नदी किनारबाट उठाइएका सुकुम्वासी भक्तपुरको खरिपाटीमा
बैशाख २०, २०८३, आइतबार | राति ०९:०१ बजे | 80
खरिपाटी । सरकारले काठमाडौं उपत्यकाका विभिन्न सुकुम्वासी वस्तीहरुबाट उठाइएका सुकुम्वासीहरुलाई भक्तपुरको खरिपाटीमा ल्याएर राखिएको छ । जिल्लाको चाँंगुनारायण नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा ल्याएर ती सुकुम्वासीहरुलाई राखिएको हो । उनीहरूलाई यहाँं खाने र वस्ने निःशुल्क व्यवस्था रहेको छ । यसअघि यहाँं कोरोना कालमा पनि कोरोना भएका व्यक्तिहरुलाई सुरक्षितसाथ राखिएको थियो ।
एक सातादेखि काठमाडौं उपत्यकाका नदी किनारामा बसोबास गर्ने सुकुमवासीहरूलाई हटाउन काठमाडौं उपत्यकाका विभिन्न ठाउँंहरुमा डोजर चलाइरहेको छ । ती वस्तीहरु हटाउँंदा उपत्यकाका विभिन्न स्थानबाट विस्थापित भएका सुकुमवासीहरूलाई तालिम केन्द्रको होस्टेलमा राख्न थालिएको हो । अहिले यहाँं एक सय ४० जना रहेको जनाइएको छ । उनीहरु सवैलाई होस्टेलमा परिवारपरिवार छुटाएर कोठाकोठामा राखिएको छ ।
तालिम केन्द्रमा २ सय ५० जना अट्ने क्षमताको दुई वटा भवन रहेको बताइएको छ । अहिले दुवै भबनमा सुकुम्वासीहरु रहेका छन् । थप सुकुम्वासीहरु राख्न सक्ने क्षमता यहाँं रहेको छ ।
यहाँं रहेका सुकुम्वासीहरु खुशी देखिएका छन् । वास्तविक सुकुम्वासीहरुलाई सुरक्षितका साथ निःशुल्क रुपमा वस्ने, खाने व्यवस्था सरकारले गरेको भन्दै बालेन सरकारप्रति उनीहरुले कृतज्ञता जनाए । सरकारले व्यवस्थापन गर्ने भनेर बस्तीमा डोजर चलाएपछि हामीहरु निकै चिन्तित भएका थियौं, उनीहरुले भने, अहिले हामीलाई आराम भएको छ ।
तीन महिनाकी छोरी पूर्णिमा तामांगलाई दुध खुवाउँंदै गरेकी बबिताले चार वर्षको छोरा शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा विरामी भई उपचाररत भए पनि यहाँं रहेको आफूलाई खान, वस्ने वन्दोवस्त रहेकोमा चिन्ता हटेको बताउँंछिन् । उता बच्चाको बुबा अस्पतालमा छन्, उनले भने, म भए पनि यहाँं निःशुल्क खान बस्न पाउँदा दुःख थोरै भए पनि कम भएको छ । सुकुम्वासी वस्तीमा रहँंदा पति मजदुरीमा काम गर्ने र आफू भने बच्चाबच्चीको हेरचाहमा रहने उनले सम्झिन् ।
काठमाडौंको टेकु सुकुम्वासी बस्तीबाट सरकारले आफूहरुलाई गाडीमा राखेर यहाँं पुरयाइएको बताउने अर्का सुकुम्वासी राजकुमार विक भन्नासाथ कोठासमेत नपाउने परिस्थितिमा सरकारले अल्पकालका लागि भए पनि खाने वस्ने वन्दोवस्त गरिदिएकोमा बालेन सरकारप्रति कृतज्ञता जनाए । तत्काल भए पनि हामी सुरक्षित साथ खान वस्न पाइरहेका छौं, उनले भने, विहान विहान बेलुकी दाल भात तरकारी, दिउँंसो खाजा र दिनमा दुई पटक चिया विस्कुट खान पाइरहेका छौं ।
यसअघि आफूहरू अलपत्र परेकोमा उनीहरूको चिन्ता थियो । केहीले त आफूले लगाएको लुगा बाहेक केही लिन नपाएको समेत बताएका छन् । वर्षौं मिहिनेत गरेर बनाएको सानो थातथलो छोड्नु पर्दा आफूहरूलाई पीडा थपिएको उनीहरूको भनाइ छ । उनीहरूलाई आफ्नो बालबालिकाहरूको पढाइ छुटेकोप्रति निकै चिन्तित बनाएको छ भने सरकारसँगै तत्काल स्थायी समाधान दिएर व्यवस्थापन गर्नुपर्ने माग उनीहरूको छ ।
यहाँं रहेका सकुम्वासीहरुको अवस्था बुझनका लागि प्रधानमन्त्री कार्यालय अन्तर्गतको सचिवालको एक टोली दिउँंसो यहाँं पुगेको थियो । साथै जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अन्जना खड्कासहितको टोली पनि यहाँं रहेका सुकुम्वासीहरुको स्वास्थ्य अवस्था बुझन् पुगेकी थिइन् । सुकुम्वाबासीहरुको कुराकानी गर्दै उनले सक्यो भने सोमबार नै स्वास्थ्य शिविर राख्ने योजना रहेको जनाइन् । सकेन भने पनि एकदुई दिनभित्र शिविर हुन्छ, उनले भनिन् ।
फाेटाेमा हेर्नुहाेस्...
