स्रष्टा पदयात्री टोली अनुसन्धानात्मक भ्रमणका लागि भिमान प्रस्थान
जेठ १, २०८३, शुक्रबार | दिउँसो १२:४४ बजे | 85
जयराम बिडारी
काठमाडौँ, जेठ १ हरेक महिनाको पहिलो शनिबार देशका विभिन्न स्थानको भ्रमण गरी ती क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पक्षमाथि गहन अनुसन्धान गर्ने उद्देश्यका साथ ‘स्रष्टा पदयात्रा नेपाल’ को टोली सिन्धुलीको भिमानतर्फ प्रस्थान गरेको छ। शहीद रघुनाथ कोइराला ट्रष्टको निमन्त्रणामा टोली त्यसतर्फ प्रस्थान गरेको हो । ३० जना स्रष्टाहरू सम्मिलित उक्त टोलीले स्थानीय परिवेशको अध्ययन गरी विषयविज्ञताका आधारमा अनुसन्धानात्मक लेखहरू तयार पार्नेछ। बहुआयामिक अनुसन्धानका विषयहरू यस पटकको पदयात्रामा सहभागी स्रष्टाहरूले भिमान र आसपासका क्षेत्रका विविध विषयमा कलम चलाउने भएका छन्। यात्राका क्रममा हुने लेखन कार्यलाई निम्न अनुसार वर्गीकरण गरिएको छ । संस्कृति र सभ्यता: भारती न्यौपानेले 'उज्यालो औँसी' मा माझी सभ्यता र संस्कृतिको खोजी गर्नेछिन् भने विमल अर्यालले कमला किनारका माझीहरूको सामाजिक, आर्थिक र सांस्कृतिक पहिचानका साथै इतिहास खोतल्नेछन्। त्यसैगरी, प्रा.डा. सावित्री श्रेष्ठले माझी समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार र ध्रुवराज थापा 'पुरुष' ले उनीहरूको सांस्कृतिक पक्षमाथि अध्ययन गर्नेछन्। खोलाघरे साहिंलोले माझीहरूको प्रसिद्ध 'लदी पूजा' का बारेमा लेख्नेछन्। इतिहास र व्यक्तित्व: डा. बालचन्द्र मिश्रले ऋषि देवकोटा 'आजाद' को हत्याको कारण र परिणाममाथि प्रकाश पार्नेछन् भने वसन्त रिजालले आजाद स्मृति पार्कको सन्दर्भ समेट्नेछन्। जयराम बिडारीले रघुनाथ कोइरालाको हत्याको कारणका भ्रम र यथार्थबारे अनुसन्धान गर्नेछन्। यस्तै, सुभाष ढुङ्गेलले रघुनाथ कोइरालाको सामाजिक व्यक्तित्वका बारेमा चर्चा गर्नेछन्। प्रकृति र पर्यावरण: प्रतीक ढकालले भिमान र प्रकृतिको सम्बन्ध, वासुदेव पौडेलले चुरेको सौन्दर्य र दोहन, तथा दीपक लोहनीले चुरे विनाशले पारेको प्रभावबारे लेख्नेछन्। माधवलाल श्रेष्ठले कमला किनारको प्रकृति, पर्यावरण र कृषिको अवस्थामाथि अनुसन्धान गर्नेछन्। • धार्मिक तथा पर्यटकीय पहिचान: दुर्गा प्रसाद घिमिरेले 'कलियुगको गंगा' मानिने कमला नदी र मन्दिरको महत्त्व दर्शाउनेछन्। मन्दिरा मधुश्रीले सिन्धुलीको गौरव 'जर्बुटा कला' र गङ्गाप्रसाद भेटवालले यस क्षेत्रमा प्रचलित लोककथाहरू सङ्कलन गर्नेछन्। स्थानीयसँगको सहकार्य अनुसन्धानलाई तथ्यपरक बनाउन टोलीले स्थानीय जनप्रतिनिधि र विज्ञहरूसँग समन्वय गर्नेछ। पूर्व मेयर खड्ग खत्री, इच्छा बहादुर कार्की, मान सिंह माझी, जितेन्द्र माझी, विश्वम्बर लामिछाने लगायतका स्थानीय व्यक्तिहरूसँगको संवादबाट स्रष्टाहरूले सूचना सङ्कलन गर्नेछन्। टोलीमा डा. हेम भण्डारी,अनिता कोइराला, दुर्गा भवानी भट्ट, रुबी सत्याल, शम्भु गजुरेल, सुमन पुडासैनी, रेखा ज्ञवाली, गीता रेग्मी, भवानी खतिवडा प्रोल्लास सिन्धुलीय,नम्रता भण्डारी ,दीपक श्रेष्ठ,दुर्गाप्रसाद घिमिरे लगायतका स्रष्टाहरू सक्रिय हुनुहुन्छ। यस पदयात्राले ओझेलमा परेका स्थानीय पहिचान र इतिहासलाई राष्ट्रियस्तरमा उजागर गर्ने विश्वास गरिएको छ।
