अपाङ्गता भएका व्यक्तिहरूलाई उद्यमशीलता विकास तालिम
जेठ २८, २०८३, बिहीबार | राति ०९:१० बजे | 65
केके मानन्धर
अपाङ्गता भएका व्यक्तिहरू तथा तिनका परिवारहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि समुदायमा आधारित पुनर्स्थापना (सि.बि.आर.) कार्यक्रम अन्तर्गत उद्यमशीलता विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
मध्यपुर थिमि नगरपालिकाको महिला, बालबालिका तथा सामाजिक समावेशीकरण शाखाको सहयोग तथा एस. एम. अभिभावक संघ, भक्तपुरको आयोजनामा जेठ २४ देखि २८ गतेसम्म सञ्चालन गरिएको कार्यक्रममा अपाङ्गता भएका व्यक्ति तथा तिनका परिवारका सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममार्फत सहभागीहरूलाई उद्यमशीलता विकास, स्वरोजगारका अवसर, साना व्यवसाय सञ्चालन तथा आयआर्जनका सम्भावनाबारे अभिमुखीकरण प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बन्न र आर्थिक गतिविधिमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्ने विश्वास लिइएको छ।
यसै अवसरमा समुदायमा आधारित पुनःस्थापना (CBR) कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको ‘ह्यान्डवास, भाँडा साबुन, लुगा धुने साबुन तथा फिनेल बनाउने ७ दिने सीपमूलक तालिम’ सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। तालिममा सहभागीहरूले उत्पादनमूलक सीप हासिल गरी स्वरोजगारका अवसर सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ।
समापन कार्यक्रममा प्रशिक्षक सुमिना मानन्धर तथा राजेश्वरी शिल्पकार, सहप्रशिक्षक रेणु श्रेष्ठ, एस. एम. अभिभावक संघकी अध्यक्ष नानीछोरी बाडे, बाबुरत्न रंजित र मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास र सामाजिक समावेशीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
फाेटाेमा हेर्नुहाेस्...
