भक्तपुरमा ६० वर्षमाथिका तीनजनाद्धारा आत्महत्या
असार ३, २०८३, बुधबार | राति ०७:२६ बजे | 1900
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले २०८३ साल जेठ महिनाको कार्यसम्पादन विवरण सार्वजनिक गर्दा एउटा डरलाग्दो तथ्य सार्वजनिक भएको छ । आत्महत्या गर्नेहरुमध्ये कम उमेर समूहकाहरुको संख्या वढी देखिएको डरलाग्दो तथ्य सार्वजनिक भएको हो । प्रहरीको एकमहिने तथ्यांक अनुसार जिलामा जेठ महिनामा १४ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरिएको छ । जसमा ७ पुरुष र ७ महिला रहेका छन् ।
आत्महत्या गर्नेहरुमध्ये उमेरका हिसावले सवैभन्दा वढी संख्या १६ देखि २५ वर्ष उमेर समूहका छन् । यो समूहमा जेठ महिनामा आत्महत्या गर्नेहरु कुल १४ जनामध्ये सवैभन्दा वढी ६ जना रहेका छन् । यो उमेर समूहपछि यो महिनामा २६ देखि ३५ वर्ष उमेर समूहका एकजना पनि परेका छैनन् । त्यसपछि ३६ देखि ४५ वर्ष उमेर समूहका दुई जना, ४६ देखि ६० वर्ष उमेर समूहका तीनजना, ६० वर्ष माथि उमेरका तीनजनाले आत्महत्या गरेको तथ्यांक छ ।
सार्वजनिक विवरणअनुसार जेठ महिनामा जिल्लाभर १९४ वटा मुद्दा दर्ता भएका छन् भने ६९ वटा मुद्दा फछ्र्योट गरिएको छ । यस अवधिमा ११४ जना प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार जेठ महिनामा लागुऔषधका ७, कर्तव्य ज्यान १, जबरजस्ती करणी ६ र ज्यान मार्ने उद्योग २ गरी १६ वटा गम्भीर अपराधका मुद्दा दर्ता भएका छन् । आर्थिक अपराधतर्फ बैंकिङ कसुरका ८१ र ठगीका १८ गरी ९९ वटा मुद्दा दर्ता भएका छन् ।
प्रहरीले यस अवधिमा लागूऔषध सम्बन्धी ७ वटा मुद्दामा १४ जनालाई पक्राउ गरी ७.७५७ ग्राम खैरो हेरोइन, ३८ हजार ५ सय ट्याब्लेट ट्यापेन्टाडोल, २ हजार ७० ट्रामाडोल, ५ हजार ९ सय एन्टिकफ र २ हजार स्पास्पेन ट्याब्लेट बरामद गरेको जनाएको छ ।
सवारी दुर्घटनातर्फ ९९ वटा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । दुर्घटनाका मुख्य कारणमा लापरवाहीपूर्वक सवारी चलाउनु, मादक पदार्थ सेवन र चालकको ध्यान विचलित हुनु रहेको प्रहरीले जनाएको छ । यस्तै, ट्राफिक कारबाहीबाट ४ हजार ६९८ सवारी साधनलाई कारबाही गरी २९ लाख २० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।
महिला तथा बालबालिका सम्बन्धी अपराधतर्फ जबरजस्ती करणी ६, बाल यौन दुरुपयोग १, कर्तव्य ज्यान १, बहुविवाह १, जातीय छुवाछुत १ र साइबर अपराध १ गरी १५ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीले जेठ महिनाभर २४ विद्यालयमा १ हजार ६४७ विद्यार्थीलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको तथा समुदाय–प्रहरी साझेदारी अन्तर्गत १४४ कार्यक्रममार्फत ७ हजार ८२४ जनालाई सहभागी गराएको जनाएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा समुदायसँगको सहकार्यलाई प्राथमिकता दिएर काम भइरहेको बताए ।
