विपद् निम्तिने खतरा बढेपछि सांसदको ढोका ढकढक्याउँदै अभियन्ता प्रेमध्वज लामा
जेठ २, २०८३, शनिबार | साँझ ०६:५२ बजे | 245
भक्तपुर, २ जेठ । भक्तपुरमा भू–माफिया र स्थानीय जनप्रतिनिधिको 'अपवित्र गठबन्धन'का कारण तीव्र रूपमा भइरहेको अवैध जग्गा प्लटिङले जिल्लालाई नै प्राकृतिक विनाशको सुरुङतर्फ धकेलेको खुलासा भएको छ । वर्षायामको संघारमा जिल्लाका बस्तीहरू बाढी र पहिरोको उच्च जोखिममा परेपछि भ्रष्टाचार विरोधी अभियन्ता प्रेमध्वज लामाले आइतबार भक्तपुर क्षेत्र नं. २ का सांसद राजीव खत्रीलाई भेटेर कडा चेतावनीसहितको ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । 'प्राकृतिक होइन, मानव–निर्मित बाढीको डर' सांसद खत्रीलाई बुझाइएको पत्रमा अभियन्ता लामाले भक्तपुरमा वर्षेनी हुने डुबान र बाढीलाई 'प्राकृतिक नभई मानव–निर्मित' सङ्कटको संज्ञा दिनुभएको छ । मुलुककै 'लाइफलाइन' मानिने अरनिको र बिपी राजमार्ग आसपासका डाँडाकाँडा मासेर भइरहेको अनियन्त्रित प्लटिङले सडक र बस्ती दुवै जोखिममा परेको उहाँको दाबी छ । "नियमनकारी निकाय सुतेर बस्ने र जनप्रतिनिधिले भू–माफियालाई लाहाछाप लगाइदिने प्रवृत्तिले भक्तपुरको कृषि भूमि र वातावरणीय सन्तुलन खरानी हुँदैछ," ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । अभियन्ता लामाले विशेषगरी सूर्यविनायक नगरपालिकाको नेतृत्वलाई 'भ्रष्टाचारको संरक्षक' भएको आरोप लगाउनुभएको छ । नगरपालिकाले अवैध प्लटिङ रोक्नुको साटो मूकदर्शक बनेर माफियालाई साथ दिएको पत्रमा उल्लेख छ । नगर प्रमुखले "प्रमाण ल्याए २४ घण्टामा कारबाही गर्छु" भनी दिने गरेका अभिव्यक्तिलाई लामाले "नागरिकको आँखामा छारो हाल्ने सस्तो लोकप्रियता" मात्र भएको टिप्पणी गर्नुभएको छ । अभियन्ता लामाले सांसद खत्रीसँग यस बेथिति सुधार्न 'हस्तक्षेपकारी भूमिका'को माग गर्नुभएको छ । पत्रमार्फत तत्काल उच्चस्तरीय छानबिन आयोग गठन गर्न, अवैध प्लटिङ रोक्का गर्न, र सेटिङमा संलग्न जनप्रतिनिधि तथा कर्मचारीलाई कानुनी कठघरामा उभ्याउन माग गरिएको छ । "यदि यस वर्ष प्लटिङकै कारण मानवीय वा भौतिक क्षति भएमा त्यसको सम्पूर्ण नैतिक र कानुनी जिम्मेवारी सूर्यविनायक नगरपालिकाको नेतृत्वले लिनुपर्नेछ," पत्रमा चेतावनी दिइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...
