डायस्पोराको डलर
बैशाख ३१, २०८३, बिहीबार | दिउँसो १२:१९ बजे | 110
महेन्द्र चालिसे
रातको साढे एघार बजिसकेको थियो । राजधानीको एक आलिसान महलको पाँचौँ तलामा रहेको भब्य कोठाको झ्यालबाट शहरको उज्यालो टल्किरहेको थियो । कोठाभित्र भने अर्को किसिमको उज्यालो थियो— मोबाइलको स्क्रिन, ल्यापटपको प्रकाश र टेबलभरि छरिएका कागजपत्रहरूको चमक । त्यति अबेरसम्म पनि नेताजी एक्लै सोफामा ढाँड टेकाएर बसेका थिए । अगाडि क्यालकुलेटर थियो । उनी कहिले अंक थिच्थे, कहिले निधार मिच्थे । अनुहारमा चिन्ता पनि थियो, लोभ पनि । “हूँ... अब खर्च धेरै बढ्यो,” उनले आफैसँग भने । “गाडी फेर्नुप¥यो । छोराको बिहे पनि आउँदैछ । पार्टीको महाधिवेशन पनि नजिकिँदैछ ।”
उनले फेरि हिसाब जोडे । “बैंक ब्यालेन्स पनि खुम्चिँदै गयो... यस्तो भयोभने त इज्जतै जाँन्छ कि के हो ।” उनी जुरुक्क उठे, कोठामा यताउति डुल्न थाले । अनि अचानक रोकिए ।
“डायस्पोरा !” उनको अनुहारमा चमक आयो । “हो, अब त विदेश नै घुम्नुपर्छ ।” उनी फर्किएर सोफामा बसे र पुराना अनुभव सम्झन थाले । “खाडी त के जानु ?” उनी बडबडाए । “त्यहाँका मजदुरहरू आफै दुःखमा छन् । हरेक महिना ओभरटाइम गरेर बल्ल कोठाभाडा तिर्छन् । त्यहाँ फण्ड रेज गरेर के उठ्ला र ?” त्यत्तिकैमा उनलाई दुई वर्षअघिको कतार यात्रा सम्झना आयो।
त्यो बेला दोहाको एउटा साँघुरो हलमा कार्यक्रम राखिएको थियो । हल बाहिर नेपाली मजदुरहरूको लामो लाइन थियो । कसैले ड्युटी साटेका थिए, कसैले बिरामी भनेर छुट्टी लिएका थिए । सबै नेताजीलाई हेर्न र भेट्न आएका थिए । मञ्चमा पुग्नेबित्तिकै आयोजक रमेशले फुसफुसायो— “नेताज्यू, आज अलि भावुक भाषण गर्नुस् है । यहाँका दाइहरू नेपाल सम्झेर छिट्टै पग्लिन्छन् ।”
नेताजी मुस्कुराए । माइक समातेर उनले गम्भीर स्वर निकाले— “तपाईंहरू विदेशी भूमिमा पसिना बगाइरहनुभएको छ । तपाईंहरूको रेमिट्यान्सले देश धानेको छ । तपाईंहरू आधुनिक नेपालका वीर योद्धा हुनुहुन्छ !” तलबाट ताली गडगडायो । पछाडिबाट आयोजकहरूले खाम बाँड्न थाले ।
“देश बचाउन सहयोग गरौँ !” “पार्टी बलियो बनाउन योगदान गरौँ !” एकजना दुबला मजदुर उठेर आए । “नेताज्यू,” उसले काँपेको स्वरमा भन्यो, “मलेसियाबाट ऋण तिरेर बल्ल कतार आएको । तर पार्टीलाई पाँच सय रियाल दिन्छु ।” नेताजीले नाटकीय भावमा उसको काँध थिचे । “तपाईंहरूको त्याग कहिल्यै खेर जाँदैन ।”
