चित्तपोलका पूर्वाधार विकासमा समस्या
जेठ २८, २०८३, बिहीबार | राति ०९:३१ बजे | 90
भक्तपुर, २८ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तपोलका वडा अध्यक्ष शिवराम राउतले आफ्नो वडामा १७ करोड बराबरको ६८ वटा योजनाहरु सञ्चालन भइरहेको बताउनुभएको छ ।
सूर्यविनायक नगरपालिकाको समन्वय एवं सहयोगमा क्रियासिल पत्रकार मञ्च भक्तपुरको आयोजनामा बिहिबार वडा कार्यालयको हलमा आयोजना गरेको ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
वडा अध्यक्ष राउतले भन्नुभयो, ‘वडामा १७ करोड बराबरको ६८ वटा योजनाहरु सञ्चालन भइरहेको छ, संघ र प्रदेशबाट आठ करोड रकमको पूर्वाधार विकासका कार्यहरु भइरहेको छ । पछिल्लो समय अमेरिका–इरान युद्धका कारण बिटुमिन लगायतका सामग्री अभावका कारण पूर्वाधार विकासमा केहि समस्या उत्पन्न भइरहेको छ । त्यसबाहेकका कार्यहरुमा जनताको माग, चाहना र आवश्यकताका आधारमा गरिरहेका छौं ।’
चुनावमा जनतासंग गरेको प्रतिबद्धता पुरा गरेको बताउदै उहाँले जनताको भरोसा टुट्न नदिने बताउनुभयो । उहाँले वडा कार्यालयमा जनताको लागि ढोका जहिले पनि खुला रहेको बताउदै विकासमा जनताको सहयोग अनिवार्य रहेको बताउनुभयो ।
नगरपालिका सुशासनमा कटिबद्ध रहेको बताउदै वडा अध्यक्ष राउतले भन्नुभयो, ‘जनताप्रति समर्पित भएर नै काम गर्दा सूर्यविनायक नगरपालिकामा १.०२ प्रतिशतमात्र बेरुजु देखिएको छ । उपत्यकाकै कम बेरुजु भएको नगरपालिका बनेको छ । देशकै १९सौं नम्बरमा सुशासनका पक्षमा काम गर्ने नगरपालिका बनेकोछ । तसर्थः आफु सादा जीवन उच्च विचारका साथ जनताको सेवामा समर्पित भएको छु । आफ्नो घरव्यवहार चलाउन पुर्खेउली सम्पत्ति पाँच–सात रोपनी जग्गा रहेको छ । त्यसलाई भाडामा दिएको छु । अनि छोरी क्यानडामा छिन्, उनको कमाइले आफ्नो जीवनयापनमा सहज बनेको छ ।’
उहाँले रेडक्रस सोसाईटीले चालक पाल्न गाह्रो भएको र मर्मत गर्न नसक्ने अबस्था भएको भन्दै एम्बुलेन्स चलाउने चासो नदिदाँ वडामा एम्बुलेन्स चलाउन समस्या आएको बताउदै उहाँले नगरपालिकाबाट एम्बुलेन्स सञ्चालनका लागि पहल गरिने बताउनुभयो ।
वडाका योजनाहरुको सूचना पार्टी अनिवार्य रहेको उल्लेख गर्दै उहाँले महिला लक्षित कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक बजेट व्यवस्थापन गर्ने, मेलमिलापकर्ताको समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा वडा सचिव कुमार राउतले राजनीतिक, प्रसाशनिक, विपद व्यवस्थापन तथा पूर्वाधार विकासको बारेमा नगर कार्यपालिका तथा वडागत रुपमा सञ्चालन भएका योजनाहरुको बारेमा जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘१६ वटा वडास्तरीय योजनाहरु सडक, शिक्षा, चौतारी, पार्क, बगौचालगायतका कार्यहरुमा रु एक करोड ३० लाख बजेट विनियोजन भएको थियो । जसमा १५ वटा सम्पन्न भइसकेका छन् । एउटामात्र बाँकी छ । कृषी, महिला, जेष्ठ नागरिक, एकल महिला, दलित, रोजगारमूलक कार्यक्रम, वालवालिका, युवा तथा खेलकुद, स्वास्थ्य, सरसफाई, सिकाई, अपाङ्गता लगायतका सामाजिक कार्यहरुको लागि ३० लाख बजेट विनियोजन गरिएको थियो । जसमा १२ वटा कार्य छनोट गरिएको थियो । त्यसमा आठवटा सम्पन्न भइसकेका छन् भने चारवटा बाँकी रहेका छन् ।’
कार्यक्रममा सहभागीहरुले जनप्रतिनिधिको जीवनशैली, सूचना पाटी, एम्बुलेन्स, रोजगारमुलक तालिम, सडक, मेलमिलापकर्तालाई बजेट व्यवस्थापन लगायतका विषयहरुमा प्रश्न तथा सुझावहरु राखेका थिए ।
जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन गर्ने लक्ष्यका साथ आयोजित वडास्तरीय सार्वजनिक सुनुवाईमा सार्वजनिक सेवा प्रवाहको साथै भौतिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा पर्यावरणीय विकासको बारेमा व्यापक छलफल तथा आगामी योजनाको बारेमा विस्तृतमा छलफल गरिएको थियो ।
कार्यक्रममा रास्वपाका वडा सभापति जनकराज कार्कीले स्थानीय विश्व कार्की, सजना कार्की, राजकुमार कार्कीले शुसासन र पारदर्शिता आवश्यक रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरकार्यपालिका सदस्य शर्मिला लम्साल बस्नेतले शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रममा वडा सदस्य ताराबहादुर विष्ट, विदुर देउजा, राधिका मिजारलगायतको उपस्थिती रहेको थियो ।
.jpg)