सूर्यविनायकको राष्टिय प्राणी उद्यानः शिलान्यासको नौ वर्षसम्म कोमामै
बैशाख २४, २०८३, बिहीबार | राति ०८:४४ बजे | 120
भक्तपुर । अन्तर्राष्टियस्तरको चिडियाखाना बनाउने भन्दै शिलान्यास भएको भक्तपुरको सूर्यविनायकस्थित राष्टिय प्राणी उद्यान शिलान्यासको नौ वर्षपछि कोमामा पुगेको छ । वि.सं. २०७१ साल माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले भक्तपुरको सूर्यविनायकस्थित २ सय ४५ हेक्टर सामुदायिक तथा सरकारी वन क्षेत्रमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्ने निर्णय गरेको थियो । अन्तर्राष्ट्रियस्तरको पर्यटकीय केन्द्र बनाउने लक्ष्य राखिएको परियोजनाको लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ साल असार ९ गते शिलान्यास गरेका थिए । तर हालसम्म पनि यसको काम सुस्त गतिमै रहेको छ ।
राष्ट्रिय प्राणी उद्यानकी कार्यालय प्रमुख कुसुम नेपालले प्राणी उद्यानका लागि अहिले कर्मचारीको तलव मात्रै पठाइदिने गरेको जानकारी गराइन् । कार्यालय सञ्चालनका लागि मात्रै बजेट आउने गरेको छ, उनले भनिन्, कर्मचारीहरु पनि धेरै कटौती भइसकेको छ । उनका अनुसार सुरुमा कार्यालयको नेतृत्व सहसचिव तहले गदर्थे । तर काम अगाडि नवढेपछि नेतृत्व गर्ने कर्मचारीको तह पनि घटाइएको छ । अहिले उपसचिव तहले नेतृत्व गर्ने गरेको उनले सुनाइन् ।
कार्यालयको नेतृत्व गरिरहेकी उनले आफू विद्यार्थी जीवनदेखि सुन्दै आएको परियोजना अझै कार्यान्वयनमा नपुगेको भन्दै दुःख व्यक्त गरिन् । उनले भनिन्, “म आफैँ फरेस्ट्रीको विद्यार्थी हुँ । मैले पढ्ने बेलामै यो परियोजनाको विषयमा सुनेकी थिएँ । तर अहिले म आफैँ यो संस्थाको हाकिम भइसक्दा पनि काम अघि बढेको छैन । अहिलेको सरकारले काम अघि बढाउनेमा हामी आशावादी छौँ ।”
अव सुरु हुन्छः सांसद् खत्री
भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजीब खत्रीले राष्ट्रिय प्राणी उद्यानको काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले “राष्ट्रिय प्राणी उद्यानको औचित्य र भविष्य” विषयमा विहीबार उनीसँंग गरेको अन्तरक्रियामा सांसद खत्रीले आगामी बजेटबाटै परियोजनाको काम सुरु गर्ने बताए । उनले भने, “मैले केही समयअघि प्रधानमन्त्री बालेन साहसँगको भेटका क्रममा पनि यो विषय उच्च महत्वका साथ उठाएको छु । मेरो निर्वाचन वाचापत्रमा समेत यो परियोजना पूरा गर्ने विषय समेटिएको थियो र म निरन्तर यसकै लागि लागिरहेको छु ।”
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले करिब एक दशक बितिसक्दा पनि परियोजना अघि नबढेको भन्दै चिन्ता व्यक्त गरे । उनले प्राणी उद्यान निर्माणमा ढिलाइ हुँदा स्थानीय समुदायमा जोखिम बढिरहेको बताए । उनले भने, “प्राणी उद्यानले गति नलिँदा हाम्रै समुदायमा जोखिम बढ्न थालेको छ । केही समयअघि यही जंगलमा चितुवाले ६ वर्षीय बालकमाथि आक्रमण गर्दा ज्यान नै गयो। अहिलेको शक्तिशाली सरकारले यो कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउनेमा हामी आशावादी छौँ।”
सूर्यविनायक नगरपालिका–८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले उद्यान निर्माणका लागि ६ वटा सामुदायिक वन उपलब्ध गराइसकेको उल्लेख गर्दै सरकारले छिटो प्रक्रिया अघि बढाउनुपर्ने बताए । उनले भने, “हामीले करिब १० वर्षअघि ६ वटा सामुदायिक वन उक्त प्राणी उद्यानलाई दिएका थियौँ । यदि सरकारले अझै उद्यान बनाउने काम अघि बढाउँदैन भने वन क्षेत्र हामीलाई फिर्ता गरिदिए हुन्छ, त्यसको संरक्षण हामी आफैँ गर्नेछौ ।”
फाेटाेमा हेर्नुहाेस्...
