जरा फाउण्डेशनको आयोजनामा 'जेन कविता' सङ्गोष्ठी सम्पन्न


बैशाख १९, २०८३, शनिबार | विहान ०७:३३ बजे | 55


जरा फाउण्डेशनको आयोजनामा 'जेन कविता' सङ्गोष्ठी सम्पन्न

जयराम बिडारी

बैशाख १८,काठमाण्डौ

बुद्ध पूर्णिमाको पावन अवसरमा राजधानीमा शब्द र दर्शनको एउटा सुन्दर सङ्गम 'तेस्रो अन्तर्राष्ट्रिय जेन-साहित्य सङ्गोष्ठी' भव्यताका साथ सम्पन्न भएको छ । सो कार्यक्रमका बीच 'जेन कविता' सङ्ग्रहको लोकार्पण तथा कविता प्रतियोगिता सम्पन्न गरिएको छ । सिर्जना शर्मा र प्रज्वल अधिकारीद्वारा संयुक्तरूपमा सञ्चालित उक्त कार्यक्रममा जेन दर्शन र साहित्यको गहिरो सम्बन्धबारे चर्चा गरिएको थियो। उक्त अवसरमा 'जेन कविता' सङ्ग्रहको लोकार्पण गरिएको थियो। कार्यक्रमका संयोजक तथा साहित्यकार महेश पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै जेन साहित्यको मूल्य र यसको दार्शनिक पक्षबारे जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "हिन्दू धर्ममा जस्तै जेन दर्शनमा पनि जीवनको विशिष्टता ग्रहण गर्न जरुरी छ । द्वैतताको विलोप नै जेन हो।" सन् १९५० को दशकदेखि विकास भएको जेन कविताको शैली र यसको महत्त्वबारे पनि कार्यक्रममा चर्चा गरिएको थियो । कार्यक्रममा १५० जना कविहरूबाट प्राप्त कविता मध्य आन्तरिक छनौट गरि ५४ कवितहरु मूल्यांकन समितिमा पठाएको जनाइएको छ । मूल्यांकन समितिमा प्राप्त नाम रहित जेन कविताहरु मध्य वृहद अध्ययन र मुल्यांकनका आधारमा २८ कवितालाई छनौट गरिएको जनाउँदै सो कविताहरु बाट १५ वटा कवितामा सिमित गरि कार्यक्रममा वाचन गरिएका थिए । प्रतियोगितामा सहभागी कविताहरूमध्ये सुरज पराजुलीको ‘जीवन’ शीर्षकको कविता प्रथम हुन सफल भयो । विजेता पराजुलीलाई नगद २५००० रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो । यसैगरी, गोमा श्रेष्ठको ‘भाले’ शीर्षकको कविता द्वितीय हुन सफल भएको थियो । श्रेष्ठ कार्यक्रममा उपस्थित हुन नसकेकाले उक्त पुरस्कार र प्रमाणपत्र पछि प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै, कवि मोहित जोशीको ‘जुनकिरी’ शीर्षकको कविता तृतीय हुन सफल भयो, जसले नगद १५,००० रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्‍यो । प्रतियोगितामा सहभागी अन्य कविहरूलाई पनि नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा सामीप्य, कृशला खनाल, सुविहानी, दिलीप श्रेष्ठ, सी.आर. भट्टराई, इन्दु भट्टराई, असिम सागर लगायतका सर्जकहरूले आफ्ना कविता वाचन गरेका थिए। कार्यक्रममा जेन विशेषज्ञ इन्द्रमान सुब्बाले बौद्ध र जेन दर्शनको अवधारणा र महत्त्वबारे कार्यपत्र प्रस्तुत गरेकाा थिए । उनले सिद्धार्थ गौतमदेखि महाकश्यपसम्मको जेन परम्पराको ऐतिहासिक विकासक्रमबारे प्रकाश पारे । प्रमुख अतिथि सी.पी. भट्टराईले कविता लेख्नेहरू मात्र नभई सुन्ने र बुझ्नेहरू पनि उत्तिकै महत्त्वपूर्ण हुने बताउँदै साहित्य केवल शब्दको जाल मात्र नभई अनुभवको सङ्ग्रह पनि रहेको कुरामा जोड दिए । उनले जेन शैलीलाई समाज बुझ्ने इमानदार प्रयासको रूपमा व्याख्या गरे । उक्त कार्यक्रममा भर्चुअल माध्यमबाट विभिन्न देशका साहित्यकारहरूले समेत कविता वाचन गरेका थिए । सृजना शर्मा तथा प्रज्वल अधिकारीले संयुक्त रुपमा सहजीकरण गरिएको सो कार्यक्रमको अन्त्यमा कृष्ण प्रसाईंद्वारा सहभागी सबैलाई धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गरिएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

जरा फाउण्डेशनको आयोजनामा 'जेन कविता' सङ्गोष्ठी सम्पन्न

Comments