तर कार्यक्रम सकिएपछि होटल फर्कँदा नेताजीले पिएसँग भनेका थिए— “हेर त, जम्मा कति उठ्यो ?” “करिब पन्ध्र हजार डलर जति ।” “छि ! यत्रो झन्झट गरेर यति ?” पिए मुस्कुरायो । “खाडीका मजदुर हुन् नि सर ।” “त्यसैले त अब त्यता खासै जानु छैन ।”
उनले अर्को हिसाब जोडे । “जापान ?” अचानक उनको अनुहार बिग्रियो । “छ्या ! त्यो इमिग्रेसनको काण्ड सम्झिँदा अझै रिस उठ्छ ।” त्यो घटना उनी कहिल्यै बिर्सन सक्दैनथे । गत वर्ष टोकियोस्थित आफ्नै कार्यकर्ताले फोन गरेका थिए । “नेताज्यू, यहाँ नेपालीहरूको ठूलो भेला गरौँ न ।”
“गरौँला,” नेताजीले भनेका थिए, “तर अलि व्यवस्थित गर्नुपर्छ । फर्किँदा पार्टीका लागि केही रकम पनि उठ्नुप¥यो ।” उताबाट तुरुन्त जवाफ आएको थियो— “त्यो त हुन्छ नेताज्यू । यहाँ त तपाईंलाई भगवान् मान्नेहरू धेरै छन् ।” त्यसपछि जापानस्थित भातृ संगठनले एउटा सांस्कृतिक कार्यक्रम बनायो । पोस्टर छापियो । टिकट बिक्री भयो । नेताजी आउने खबरले नेपाली समुदाय उत्साहित भयो ।
तर टोकियो एयरपोर्टमा समस्या भयो । इमिग्रेसन अफिसरले सोध्यो— “तपाईंको यात्राको उद्देश्य ?” “घुम्न आएको ।” “तर यहाँ तपाईंको कार्यक्रमको पोस्टर किन छ ?” नेताजी झस्किए । अफिसरले अर्को कागज देखायो— “यहाँ तपाईंले राजनीतिक कार्यक्रम गर्ने उल्लेख छ ।” उनले पसिना पुछे । दुई घण्टा सोधपुछ भयो । अन्ततः उनलाई डिपोर्ट गरियो । नेपाल फर्किएपछि उनले पार्टी कार्यालयमा रिस पोखेका थिए । “जापानीहरू धेरै नियमवादी रहेछन् !” पिएले सान्त्वना दिएको थियो— “छोड्नुस् सर, अर्को देश जाऔँला ।”
नेताजी फेरि वर्तमानमा फर्किए । “युरोप ?” उनी फेरि सोच्न थाले । “त्यहाँ त झन् गुटबन्दी ।” उनलाई पेरिसको घटना याद आयो । त्यहाँ दुई समूह थिए— एउटा पुरानो कमिटी, अर्को नयाँ । दुवैले नेताजीलाई आफ्नै कार्यक्रममा लैजान खोजेका थिए । एयरपोर्टमै दुई पक्षबीच झगडा परेको थियो ।
“नेताज्यू हाम्रो गाडीमा जानुहुन्छ !” “हैन, हाम्रो कार्यक्रममा पहिला जानुपर्छ !” एकजनाले अर्कोको कठालो समात्यो । अर्को चिच्यायो— “तिमीहरू पार्टी बेचुवाहरू !” नेताजी भने बीचमा उभिएर मुस्कुराइरहेका थिए । उनलाई थाहा थियो— दुबै पक्षसँग पैसा छ ।
त्यस रात उनले दुवै समूहसँग छुट्टाछुट्टै मिटिङ गरे । दुवैलाई एउटै कुरा भने— “पार्टीमा तपाईंहरूको योगदान महत्त्वपूर्ण छ ।” दुवैले आफूलाई विशेष ठाने । तर अन्तिम दिन फण्ड रेज अपेक्षाभन्दा कम भयो । “जम्मा बीस हजार युरो ?” नेताजी रिसाए । “यत्रो झगडा गरेर यती ?” पिएले सम्झायो— “युरोपमा आर्थिक मन्दी छ रे ।” “त्यसैले त्यता अब समय खेर फाल्नु हुँदैन ।”
