सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृति संरक्षण आदि विषयमा अनुभव आदानप्रदान


जेठ ७, २०८३, बिहीबार | दिउँसो ०३:२२ बजे | 60


सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृति संरक्षण आदि विषयमा अनुभव आदानप्रदान

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर नेतृत्वको टोली भक्तपुर नगरपालिकामा
२०८३ जेठ ७
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग आज गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर र उपप्रमुख मसली माया थोकरसहितको टोलीले भेट ग¥यो । नगर प्रमुख प्रजातिले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अध्ययन अवलोकनका लागि भक्तपुर आउनुभएका प्रमुख रानामगरसहितको टोलीलाई खादा तथा भादगाउँले टोपीद्वारा स्वागत गर्नुभयो । उक्त भेटमा दुई नगर प्रमुखबीच दुवै नगरपालिकाबीच सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृति संरक्षण आदि विषयमा अनुभव आदानप्रदान भएको थियो ।
भेटघाट कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, स्थानीय विकास, सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन, सरसफाइ क्षेत्रमा गरिरहेको कामहरुबारे अवगत गराउनुयो ।
सम्पदा क्षेत्र घोषणा गर्ने अधिकार स्थानीय तहलाई प्राप्त भएको बताउँदै उहाँले परम्परागत तथा मौलिक शैलीमा घर निर्माण गर्न प्रोत्साहन गर्ने उद्देश्यले भक्तपुर नपाले नपाको मापदण्डअनुसार घर बनाउने घरधनीहरुलाई अनुदानको व्यवस्था गरेको बताउनुभयो ।
विशेषगरी परम्परागत इँटा, काठको झ्याल ढोका, झिंगटी तथा मौलिक शैली प्रयोग गरी निर्माण गरिएका घरहरुले ऐतिहासिक बस्तीको सौन्दर्य संरक्षणमा योगदान पु¥याउने भएकोले नगरपालिकाले नागरिकलाई यसतर्फ आकर्षित गर्न अनुदानको व्यवस्था गरेको बताउनुभयो ।
यससँगै नगरपालिकाले विद्यार्थीहरुलाई छात्रवृत्ति र शैक्षिक ऋण प्रदान गर्दै आएको उल्लेख गर्दै युवा तथा महिला लक्षित सीपमूलक तालिम सञ्चालन गरी नगरबासीहरुलाई स्वरोजगार बनाउने प्रयत्न गर्दै आएको बताउनुभयो ।
भेटमा गोरखाका मेयर रानामगरले गोरखाको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वलाई संरक्षण गर्ने उद्देश्यले गोरखालाई सम्पदा बस्ती घोषणा तथा संरक्षणको लागि आवश्यक कार्यविधि निर्माण प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताउनुभयो ।
उहाँले गोरखाको परम्परागत बस्ती, मौलिक वास्तुकला, मठमन्दिर, ऐतिहासिक संरचना आदिको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनको सिलसिलामा कार्यविधि तयार गर्न लागिएको बताउँदै कार्यविधि तयार गर्न भक्तपुर नगरपालिकाको आवश्यक साथ, सहयोग तथा समन्वयको अपेक्षा रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण र सांस्कृतिक पहिचान जोगाउन गरेको कार्य उदाहरणीय रहेको उल्लेख गर्दै उहाँले गोरखामा पनि यस्ता अभ्यासलाई अघि बढाइने बताउनुभयो ।
उपप्रमुख थोकरले स्थानीय मौलिकता जोगाउँदै विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै भक्तपुरले अपनाउँदै आएको सम्पदामैत्री विकास, परम्परागत शैलीमा घर निर्माणमा अनुदान तथा संस्कृति संरक्षणका अभ्यासहरु गोरखाका लागि पनि उपयोगी भएको धारणा व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले प्रमुख रानामगरलाई मयुरको झ्याल र नपाका प्रकाशनहरु उपहारको रुपमा प्रदान गर्नुभयो । गोरखा नपाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनाल, वडाध्यक्ष राजेन्द्रकुमार जोशी, इन्जिनियर प्रकाश ढकाल, लेखा अधिकृत सन्तोष लामिछाने, प्रशासकीय अधिकृत विजय उपाध्याय, संस्कृतिविद राजुबाबु श्रेष्ठ, पत्रकार राजेन्द्र न्यौपानो, भाष्कर श्रेष्ठ, किशोरजंग थापालगायतको उपस्थिति रहेको थियो ।
प्रतिनिधिमण्डलले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप मावि र ख्वप अस्पताल अवलोकन गरेका थिए ।
 

फाेटाेमा हेर्नुहाेस्...

सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृति संरक्षण आदि विषयमा अनुभव आदानप्रदान

Comments