व्यवसायीलाई धम्काउने एक जना नियन्त्रणमा
जेठ १९, २०८३, मङ्गलबार | राति ०९:१३ बजे | 175
भक्तपुर, १९ जेठ । भक्तपुरको मध्यपुर थिमि क्षेत्रमा रहेका विभिन्न होटल तथा बर्गर हाउसमा खाना खाई बिलको रकम नतिरी व्यवसायीलाई धाकधम्की दिँदै ठगी गर्ने प्रयास गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार ओखलढुंगा जिल्ला लिखुगाउँ गाउँपालिका–७ घर भई हाल काभ्रेपलाञ्चोकको बुडोल बस्दै आएका ३८ वर्षीय कुलबहादुर बस्नेतलाई जेठ १७ गते दिउँसो करिब ३ बजे मध्यपुर थिमि नगरपालिका–१ मनोहरापुल क्षेत्रबाट पक्राउ गरिएको हो।
व्यवसायीहरूको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई नियन्त्रणमा लिएको जनाएको छ। उनीमाथि होटल तथा बर्गर हाउसमा खाएको रकम नतिरी व्यवसायीलाई धम्क्याउने र ठगी गर्ने प्रयास गरेको आरोप रहेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरी वृत्त थिमिबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
