डिजिटल जोखिमबाट सुरक्षित रहन जुद्धबारुण यन्त्र कार्यालयद्वारा सचेतना कार्यक्रम सम्पन्न


जेठ २, २०८३, शनिबार | राति ०७:२६ बजे | 130


डिजिटल जोखिमबाट सुरक्षित रहन जुद्धबारुण यन्त्र कार्यालयद्वारा सचेतना कार्यक्रम सम्पन्न

भक्तपुर, स्क्यामिङ, ह्याकिङ र सामाजिक सञ्जालका जोखिमबारे सुरक्षाकर्मी तथा पत्रकारलाई सचेत गराउने उद्देश्यले जुद्धबारुण यन्त्रको कार्यालय, भक्तपुरले "डिजिटल अवरनेस र एआई प्रोग्राम" शीर्षकमा विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । लर्न दिस वे प्रा.लि.को प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला भित्रका सुरक्षाकर्मी,पत्रकारहरु,योग जिल्ला समन्वय समिति भक्तपुरका प्रतिनिधि एवं आयोजक संस्थाका कर्मचारीहरू सहभागी थिए । कार्यालय प्रमुख विजय धौभडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन सूचना अधिकारी हिमाल घर्ती मगरले गरेका थिए। लर्न दिस वेका प्रमुख कार्यकारी अधिकृत विपिन सुवेदीले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरे । कार्यक्रममा वक्ताको रूपमा कार्यालय प्रमुख विजय धौभडेल, योग जिल्ला समन्वय समिति भक्तपुरका सचिव नबराज काफ्ले, जिल्ला प्रहरी परिसर भक्तपुरका क्षेत्रकुमार श्रेष्ठ र स्वतन्त्र पत्रकार राजन कार्कीले आ–आफ्ना विचार प्रस्तुत गरे । प्रशिक्षणमा सहभागीहरूले डिजिटल जोखिम र सर्तकताका उपाय, सामाजिक सञ्जालबाट हुने विभिन्न प्रकारका जोखिम तथा तिनबाट बच्ने तरिका, स्क्यामिङ र ह्याकिङका सम्भावना र सुरक्षाका उपाय तथा एल्गोरिदमलाई उत्पादनमुखी ढंगले कसरी प्रयोग गर्ने भन्ने विषयमा व्यावहारिक ज्ञान आर्जन गरे । कार्यक्रम अध्यक्ष धौभडेलले डिजिटल युगमा सचेत नागरिक बन्नु र प्रविधिको सही उपयोग गर्नु आजको आवश्यकता भएको बताए । उनले साइबर अपराधका घटनाहरू बढ्दै गएको सन्दर्भमा यस किसिमका सचेतनामूलक कार्यक्रम नियमित रूपमा आयोजना गर्नुपर्नेमा जोड दिए। प्रशिक्षक सुवेदीले एआई र डिजिटल प्रविधिको ज्ञान नहुँदा सर्वसाधारण सजिलै ठगीको शिकार हुने गरेको उल्लेख गर्दै सुरक्षाकर्मी र पत्रकार जस्ता जिम्मेवार व्यक्तिहरूले यस विषयमा अद्यावधिक रहनु अपरिहार्य रहेको बताए ।

Comments