भाषा सञ्चारको माध्यम मात्र नभई समुदायको पहिचान, संस्कृति र सभ्यताको आधार


बैशाख २४, २०८३, बिहीबार | साँझ ०४:५४ बजे | 60


भाषा सञ्चारको माध्यम मात्र नभई समुदायको पहिचान, संस्कृति र सभ्यताको आधार

भाषा दिवस २०८३ भव्य रूपमा सम्पन्न

बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाको प्रमुख अतिथ्यमा आज भाषा दिवस कार्यक्रम २०८३ सम्पन्न भयो। बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाल तामाङ घेदुङ र नेवा देय दबुको सहकार्यमा संयुक्त रुपमा आयोजना भएको उक्त कार्यक्रममा माननीय मुख्यमन्त्री बानियाले भाषा, साहित्य र संस्कृति क्षेत्रमा योगदान पुर्याएका नेवारी भाषा साहित्यका डा. पुष्पराज राजकर्णिकार र तामाङ भाषा साहित्यमा योगदान पुर्‍याएका राजेन्द्र थोकरलाई दोसल्ला ओडाई सम्मान गर्नुभयो।

कार्यक्रममा बोल्दै माननीय मुख्यमन्त्री बानियाले प्रदेश सरकारले सरकारी कामकाजको भाषासम्बन्धी ऐन कार्यान्वयनमा आएको दिनको अवसरमा आज विविध कार्यक्रम गरी मनाइएको जानकारी रहेको बताउँदै भाषा केवल सञ्चारको माध्यम मात्र नभई समुदायको पहिचान, संस्कृति र सभ्यताको आधार भएको उल्लेख गर्नुभयो।

बागमती प्रदेश बहुभाषिक, बहुजातीय र बहुसंख्यक विशेषता बोकेको प्रदेश भएको बताउँदै उहाँले सबै भाषाको संरक्षण र सम्मान आवश्यक रहेको बताउनुभयो ।

मातृभाषाको संरक्षण गर्नु भनेको आफ्नो इतिहास, संस्कृति र पहिचान रक्षा गर्नु हो भन्दै मुख्यमन्त्री बानियाले संविधानले सुनिश्चित गरेको भाषिक अधिकारको कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रमका विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाषा दिवसलाई नारा र कार्यक्रममा सीमित नराखी यसको व्यवहारिक कार्यान्वयनतर्फ प्रदेश सरकारले जोड दिनुपर्ने बताउनुभयो ।

भाषा लोप हुनु भनेको देशको महत्वपूर्ण सम्पत्ति लोभ हुनु हो भन्दै उहाँले भाषा र संस्कृति रहेन भने हाम्रो पहिचान नै गुम्दै जाने बताउनुभयो।

प्रमुख प्रजापतिले भाषा सम्मेलनको आयोजना र स्मारिका प्रकाशनमा जोड दिनुपर्ने बताउँदै भक्तपुर नगरपालिकाले पाक्षिक रुपमा नेपाल भाषाको पत्रिका ख्वप पौ प्रकाशन गर्दै आएको र नेपाल भाषा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको पनि व्यवस्था गर्दै आएको सोही क्रममा बताउनुभयो।

कार्यक्रमका सभापति बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठले बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयनमा आएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते भाषा दिवस मनाउने निर्णय गरे अनुरुप आज प्रदेशभरका सरकारी कार्यालय तथा निकायमा सार्वजनिक विधा समेत दिइएको बताउनुभयो।

उक्त कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, नेपाल तामाङ घेदुङका महासचिव जगत डोङ, नेवा दे दबुका केन्द्रीय अध्यक्ष रश्मिला प्रजापति, प्रदेश सचिव दिपेन्द्र सुवेदी, नेपाल पत्रकार महासंघका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

प्रदेश भाषा दिवसको अवसरमा भक्तपुर क्याम्पस अगाडि दुधपाटीबाट प्रभातफेरि सुरु भई कमलविनायक हुँदै लान्चा फल्चा पुगी कार्यक्रम सम्पन्न भएको थियो।

र्‍यालीमा बागमती प्रदेशका माननीय मन्त्रीहरु, सभासदहरु, मध्यपुरथिमिका प्रमुख, चांगुनारायण नगरपालिकाका प्रमुख, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, पत्रकार महासंघका प्रतिनिधि, प्रदेश सरकारका कर्मचारी, राष्ट्रिय अनुसन्धान विभाग, जनसमुदाय र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री बानियाले भाषा दिवसको अवसरमा स्मारिका विमोचन गर्नुभएको थियो भने भाषा दिवस कार्यक्रममा विभिन्न मौलिक बाजा र नाचहरू पनि प्रदर्शन गरिएको थियो।

फाेटाेमा हेर्नुहाेस्...

भाषा सञ्चारको माध्यम मात्र नभई समुदायको पहिचान, संस्कृति र सभ्यताको आधार

Comments