उनको अनुहार अचानक उज्यालियो । “अमेरिका !” उनले टेबलमा हात बजाए । “हो, अमेरिका नै सही ।” उनी सम्झन थाले । पहिलो पटक अमेरिका जाँदा उनले सामान्य भ्रमणको योजना बनाएका थिए । “एउटा–दुईटा राज्य घुमौँला,” उनले भनेका थिए । तर त्यहाँका कार्यकर्ताहरू त उत्साहमा पागलजस्तै थिए । न्यूयोर्कमा स्वागत भयो । त्यहाँबाट टेक्सास । टेक्सासबाट क्यालिफोर्निया । त्यसपछि भर्जिनिया, ओहायो, कोलोराडो, फ्लोरिडा... हरेक राज्यमा नेपालीहरू नेताजीलाई घरमै राख्न तँछाडमछाड गर्थे ।
“नेताज्यू हाम्रो घर आउनुस् !” “हैन, हाम्रोमा बस्नुपर्छ !” “मैले त तीन महिना अघि नै तयारी गरेको !” एकपटक त ड्यालसमा दुई कार्यकर्ताबीच हात हालाहाल भएको थियो । “तिमीले नेताज्यूलाई पहिले किन लग्यौ?” “किनभने तिमी कन्जुस छौ, नेताजीको सम्मान गर्न सक्दैनौ!”
“के भनिस् ?” अनि धकेलाधकेल । नेताजी भने सोफामा बसेर मुस्कुराइरहेका थिए । उनलाई यो झगडा मन पर्यो । किनकि यसको अर्थ थियो— प्रतिस्पर्धा । अनि प्रतिस्पर्धाको अर्थ— बढी चन्दा । कार्यक्रमहरूमा त झन् रमाइलो हुन्थ्यो । मञ्चबाट उद्घोषक चिच्याउँथ्यो— “अब पार्टी सुदृढीकरण कोषका लागि सहयोग घोषणा गरौँ !”
एकजना उठ्थे— “म पाँच हजार डलर !” अर्को तुरुन्त उठ्थ्यो— “म सात हजार !” तेस्रो झन् ठूलो स्वरमा— “म दस हजार !” ताली गड्गडाउँथ्यो । तर वास्तविक खेल पर्दापछाडि हुन्थ्यो । कार्यक्रमपछि नेताजीसँग निजी भेट गर्न लाइन लाग्थ्यो । “नेताज्यू, म नेपाल फर्केर चुनाव लड्न चाहन्छु ।” “मलाई पनि पार्टीमा अवसर चाहियो ।” “मेरो नाम केन्द्रसम्म पु¥याइदिनुस् ।”
नेताजी गम्भीर भएर सुन्थे । “पार्टीले योगदान हेर्छ,” उनी भन्थे । त्यसपछि पिएले संकेत बुझ्थ्यो । चन्दा बढ्थ्यो । एउटा राज्यबाट उठेको रकम अर्को राज्यले उछिन्ने प्रयास गथ्र्यो । अन्तिममा हिसाब गर्दा डेढ लाख डलर नाघेको थियो । त्यो सम्झेर नेताजीको अनुहार फुलेको फूलझैँ भयो । “हो, अमेरिका नै ठीक ।”
उनी सोफाबाट उठे र कागजमा सूची बनाउन थाले । “नयाँ टेस्ला...” “छोराको बिहेका लागि सुन...” “महाधिवेशन खर्च...” “काठमाडौंमा नयाँ घरको डाउन पेमेन्ट...” सूची लामो हुँदै गयो । त्यत्तिकैमा उनले घण्टी थिचे । पिए दौडिँदै आयो ।
“सर ?” “अमेरिकाको भातृ संगठनलाई खबर गर ।” “के भन्नु ?” नेताजीले स्वर मिलाए— “यो पटक पार्टीले डायस्पोराबाट दुई सिट दिने सोच बनाएको छ । त्यहाँका साथीहरूसँग छलफल गर्न म आउँदै छु भनेर भन ।” पिएको अनुहार चम्कियो । उसले कुरा बुझिसकेको थियो ।
