पूर्वप्रधानमन्त्री देउवा र पत्नी पूर्वमन्त्री आरजु एक महिनादेखि सम्पर्कविहीन


बैशाख २८, २०८३, सोमबार | राति ०७:४४ बजे | 125


पूर्वप्रधानमन्त्री देउवा र पत्नी पूर्वमन्त्री आरजु एक महिनादेखि सम्पर्कविहीन

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री आरजु राणा एक महिनादेखि सम्पर्कविहीन छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २५ चैतमा पक्राउ पुर्जी जारी गरेलगत्तै उनीहरू सम्पर्कविहीन बनेका हुन् । यद्यपि, उनीहरूलाई इन्टरपोलको सहयोगमा भए पनि स्वदेश झिकाउन प्रहरीले पहल गरिरहेको छ ।

पक्राउ पुर्जी जारी गर्नुअघि नै हङकङ गएका उनीहरूविरुद्ध विभागले प्रहरीमार्फत रेड नोटिस जारी गर्न दुईपटक पत्राचार गरिसकेको छ । प्रहरीको सूचनामा देउवादम्पती हङकङमै छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवादम्पतीको सम्पत्तिका सम्बन्धमा छानबिन गरिरहेको छ । जेन–जी आन्दोलनका क्रममा उनीहरूको घरमा भेटिएको पैसा र त्यससम्बन्धी सार्वजनिक भिडियो ‘फेक’ नभएको निष्कर्षपछि विभागले काठमाडौं जिल्ला अदालतसँग देउवादम्पतीविरुद्ध पक्राउ अनुमति माग गरेको थियो । अदालतले त्यही वेला उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

हङकङमा रहेको सूचना आएपछि विभागले ‘रेड नोटिस’ जारी गर्नका लागि प्रक्रिया मिलाउन नेपाल प्रहरीलाई  पत्राचार गर्‍यो । त्यसकै आधारमा प्रहरीले देउवादम्पतीविरुद्ध ‘रेड नोटिस’ जारी गर्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)लाई पत्र लेखेको थियो । तर, कागजात नपुगेको भन्दै इन्टरपोलले नोटिस जारी गर्न अस्वीकार गरेको थियो । माग भएबमोजिमको कागजात मिलाएर प्रहरीले दोस्रोपटक ‘रेड नोटिस’ जारी गर्न इन्टरपोललाई पत्राचार गरेको छ ।

नेपाल प्रहरीका उच्च अधिकारीले देउवादम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पुनः पत्राचार गरिएको बताएका छन् । nayapatrika daily

Comments