कक्षा कोठाको ज्ञान अब वडा कार्यालयको दैलोसम्म


जेठ १९, २०८३, मङ्गलबार | साँझ ०४:४२ बजे | 115


कक्षा कोठाको ज्ञान अब वडा कार्यालयको दैलोसम्म

 

स्थानीय सरकार र इन्जिनियरिङ शिक्षाको मेलमिलाप : चाँगुनारायण नगरपालिका र नेपाल इन्जिनियरिङ कलेजबीच ऐतिहासिक सम्झौता, विद्यार्थीले पाउने ३ महिने इन्टर्नशिपदेखि परियोजना अनुदानसम्म

दुवाकोट, जेठ १८,०८३

नबराज काफ्ले

कक्षा कोठाको ज्ञान अब वडा कार्यालयको दैलोसम्म पुग्ने भएको छ । चाँगुनारायण नगरपालिका, भक्तपुर र नेपाल इन्जिनियरिङ कलेजबीच शिक्षा, सीप विकास, नवप्रवर्तन तथा उद्यमशीलता प्रवर्द्धनका लागि महत्वपूर्ण सहकार्य सम्झौता सम्पन्न भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ र कलेजका प्राचार्य दुर्गप्रसाद आचार्यले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको यो सम्झौता कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा नगरप्रमुख जीवन खत्रीको उपस्थितिमा आदान–प्रदान गरियो । सम्झौताको सबैभन्दा उल्लेखनीय पक्ष भनेको विद्यार्थीहरूलाई न्यूनतम तीन महिनाको अनिवार्य इन्टर्नशिप अवसर सुनिश्चित गरिनु हो। नगरपालिका अन्तर्गतका वडा कार्यालयहरू यसका लागि व्यावहारिक थलोका रूपमा प्रयोग हुनेछन्, जहाँ विद्यार्थीहरूले प्रशासनिक कार्यप्रक्रिया र स्थानीय शासनको प्रत्यक्ष अनुभव लिन पाउनेछन्। त्यति मात्र होइन, विद्यार्थी वा शिक्षकका नवीन प्रविधिगत सोच र परियोजना प्रस्तावहरू छनोट भएमा नगरपालिकाले आर्थिक सहयोग, मार्गदर्शन र सहजीकरणसमेत उपलब्ध गराउने व्यवस्था सम्झौतामा समेटिएको छ। यसले इन्जिनियरिङका विद्यार्थीहरूलाई उनीहरूका आविष्कारी विचारलाई जमिनमा उतार्ने वास्तविक अवसर दिनेछ। नेपालमा प्राविधिक शिक्षा र व्यावहारिक अभ्यासबीचको खाडल दशकौंदेखि बहसको विषय बन्दै आएको छ। यस्तो सन्दर्भमा एउटा स्थानीय सरकार आफैं अगुवाइ गर्दै शैक्षिक संस्थासँग संरचनागत साझेदारी गर्नु निश्चय नै अनुकरणीय कदम हो। कलेजका प्राचार्य आचार्यले भने, "यो सहकार्यले विद्यार्थीहरूलाई कक्षाकोठाको ज्ञानलाई व्यवहारमा उतार्ने अवसर दिनेछ र स्थानीय सरकारसँगको सहकार्यले नवप्रवर्तन र उद्यमशीलतालाई थप मजबुत बनाउनेछ।" यो सम्झौताले दुई संस्थाबीचको सम्बन्धलाई औपचारिक रूप दिएको मात्र छैन, बरु स्थानीय सरकार र शैक्षिक जगत् बीचको सहकार्यको एउटा नयाँ नमूना पनि स्थापित गरेको छ। भक्तपुरका अन्य नगरपालिका र शैक्षिक संस्थाहरूले यसबाट प्रेरणा लिन सक्ने विज्ञहरूको धारणा छ । जब स्थानीय शासन र ज्ञानको शक्ति एकसाथ हिँड्छन्, समुदायको विकास स्वाभाविक रूपमै तीव्र हुन्छ- चाँगुनारायणको यो कदमले त्यही सन्देश दिएको छ ।

Comments