“अनि कार्यक्रमहरू पनि राख्न लगाऊँ ?” “धेरै । जति धेरै कार्यक्रम, उति धेरै फण्ड रेज ।” पिएले नोटबुक निकाल्यो । “कुन–कुन राज्य ?” “जहाँ पैसा छ, त्यही ।”
अमेरिकामा खबर फैलियो । “नेताज्यू आउँदै हुनुहुन्छ !” फेसबुक, भाइबर, व्हाट्सएप सबै तातिए । भातृ संगठनका अध्यक्ष दीपकले आकस्मिक बैठक बोलाए । “साथीहरू,” उनले भने, “यो मौका हो । नेताज्यूसँग नजिक भए टिकट पक्का हुन सक्छ ।”
एकजना कार्यकर्ता बोला— “म त न्यूयोर्कको कार्यक्रम स्पोन्सर गर्छु ।” अर्को उठ्यो— “क्यालिफोर्नियाको खर्च म बेहोर्छु ।” तेस्रोले भन्यो— “नेताज्यूलाई मेरो घरमा राख्नुपर्छ ।”
त्यसपछि सुरु भयो अदृश्य युद्ध । कसले ठूलो हल बुक गर्ने ? कसले महँगो होटल दिने ? कसले बढी चन्दा उठाउने ? एकजना व्यवसायीले गोप्य रूपमा पिएलाई फोन ग¥यो— “दाइ, नेताज्यूसँग निजी डिनर मिलाइदिनुस् न ।” “किन?” “त्यो सांसदको टिकटको कुरा...” पिए हाँस्यो । “त्यसो भए सहयोग पनि ठूलै हुनुप¥यो ।”
नेताजी अमेरिका पुगे । एयरपोर्टमै दर्जनौँ गाडी लाइनमा थिए । नेपाली झण्डा फर्फराइरहेको थियो । “नेताज्यू जिन्दाबाद !” “पार्टी जिन्दाबाद !” फूलमाला, खादा, फोटो, लाइभ भिडियो... । नेताजीले हात हल्लाए । भित्रभित्रै भने हिसाब गरिरहेका थिए— “यो राज्यबाट कम्तीमा बीस हजार उठ्नुपर्छ ।”
पहिलो कार्यक्रम न्यूयोर्कमा भयो । मञ्चमा नेताजीले भावुक स्वर निकाले— “विदेशमा बसे पनि तपाईंहरूको मन मातृभूमिमै छ ।” ताली । “देश कठिन मोडमा छ ।” ताली । “अब परिवर्तनका लागि तपाईंहरूको सहयोग चाहिन्छ ।” ताली अझ ठूलो । पछाडिबाट खाम आउन थाले । त्यस रात होटलमा नेताजी र पिएले पैसा गने । “कति ?” “तेइस हजार डलर ।” “राम्रै छ ।”
तर सबै ठाउँ सजिलो थिएन । शिकागोमा दुई गुटबीच ठूलो झगडा भयो । एक समूहले आरोप लगायो— “यी नेताज्यूको नाममा पैसा खान्छन् !” अर्को समूह चिच्यायो— “तिमीहरू पार्टीविरोधी हौ !” माइक खोसाखोस भयो । कुर्सीसमेत फालाफाल भयो । नेताजीलाई सुरक्षाकर्मीले पछाडिको ढोकाबाट निकाले । गाडीमा बस्दै उनले पिएलाई भने— “तर चन्दा चाहिँ उठ्यो ?” “उठ्यो सर ।” “त्यसो भए झगडा ठूलो कुरा होइन ।”
क्यालिफोर्नियामा झन् रोचक घटना भयो । एकजना कार्यकर्ता राजेशले नेताजीलाई आफ्नो घरमा राख्न लाखैंको बंगला सजाएको थियो । तर अर्को व्यवसायी सन्तोषले निजी लिमोजिन पठायो । राजेश रिसायो । “यो मेरो अपमान हो !” उसले तुरुन्त पिएलाई फोन ग¥यो— “म पचास हजार डलर सहयोग गर्छु, तर नेताज्यू मेरो घरमै बस्नुपर्छ ।” उताबाट सन्तोषले खबर पायो । उसले रकम बढायो— “म साठी हजार दिन्छु !”
