सेवामा अवरोध नगर्न गेटा आँखा अस्पतालको आग्रह
जेठ २८, २०८३, बिहीबार | साँझ ०५:२९ बजे | 85
धनगढी, कैलाली । गेटा आँखा अस्पतालले पछिल्लो समय स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अस्पतालका विषयमा एकपक्षीय सूचना सम्प्रेषण भइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अस्पतालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत अस्पतालमा भएका घटनाको वास्तविकता सार्वजनिक गर्दै अस्पतालका कर्मचारी, सेवाग्राही, स्थानीय समुदाय, सहयोगी संस्था, दातृ निकाय तथा सञ्चारकर्मीलाई जानकारी गराएको हो।
विज्ञप्तिअनुसार सन् १९८१ मा स्थापना भएको गेटा आँखा अस्पताल नेपाल नेत्रज्योति संघको मातहतमा सञ्चालन हुँदै आएको छ। अस्पतालले हाल सुदूरपश्चिम प्रदेशमा तीन वटा सेकेण्डरी आँखा अस्पताल र २६ वटा आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको जनाएको छ। प्रदेशका नौवटै जिल्लामा आँखा उपचार सेवा विस्तार गरिसकेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार आँखा परीक्षण गराउन आउने बिरामीमध्ये करिब ३५ प्रतिशत तथा शल्यक्रिया गराउने बिरामीमध्ये करिब ५५ प्रतिशत भारतीय नागरिक रहेका छन्। आर्थिक वर्ष २०८१/८२ मा अस्पताल र मातहतका संस्थाबाट दुई लाख ७९ हजार ८३३ जनालाई आँखा उपचार सेवा प्रदान गरिएको र २२ हजार १५२ जनाको शल्यक्रिया गरिएको उल्लेख गरिएको छ।
स्थापनाकालदेखि २०८२ फागुनसम्म अस्पताल तथा मातहतका केन्द्रहरूले ५५ लाख ८७ हजारभन्दा बढी बिरामीलाई सेवा प्रदान गरेको र सात लाख ३४ हजारभन्दा बढीको मोतियाबिन्दु लगायत आँखासम्बन्धी शल्यक्रिया गरिएको अस्पतालको दाबी छ।
अस्पतालले हाल करिब एक दर्जन नेत्र विशेषज्ञसहित १८० जना कर्मचारी कार्यरत रहेको तथा आँखा उपचारसँग सम्बन्धित अधिकांश उपविशेषज्ञ सेवा उपलब्ध रहेको जनाएको छ। अस्पतालमा डिप्लोमा इन अफ्थाल्मिक साइन्समा ७९ जना र स्नातकोत्तर तहमा तीन जना चिकित्सक अध्ययनरत रहेको विज्ञप्तिमा उल्लेख छ।
यसैबीच, आर्थिक वर्ष २०८२/८३ मा सरकारले उपलब्ध गराएको मासिक तीन हजार रुपैयाँ महँगी भत्ता उपलब्ध नगराइएको विषयलाई लिएर केही कर्मचारीले गत जेठ ४ गते पूर्वसूचना र स्वीकृतिबिना अस्पतालका सेवा अवरुद्ध पारेको अस्पताल प्रशासनको आरोप छ। सो क्रममा अस्पताल प्रमुख र वरिष्ठ प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको तथा वरिष्ठ अधिकारीमाथि अमर्यादित व्यवहार भएको दाबी गरिएको छ।
नेपाल नेत्रज्योति संघको केन्द्रीय कार्यालयबाट माग सम्बोधन भएको जानकारीपछि जेठ ७ गते तालाबन्दी खोलिएको र सेवा पुनः सञ्चालनमा आएको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार तालाबन्दीका क्रममा कर्मचारी आचारसंहिताविपरीत गतिविधि भएको ठहर गर्दै स्पष्टीकरण मागिएको थियो। त्यसपछि केही कर्मचारी र आफूलाई स्थानीय बताउने समूहले अस्पताल प्रशासनमाथि दबाब सिर्जना गरेको, घेराउ तथा अभद्र व्यवहार गरेको आरोप पनि विज्ञप्तिमा उल्लेख छ।
अस्पतालले कर्मचारीले माग गरेको महँगी भत्ता यही महिनाको पारिश्रमिकसँगै उपलब्ध गराउने निर्णय भइसकेको जनाएको छ। साथै संगठन तथा व्यवस्थापनसम्बन्धी बाँकी विषय व्यवस्थापन समितिले रायसहित केन्द्रमा पठाउने र स्वीकृत दरबन्दीअनुसार पदपूर्ति तथा बढुवा प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।
अस्पतालले आफ्नो सम्पूर्ण सेवा नियमित र अवरोधरहित रूपमा सञ्चालन भइरहेको स्पष्ट पार्दै संस्थामा कुनै अनियमितता नभएको तथा सबै प्रशासनिक कार्य नेपाल नेत्रज्योति संघको प्रशासकीय कार्यसञ्चालन नियमावली–२०८० अनुसार निष्पक्ष र पारदर्शी ढंगले भइरहेको दाबी गरेको छ।
फाेटाेमा हेर्नुहाेस्...
.jpg)