जुन २१, २०२६ (तद्अनुसार २०८३ असार ७ गते, आइतबार) का दिन 'स्वस्थ वृद्धावस्थाका लागि योग' भन्ने मूल नाराका साथ १२ औं विश्व योग दिवस भव्यताका साथ मनाइने भएको छ । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय,१२ औं विश्व योग दिवस मूल समारोह समितिको आयोजनामा त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्डहलमा बिहान ७:०० बजेदेखि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ। दिवसको तयारीका सन्दर्भमा बिहीबार (असार ४ गते) मन्त्रालय परिसरमा मूल समारोह समितिको तयारी बैठक सम्पन्न भएको छ। शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाको अध्यक्षतामा बसेको उक्त बैठकले कार्यक्रमको रुपरेखा तय गर्दै दिवसलाई राष्ट्रिय अभियानका रूपमा मनाउने निर्णय गरेको हो ।

बैठकका निर्णयहरूबारे जानकारी दिदै सहसचिव शिवकुमार सापकोटाले यस वर्षको विश्व योग दिवसमा विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT), विद्यालयहरू तथा विविध यौगिक संघ-संस्थाहरूको सक्रिय सहभागिता रहने बताउनुभयो। कार्यक्रममा विशिष्ट योग गुरुहरूको मार्गदर्शन, मन्तव्यका साथै विद्यार्थी तथा साधकहरूद्वारा विशेष यौगिक कला र आसनहरूको प्रदर्शनी समेत गरिने जानकारी उहाँले दिनुभयो। सहसचिव सापकोटाले योगप्रेमी, नागरिक समाज र सरोकारवाला सम्पूर्ण संघ-संस्थाहरूलाई ऐतिहासिक रूपमा यस दिवसमा जोडिन आह्वान गर्नुभएको छ । यसैबीच, योग ध्यान आरोग्य सञ्जाल नेपालका महासचिव नबराज काफ्लेले विश्व योग दिवसलाई उत्सवका रूपमा मनाउन यसमा आबद्ध संघ संस्थाहरू तयारीमा जुटेको बताउनुभएको छ। बैठकमा आफ्नो धारणा राख्दै महासचिव काफ्लेले सञ्जालसँग आबद्ध देशैभरिका योग, ध्यान र आरोग्य क्षेत्रका संस्थाहरूलाई आ-आफ्नो संस्थागत ब्यानरसहित त्रिपुरेश्वरस्थित कभर्डहलको मूल समारोहको कार्यक्रममा अनिवार्य एवं व्यापक रूपमा उपस्थित हुन विशेष अपिल गर्नुभयो। मानव स्वास्थ्य, मानसिक शान्ति र विशेष गरी ज्येष्ठ नागरिकहरूको स्वस्थ जीवनशैलीका लागि योगको भूमिका अतुलनीय रहने हुँदा यस वर्षको आदर्श वाक्यलाई सार्थक तुल्याउन सम्पूर्ण जनसमुदायमा उपस्थितिका लागि आयोजक समितिले आग्रह गरेको छ।

Comments