पिए मुस्कुरायो । उसले नेताजीलाई खबर ग¥यो । नेताजीले शान्त स्वरमा भने— “दुवैलाई खुसी पार्ने उपाय निकाल ।” अन्ततः दुई रात एउटाको घर, दुई रात अर्कोको घर बसियो । दुवैले टिकटको आशा गरे । नभए अबैतनिक वाणिज्यदूत भए पनि ।
यात्रा लम्बिँदै गयो । बाहिरबाट हेर्दा नेताजी देश र पार्टीका लागि दौडिरहेका जस्तो देखिन्थे । तर भित्रभित्रै सबैलाई थाहा थियो— यो राजनीति कम, अर्थनीति बढी थियो । कार्यकर्ताहरू पनि कम थिएनन् । कसैले नेताको नजिक फोटो खिचाएर फेसबुकमा राख्थे— “आज सम्माननीय नेताज्यूसँग महत्वपूर्ण भेट ।”
कसैले स्टेट कमिटीको अध्यक्ष बन्न दौडधूप गर्थे । कसैले नेपाल फर्केर सांसद बन्न सपना देख्थे । सबैको लक्ष्य एउटै थियो— पहुँच । अनि पहुँचको मूल्य थियो— पैसा ।
तीन सातापछि अन्तिम कार्यक्रम वाशिङ्टन डीसीमा भयो । भव्य हल । सयौँ नेपाली । ठूलो ब्यानर । कार्यक्रमको अन्त्यमा फण्ड रेज घोषणा भयो । “एक लाख डलर पार गरौँ !” हल तातियो ।
एकजना उठे— “दस हजार !” अर्को— “पन्ध्र हजार !” तेस्रो— “बीस हजार !” ताली, नाराबाजी, फोटो, लाइभ... नेताजीको अनुहार चम्किरहेको थियो । उनी सोचिरहेका थिए— “टेस्ला पक्का ।”
नेपाल फर्कने दिन आयो । एयरपोर्टमा पिएले अन्तिम हिसाब सुनायो । “सर, कुल उठेको रकम दुई लाख डलर नाघ्यो ।” नेताजीले सन्तुष्ट हुँदै आँखा चिम्ले । “राम्रै भयो ।” “पार्टी खातामा कति राख्ने ?”
नेताजी केहीबेर चुपहे । झ्यालबाहिर जहाजहरू उडिरहेका थिए । उनले बिस्तारै भने— “पहिला खर्च कटाऊँ ।” “कुन खर्च ?” “देश र पार्टीका लागि गरिएको त्यागको खर्च ।” पिएले टाउको हल्लायो । ऊ अभ्यस्त भइसकेको थियो । जहाज उड्न थाल्यो । तल अमेरिकाको शहर सानो हुँदै गयो । नेताजीले सिटमा टेकेर आँखा बन्द गरे । उनको मनमा अब अर्को योजना चलिरहेको थियो । “अर्को वर्ष क्यानडा पनि घुम्नुपर्ला...।”
