भक्तपुरका इँटाभट्टा तत्काल हटाउन माग गर्दै सांसदद्वय रुकेश रञ्जित र राजीव खत्रीलाई ध्यानाकर्षण
बैशाख ३१, २०८३, बिहीबार | साँझ ०६:४५ बजे | 325
अभियन्ता हेम पाठकले मापदण्डविपरीत सञ्चालन भइरहेका भक्तपुरका इँटा भट्टा तत्काल हटाउन माग गर्दै सांसदद्वय रुकेश रञ्जित र राजीव खत्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
बुधबार सांसद रञ्जित र खत्रीलाई एकैसाथ पत्र बुझाउँदै अभियन्ता पाठकले लामो समयदेखि सञ्चालनमा रहेका इँटा भट्टाको प्रदूषणले स्कुले बालबालिकादेखि वृद्धवृद्धाको स्वास्थ्यमा गम्भीर प्रभाव पारिरहेको भन्दै सरकारले यसलाई तत्काल हटाउनुपर्ने मागसहित संसदको ध्यानाकर्षण गराएका हुन्।
उनले भने, “निर्वाचनअघि स्थानीय जनताले इँटा भट्टाको सन्दर्भमा पहल गर्नका लागि तपाईहरूसँग छलफल गरेका थिए र तपाईहरूले आफूहरू निर्वाचित भए पनि नभए पनि यो समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। आज तपाईहरू दुवै जना सांसद पदमा निर्वाचित हुनुभएको छ। झन्डै दुई तिहाइ बहुमतसहित तपाईहरूकै एकल सरकार छ। यो विषयमा पक्कै पनि तपाईहरूले समाधान निकाल्नुहुन्छ भन्नेमा हामी आशावादी छौं।” उनले आफूहरू यस समस्या समाधानका लागि पटक–पटक स्थानीय तह र सरोकारवाला सम्पूर्ण सरकारी निकायमा समेत गइसकेको स्मरण समेत गराए।
