सूर्यविनायक –६ सुन्दरबस्तीबाट २ राउण्ड गोलीसहित युवक पक्राउ
जेठ १९, २०८३, मङ्गलबार | राति ०७:२० बजे | 140
२ राउण्ड गोली र लागू औषधसहित युवक पक्राउ
भक्तपुर, १९ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका–६ सुन्दरबस्तीबाट प्रहरीले २ राउण्ड गोली र लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मिति २०८३ जेठ १९ गते साँझ ५ः५० बजे प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका सूर्यविनायक नगरपालिका–८ सिपाडोल निवासी २३ वर्षीय निरज खत्रीलाई सोधपुछ तथा खानतलासी गर्ने क्रममा गोली र लागू औषध बरामद गरेको हो।
प्रहरीले खत्रीको साथबाट ७.६२ एमएम एसएलआर राइफलमा प्रयोग हुने २ राउण्ड गोली, ट्रामाडोल ५० एमजीका २३० ट्याब्लेट, विभिन्न कम्पनीका ६ थान मोबाइल, १ थान खुकुरी तथा नगद ८५० रुपैयाँ बरामद गरेको जनाएको छ।
पक्राउ परेका खत्रीलाई नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
