पातन्जल योगी दम्पतीले स्वर्ण पदक सहित नेपाललाई दिलाए गौरव- विश्व योग च्याम्पियनसिपमा ४ पदक
जेठ २८, २०८३, बिहीबार | साँझ ०६:३५ बजे | 335
नबराज काफ्ले
भारत,अहमदावाद
एउटै घरबाट निस्किएका दुई साधकले विश्वको सर्वोच्च योग प्रतिस्पर्धामा नेपालको झन्डा फहराए । भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न ऐतिहासिक प्रथम विश्व योग च्याम्पियनसिपमा पातन्जल योग समिति नेपालकी सल्लाहकार दुर्गा पन्तले १ स्वर्ण, १ रजत र १ कास्य गरि ३ पदक जित्दै नेपालको नाम विश्वसामु सुनौलो अक्षरमा अंकित गरिन् । उनका श्रीमान, सोही संस्थाका सल्लाहकार तारानिधी पन्तले पनि कास्य पदक हात पार्दै दम्पतीको यो सफलतालाई अझ विशेष बनाए । ७९ राष्ट्रका खेलाडी सहभागी रहेको यस महाप्रतियोगितामा नेपालले कुल १ स्वर्ण, ५९ रजत र २१ कास्य सहित ८१ पदक आर्जन गर्यो । पदक संख्याका आधारमा नेपाल दोस्रो स्थानमा र स्वर्ण पदकका आधारमा पाँचौं स्थानमा रह्यो । उल्लेखनीय कुरा यो छ कि प्रतियोगितामा भाग लिएका ७९ मध्ये केवल १० राष्ट्रले मात्र स्वर्ण पदक जित्न सफल भए । आयोजक भारत १०२ स्वर्णसहित अव्वल रह्यो भने जापान,अर्जेन्टिना र सिंगापुर क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहे । नेपाल पछि उज्बेकिस्तान, जाम्बिया, इन्डोनेसिया,अमेरिका र रसिया शीर्ष दशमा परे । दुर्गा र तारानिधी पन्त-यी दम्पती केवल जीवनसाथी मात्र होइनन्, योगको पथमा सँगसँगै हिँडिरहेका साधक हुन । पातन्जल योग समिति नेपालमा आबद्ध रहँदै दुवैजना वर्षौंदेखि सांगठनिक रूपमा योग प्रवर्द्धन र विस्तारमा समर्पित छन् । एकै परिवारका श्रीमान र श्रीमतीले विश्व च्याम्पियनसिपमा पदक जित्नु-यो संयोग सामान्य होइन, यो प्रेरणा हो; कि योग कुनै एक जनाको होइन, यो प्रत्येक घरको, प्रत्येक व्यक्तिको हुनुपर्छ । पातन्जल योग समिति नेपालका संरक्षक बालमुकुन्द सुवालले यस उपलब्धि प्रति हार्दिक प्रसन्नता व्यक्त गर्दै भने- "दुर्गा पन्त र तारानिधी पन्त दम्पतीले विश्वमञ्चमा जुन साहस र समर्पणका साथ नेपालको प्रतिनिधित्व गर्नुभयो, त्यो हाम्रो संस्थाका लागि मात्र होइन, सम्पूर्ण नेपाली योग परिवारका लागि गर्वको क्षण हो ।प्रतियोगितामा सहभागी नेपालका सबै योग खेलाडीले जुन अदम्य मनोबल र तपस्याका साथ यो महाप्रतियोगितामा भाग लिई नेपाललाई विश्वसामु चिनाउनुभयो, त्यो नेपाली योगको नयाँ उषाकाल हो । पातन्जल योग समिति नेपाल सम्पूर्ण खेलाडीप्रति कृतज्ञ छ।" पातन्जल योग समिति नेपालका राष्ट्रिय अध्यक्ष सुदर्शन सुवेदीले भने-"यो उपलब्धि प्रमाण हो कि सीमित साधन र असीमित संकल्प भए नेपाली योगीले विश्वलाई जित्न सक्छन् । दुर्गाजी र तारानिधीजीको दम्पतीले प्राप्त गरेको पदकले हरेक नेपाली घरमा योगको बीउ रोप्ने प्रेरणा दिएको छ । साथै, यस प्रतियोगितामा सहभागी हुनुभएका नेपालका सम्पूर्ण योग खेलाडीहरूलाई पातन्जल योग समिति नेपालको तर्फबाट हार्दिक धन्यवाद तथा अभिनन्दन । तपाईंहरूको अविरल प्रयास र प्रयत्नले नेपाललाई विश्वमञ्चमा उचाल्यो-यो राष्ट्रका लागि सदा स्मरणीय योगदान हो ।" सीमित स्रोत–साधन र स्वयंसेवी अभ्यासकै बलमा यो उचाइ हासिल गर्नु झनै सराहनीय छ । वागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रादेशिक योग समितिका विज्ञ सदस्य नबराज काफ्लेका अनुसार दुर्गा पन्तको स्वर्ण पदक नेपाली योग खेलकुद इतिहासमा स्मरणीय अध्याय बनेको छ । उनले भने-"योगलाई नेपालको प्राचीन ज्ञान, संस्कृति र तपस्यासँग जोडिएको विरासत मानेर राज्यले खेलाडी प्रोत्साहन, प्रशिक्षण पूर्वाधार र अन्तर्राष्ट्रिय सहभागितामा विशेष लगानी गर्नुपर्ने बेला आएको छ ।" प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै विदेशको भूमिमा उभिएर देखाउनुभएको साहस, लगन र योग साधनाले नेपाललाई विश्वसामु गर्विलो बनाएको छ । यो पदक केवल धातुको टुक्रा होइन- यो नेपाली माटो, नेपाली परम्परा र नेपाली योग ज्ञानको विश्वव्यापी पहिचान भएको योग ध्यान आरोग्य सन्जाल नेपालका महासचिव समेत रहेका काफ्ले बताउछ्न । दुर्गा र तारानिधी पन्तको यो उपलब्धिले नेपाली योग जगत् लाई एउटा सन्देश दिएको छ- साधना, अनुशासन र संकल्प भए सीमित साधन पनि स्वर्णमा बदलिन्छ । यो योगी दम्पतीको सफलता नेपालको हरेक घर, हरेक आँगन र हरेक व्यक्तिलाई योगको बाटोमा हिँड्न उत्प्रेरित गर्ने दीपशिखा बनोस् — यही शुभकामना र विशेष सम्मानसहित सम्पूर्ण योग समुदाय/संस्थाले यस दम्पतीलाई र प्रतियोगितामा सहभागी सबै खेलाडीलाई हृदयदेखि अभिनन्दन गरेको छ ।
फाेटाेमा हेर्नुहाेस्...
