बजेट तर्जुमाका लागि युवासँंग सुझाब संकलनः के भने युवाले ?
जेठ २८, २०८३, बिहीबार | साँझ ०४:४९ बजे | 75
भक्तपुर, जेठ २८ । आगामी आर्थिक वर्षको बजेट तथा नीति–कार्यक्रम तर्जुमाका लागि भक्तपुर नगरपालिकाले आज युवा, विद्यार्थी, टीम क्लब तथा वाचनालयहरुसँग राय–सुझाव संकलन ग¥यो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले आगामी बजेट, नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन युवा तथा विद्यार्थीहरूबाट प्राप्त सुझावलाई प्राथमिकताका साथ समावेश गरिने बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्था सञ्चालन गर्दै भक्तपुरमै उच्च शिक्षा अध्ययन गर्ने अवसर उपलब्ध गराउँदै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले युवाहरूलाई शिक्षासँगै सीपमूलक तालिम सञ्चालन गर्नुका साथै कम्प्युटर, चिनियाँ तथा जापानी भाषा, एआई प्रयोगसम्बन्धी तालिम र युवा उद्यमशीलता ऋणमार्फत युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउन प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले वडा–वडामा आदर निकेतन स्थापना गर्नुपर्ने, कमलपोखरीको हिलो निकालेर सफा गर्नुपर्ने तथा दक्षिणपट्टिको पानी चुहिने समस्या समाधान गर्नुपर्ने, सुनध्वाका क्षेत्र सफा गरी मर्मत गर्नुपर्ने, टौमढी क्षेत्रमा ढुंगा छपाइ गर्नुपर्ने, मुख्य सडकका दायाँ–बायाँ वृक्षारोपण गर्नुपर्ने, गुणस्तरीय शिक्षाका लागि सूचना प्रविधिको विस्तार गर्नुपर्ने, रोजगारमुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने, प्रत्येक वडामा इनडोर हल तथा खेलमैदान निर्माण गर्नुपर्ने, नागपोखरीमा पर्खाल निर्माण तथा मर्मत गर्नुपर्ने, थालाछेँ क्षेत्रमा पुस्तकालय स्थापना गर्नुपर्ने, बेरोजगार युवालाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने, बालबालिकाका लागि सञ्चालन भइरहेको गृहकार्य कक्षा प्रभावकारी भएकाले थप २ जना शिक्षकको व्यवस्था गर्नुपर्ने, वाचनालयमा अद्यावधिक पुस्तकहरू उपलब्ध गराउनुपर्ने, वाचनालय तथा पुस्तकालयको जनशक्ति व्यवस्थापनका लागि बजेट तथा अनुदानको व्यवस्था गर्नुपर्ने, लिपी कक्षालाई निरन्तरता दिनुपर्ने, युवालक्षित कार्यक्रममा स्थानीय युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने, नयाँ आवास क्षेत्रमा पनि स्थानीय मौलिकता झल्किने संरचना निर्माण गर्नुपर्ने राय प्रस्तुत गरेका थिए ।
त्यस्तै पुस्तकालयलाई केवल अध्ययनस्थल मात्र नभई उपयोगी ज्ञान र सीप विकासको केन्द्र बनाउनुपर्ने, सार्वजनिक शौचालयको अभाव भएकाले आवश्यक स्थानमा निर्माण गर्नुपर्ने, धुँवा उत्सर्जन गर्ने कलकारखानाहरूलाई आवास क्षेत्रबाट टाढा स्थानान्तरण गर्नुपर्ने, प्लानिङ करिडोर क्षेत्रमा वृक्षारोपण गर्नुपर्ने, स्विमिङ पुल निर्माण गर्नुपर्ने, नयाँ आवास क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्नुपर्ने, जग्गा अभाव भएका राम्रा सामुदायिक विद्यालयलाई सहयोग गर्नुपर्ने, रानी पुखुमा शौचालय तथा पार्किङको व्यवस्था गर्नुपर्ने, सिद्धपोखरीको उत्तरतर्फ रहेको खेलमैदान स्थानीयको पहुँचमा ल्याउनुपर्ने, बालबोध शान्ति विद्यालय पुनःनिर्माणका लागि बजेट व्यवस्थापन गर्नुपर्ने, ख्वप अस्पतालमा भीड व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने, स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने प्लेटफर्म उपलब्ध गराउनुपर्ने, महेश्वरी खेलमैदानको स्तरोन्नति गर्नुपर्नेलगायतका सुझावहरु युवा विद्यार्थीले दिएका थिए ।
फाेटाेमा हेर्नुहाेस्...
