चाँंगुनारायण नगरपालिका वडा नं ४ चाँंगु वडामा तालावन्दी
जेठ १९, २०८३, मङ्गलबार | राति ०९:५१ बजे | 150
गाउँलाई जुम्ला बनाउने कि कोरिया? स्थानीयको आक्रोश
चाँंगु । “गाउँमा पाँच वर्षमा एउटा पनि उल्लेखनीय योजना आएन । फोहोरी राजनीतिले गाउँलाई बिगार्ने काम मात्र ग¥यो,” भन्दै भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ४ चाँंगुका स्थानीयवासीले जनप्रतिनिधिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले विरोधस्वरुप वडा कार्यालयको मेन गेटमै तालासमेत लगाइदिएका छन् ।
स्थानीयका अनुसार गाउँको विकासका लागि ठोस योजना नआउँदा सडक, खानेपानी, रोजगार र पूर्वाधारका क्षेत्रमा अपेक्षित सुधार हुन सकेको छैन । गाउँको बीचमा रहेको खुला चौरको संरक्षण र सदुपयोगका लागि समेत कुनै वैकल्पिक योजना नल्याइएको उनीहरूको गुनासो छ ।
“हाम्रो गाउँलाई विकासको नमुना बनाउने आश्वासन दिइयो । तर पाँच वर्ष बित्दा पनि खोरियालाई कोरिया बनाउने कुरा मात्रै सुनियो, व्यवहारमा केही देखिएन,” एक स्थानीय अनुप ढुंगानाले भने । उनले गाउँलाई आधुनिक र व्यवस्थित बनाउने प्रतिबद्धता पूरा नभएको आरोप लगाए ।
स्थानीयवासीहरूले चुनावका बेला गरिएका वाचा र घोषणापत्रका प्रतिबद्धताहरू कार्यान्वयन नभएको भन्दै जनप्रतिनिधिहरूलाई जवाफदेही बन्न आग्रह गरेका छन् । उनीहरू भन्छन्, “हाम्रो गाउँलाई जुम्लाजस्तो पछाडि पार्ने होइन, विकास र समृद्धिको बाटोमा लैजानुपर्छ।”
गाउँको विकासका लागि दीर्घकालीन योजना, रोजगारी सिर्जना, कृषि तथा पर्यटन प्रवद्र्धन र सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने माग स्थानीयवासीको छ। उनीहरूले अब राजनीतिक आरोप–प्रत्यारोपभन्दा पनि प्रत्यक्ष रूपमा देखिने विकासको अपेक्षा गरेका छन्।
