संसदमा जारी अवरोध कुनै व्यक्ति वा दलविरुद्ध नभई राष्ट्रहितको पक्षमा : ऐन महर
जेठ २४, २०८३, आइतबार | राति ०८:१८ बजे | 50
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीको हालैको अभिव्यक्ति राष्ट्रहित, राष्ट्रिय स्वतन्त्रता तथा भौगोलिक अखण्डताविपरीत रहेको भन्दै त्यसको विरोधमा प्रतिपक्षी दलहरूले संसदमा अवरोध जारी राखेको बताएका छन्। रफ्त सञ्चार क्लबले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै प्रमुख सचेतक महरले संसद जस्तो गरिमामय संस्थाको रोस्ट्रमबाट राष्ट्रिय हितविपरीत हुने अभिव्यक्ति दिनु उचित नभएको बताए। उनले प्रधानमन्त्रीको भनाइले राष्ट्रिय संवेदनशीलता र कूटनीतिक मर्यादामाथि प्रश्न उठाएको दाबी गर्दै त्यसप्रति सरकार गम्भीर हुनुपर्ने धारणा राखे। उनले संसदमा जारी अवरोध कुनै व्यक्ति वा दलविरुद्ध नभई राष्ट्रहितको पक्षमा भएको स्पष्ट पारे। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति स्पष्ट धारणा सार्वजनिक नगरेसम्म प्रतिपक्षी दलहरूको विरोध कायम रहने संकेत पनि उनले गरे। महरले वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रिय एकता, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर सरकार अघि बढ्नुपर्ने बताए। सत्ता पक्षले राष्ट्रिय हितसँग जोडिएका विषयमा जिम्मेवार र संयमित अभिव्यक्ति दिनुपर्ने उनको भनाइ थियो। फरक प्रसंगमा बोल्दै उनले नेकपा एमालेभित्र कुनै प्रकारको विभाजन वा आन्तरिक संकट नरहेको दाबी गरे। पार्टी अध्यक्षप्रति लक्षित आलोचना र विभिन्न टिप्पणीहरूलाई सामान्य राजनीतिक गतिविधिका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले एमाले एकताबद्ध र सुदृढ रहेको बताए। “नेकपा एमाले एकजुट, एकढिक्का र संगठित छ। पार्टी देश र जनताको पक्षमा दृढतापूर्वक उभिएको छ र आगामी दिनमा पनि यही भूमिकालाई अझ सशक्त ढंगले निर्वाह गर्नेछ,” महरले भने। उनले पार्टी अध्यक्षविरुद्ध समय–समयमा आउने अभिव्यक्तिले एमालेको संगठनात्मक एकता र राजनीतिक यात्रामा कुनै असर नपार्ने जिकिर गरे। उनले पार्टीभित्र असहजता सिर्जना गर्नेहरू नै संगठन कमजोर बनाउन सक्रिय रहेको दाबी गरे। कठिन परिस्थितिमा आरोप–प्रत्यारोपभन्दा एकता आवश्यक रहेको उल्लेख गर्दै उनले मिठा कुरा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति बढ्दै गएको बताए। पार्टी र देशको हितका लागि काममुखी राजनीति आवश्यक रहेको उनको भनाइ थियो।
