७ दिने नि:शुल्क योग प्रशिक्षण शुरु: स्वस्थ महानगर निर्माणमा योगको भुमिका अपरिहार्य
असार २, २०८३, मङ्गलबार | साँझ ०४:२३ बजे | 95
काठमाडौं, असार २
मानव चेतनाको उज्यालो र स्वस्थ जीवनको आधार स्तम्भ मानिएको योग विद्यालाई जनस्तरसम्म पुर्याउने दृढ संकल्पका साथ काठमाडौंको भुरुङखेलमा ‘पातञ्जल योगजागरण अभियान ’ को भव्य शुभारम्भ गरिएको छ । आगामी जुन २१, २०२६ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा काठमाडौं महानगरपालिका वडा नं. १८ को कार्यालयको मुख्य आयोजनामा यो गौरवमय ७ दिने निःशुल्क योग प्रशिक्षण शिविर सुरु भएको हो । यस पवित्र अभियानलाई वैज्ञानिक र व्यावहारिक ढंगले जनमानसमा पस्कनका लागि पातञ्जल योग समिति नेपाल, जिल्ला शाखा काठमाडौंले प्राविधिक सहयोग गरेको छ भने स्थानीय तहमा यसको व्यवस्थापकीय सन्तुलन मिलाउन आयाम नेपालले सहकार्यको भूमिका निभाएको छ । शारीरिक तन्दुरुस्ती, मानसिक शान्ति र आध्यात्मिक चेतनाको त्रिवेणी मानिने पातञ्जल योगको यो विशेष शिविरमा स्थानीय जनप्रतिनिधि, प्रबुद्ध वडाबासी तथा विभिन्न क्षेत्रका सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको स्वतःस्फूर्त र उत्साहजनक सहभागिता रहेको छ । कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै काठमाडौं महानगरपालिका वडा नं. १८ का जनप्रतिनिधि रचना शर्माले योगको सामाजिक र व्यावहारिक महत्त्वमाथि प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो:- "आधुनिकताको दौडमा मानिसले आफ्नो स्वास्थ्य गुमाउँदै गइरहेको वर्तमान अवस्थामा वडाबासीलाई निरोगी, ऊर्जावान् र तनावमुक्त बनाउन वडा कार्यालयले यो पातञ्जल योगजागरण अभियानको सारथि बन्ने निर्णय गरेको हो । स्वस्थ नागरिक नै समृद्ध समाजको मेरुदण्ड हुन् र यसका लागि योग जीवनको अनिवार्य हिस्सा बन्नुपर्छ ।" उद्घाटन सत्रमा पातञ्जल योग समिति नेपालका शीर्ष नेतृत्व तथा विषयगत विभागका प्रमुखहरूले योगको गहिराइ, यसको संगठनात्मक विस्तार र मानव कल्याणमा यसको अपरिहार्यता बारे आ-आफ्नो विषयगत जिम्मेवारी अनुसार मार्गदर्शक मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै पातन्जल याेग समिति नेपालका संरक्षक बालमुकुन्द सुवालले योग केवल भौतिक कसरत नभई महर्षि पतञ्जलिद्वारा प्रतिपादित आत्मजागरण र जीवन जिउने पूर्ण विज्ञान भएको दर्शन प्रस्तुत गर्नुभयो । उहाँले समाजका विकृति र रोगहरूलाई जरैदेखि उखेल्न घर-घरमा पातञ्जल योगको दियो बाल्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरि पातन्जल योग समिति नेपालका राष्ट्रिय अध्यक्ष सुदर्शन सुवेदीले पातञ्जल योग समिति नेपालले राष्ट्रव्यापी रूपमा चलाएको योग जागरण अभियानमा काठमाडौं महानगरको १८ नं. वडाले देखाएको अग्रसरता देशकै लागि प्रेरणाको स्रोत बनेको उल्लेख गर्नुभयो । पातन्जल योग समिति नेपालका महासचिव एवं संगठन विभाग प्रमुख नबराज काफ्लेले योग अभियानलाई संस्थागत गर्दै देशका प्रत्येक टोल, गल्ली र विद्यालयसम्म पुर्याएरै छाड्ने पातञ्जल समितिको दृढ सांगठनिक संकल्प रहेको प्रष्ट पार्नुभयो । पातन्जल योग समिति नेपालका केन्द्रीय सचिवालय सदस्य एवम प्रशिक्षण विभाग प्रमुख सुर्वणलाल चित्रकारले ७ दिनको अवधिमा सहभागीहरूलाई प्राणायाम (स्वासको विज्ञान), विभिन्न रोग प्रतिरोधात्मक आसन र ध्यानका सरल एवं प्रभावकारी विधिहरू सिकाइने जानकारी दिनुभयो । उहाँले योगलाई हलुका रूपमा नलिन र अनुशासनपूर्वक जीवनमा उतार्न आग्रह गर्नुभयो । पातन्जल योग समिति नेपाल,केन्द्रीय सचिवालय सदस्य तथा सूचना, सञ्चार एवं प्रकाशन विभाग प्रमुख युक्त गिरिले सञ्चारको महत्त्वमाथि प्रकाश पार्दै योगका अमूल्य सूत्रहरूलाई आधुनिक प्रविधि र सञ्चार माध्यमको उच्चतम प्रयोग गरी विश्वव्यापी रूपमा प्रचार-प्रसार गरिनुपर्ने र यस अभियानको सूचनालाई प्रत्येक नागरिकको पहुँचमा पुर्याइने बताउनुभयो । पातन्जल योग समिति नेपाल,कोशी प्रदेश अध्यक्ष केदार रिजालले योग चेतना अब भूगोलको सीमामा मात्र सीमित नरही संघीय ढाँचा अनुरूप केन्द्रदेखि प्रदेश र स्थानीय निकायसम्म एउटा महाअभियानका रूपमा फैलिरहेको दाबी गर्नुभयो । पातन्जल योग समिति नेपालका केन्द्रीय सदस्य एवम काठमाडौ जिल्ला शाखा अध्यक्ष अम्बिका खड्गीले काठमाडौं जिल्ला शाखा यो ७ दिने शिविरलाई पूर्ण रूपमा परिणाममुखी बनाउन र सहभागीहरूलाई योग्य साधक बनाउन आफ्ना दक्ष प्रशिक्षकहरू सहित आफू पुर्ण समर्पित भई खटिने प्रतिबद्धता जनाउनुभयो । अन्तर्राष्ट्रिय योग दिवसको मूल मर्मलाई आत्मसात गर्दै सुरु भएको यस ‘पातञ्जल योगजागरण अभियान’ ले भुरुङखेल क्षेत्रमा एउटा सकारात्मक ऊर्जाको सञ्चार गराएको छ । आयोजक वडा कार्यालयको अभिभावकत्व, पातञ्जल समितिको प्राविधिक कुशलता र आयाम नेपालको सहकार्यले यो शिविर केवल ७ दिनको औपचारिकतामा मात्र सीमित नभई स्थानीय स्तरमा स्वस्थ, सन्तुलित र सभ्य समाज निर्माणको प्रस्थानविन्दु बन्ने विश्वास आम सहभागीहरूले गरेका छन् । शिविर आगामी ६ दिनसम्म हरेक बिहान निरन्तर निःशुल्क रूपमा सञ्चालन हुनेछ ।
