मिलीजुली महिला सहकारीको २४ औं वार्षिकोत्सवमा ३६ जनाबाट रक्तदान-मानवीय सेवाको अनुकरणीय नजिर
जेठ २७, २०८३, बुधबार | राति ०९:५१ बजे | 105
नबराज काफ्ले
चाँगुनारायण, जेष्ठ २७
"रगत दिनु-जीवन बचाउनु" भन्ने उदार भावनाले प्रेरित भई बुधबार चाँगुनारायण नगरपालिका वडा नं. २, दुवाकोटस्थित मंगलबजार चोकमा एक खुल्ला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । उक्त कार्यक्रम स्थानीय मिलीजुली महिला तथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं स्थापना दिवसको अवसरमा आयोजित थियो ।
नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ३६ जना स्वयंसेवी रक्तदाताहरूले ३६ पाउण्ड रगत दान गरेको आयोजक संस्थाकी सदस्य चन्दा खत्रीले जानकारी गराईन । कार्यक्रमको शुभारम्भमा संस्थाकी कार्यालय प्रमुख इन्दिरा बुढाथोकीले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित रक्तदाताहरू,विशिष्ट अतिथिहरू एवं सम्पूर्ण सहभागीहरूलाई हार्दिक स्वागत गरिन् र यस मानवीय अभियानमा सहभागी हुनुभएकोमा कृतज्ञता व्यक्त गरिन् । कार्यक्रमको अध्यक्षता गर्नुभएकी संस्थाकी अध्यक्ष पार्वती खत्रीले धन्यवाद ज्ञापन मन्तव्यमा-संस्थाको स्थापना दिवसलाई केवल उत्सवको रूपमा नमनाई रक्तदान जस्तो पुण्य कार्यमार्फत् समाजप्रतिको दायित्व निर्वाह गर्न पाउँदा संस्था गौरवान्वित भएको उल्लेख गरिन । साथै अध्यक्ष खत्रीले रक्तदान गर्नुभएका सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखा, विशिष्ट अतिथिहरू एवं सम्पूर्ण शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद समेत प्रकट गरेकी थिईन । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्का,भक्तपुर रक्तसंचार संयोजक एवं वडा नं. २ का वडाअध्यक्ष सोम प्रसाद प्रधान, गैसस महासंघ भक्तपुरकी अध्यक्ष अनिता पाण्डे, पूर्व वडाअध्यक्ष शिवहरि केसी, जनप्रतिनिधिहरू उमेश प्रधान र प्रेम खत्री, नेपाल रेडक्रस सोसाइटी चाँगुनारायण शाखाकी संयोजक मन्दिरा कार्की तथा नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाका सल्लाहकार नबराज काफ्ले लगायत विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रह्यो । उपस्थित विशिष्ट अतिथिहरूले रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मानित गर्दै मानवीय सेवाप्रति आफ्नो गहिरो कृतज्ञता व्यक्त गरे । वक्ताहरूले "रक्तदान महादान"को मर्मलाई आत्मसात् गर्दै प्रत्येक स्वस्थ व्यक्तिले ३-३ महिनामा रगत दान गर्न सक्ने र यो रगत शरीरबाट स्वतः खेर जाने भएकाले यसलाई परोपकारमा सदुपयोग गर्नु नै सर्वोत्तम मानवसेवा भएको धारणा प्रस्तुत गरे। वक्ताहरूले रक्त तत्वको बढ्दो माग पूरा गर्न सरकारी निकाय, गैरसरकारी संघसंस्था र स्थानीय सामाजिक अगुवाहरूको समन्वित एवं सक्रिय भूमिका अपरिहार्य रहेको कुरामा विशेष जोड दिए । एक महिला नेतृत्वको सहकारी संस्थाले आफ्नो वार्षिकोत्सवलाई उत्सवको गीत-गानमा मात्र सीमित नराखी रक्तदानजस्तो जीवनरक्षक अभियानमार्फत् मनाउनु सामाजिक उत्तरदायित्वको एक उत्कृष्ट र अनुकरणीय उदाहरण बनेको छ । यस कार्यले भक्तपुर जिल्लामा रक्तदानप्रतिको सामुदायिक चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको कार्यक्रममा सहभागीहरूको विश्लेषण रहेको छ ।
फाेटाेमा हेर्नुहाेस्...
