डा. इन्दुलको उपचार पद्धतिमा अर्को एक अध्याय थप


बैशाख १८, २०८३, शुक्रबार | साँझ ०६:०६ बजे | 145


डा. इन्दुलको उपचार पद्धतिमा अर्को एक अध्याय थप

 

पदम दाहाल

मादी न.पा. ६, सङ्खुवासभा हाल, लोकन्थली, भक्तपुर ।

प्रायः दैनिक रूपमा बिहानैपिच्छे भनेजस्तो डा. इन्दुल केसीजी मलाई अनिवार्य ढङ्गले फोन गरिहाल्नुहुन्छ । एकदिन बिहीबारको दिन थियो उसरी नै एकाबिहानै फोन गर्नु भो मलाई र भन्नु भो, ‘पदमजी, तपाईंको ढाड दुख्ने बिराम कस्तो भो ? दुख्तैछ कि छैन ? के छ अवस्था ? भनेर फोन गरेको हुँ ।’ मैले जवाफ दिएँ, ‘अस्ति थेरापी गर्न छोडेपछिको कुरा हो, मेरो ढाड अत्यन्त दुखेको दुख्यै छ । निहुरिन, ओर्किनफर्किन, चल्नचट्पटाउन नै नहुने गरी दुखिरहेको छ नि इन्दुल सर ।’ फेरि उहाँले सोध्नु भो, ‘ए पदमजी, तपाइँलाई झारफुक, फुकफाक, तन्त्रमन्त्र गर्ने कुरामा विश्वास लाग्छ कि लाग्दैन नि ?’ मैले भनेँ, ‘आजभोलि पो सहरबजारतिरको बसाइ भो त, पहिलेपहिले आफ्नो गाउँ–घरतिर बस्ताखेरि धाँमीझाँक्री, टुनामुना, फाकफुक विधि नै त चल्थ्यो नि । त्यसरी नै कतिचोटि उपचार गर्न लगाइयो लगाइयो । यतातिर पो त्यसरी उपचार गर्ने चलन पनि छैन र गर्ने मान्छे पनि खै को पो पाउनु र ?’ यति भन्नेबित्तिकै उहाँले हतारिँदै भन्नु भो, ‘त्यस्तो खालको मान्छेको प्रबन्ध त तपार्इँको घरछेउ नजिकैतिर मैले नै मिलाइदिन सकिहाल्छु नि । पैसा पनि धेरै दिइरहन पर्दैन । फाकफुक विधि अपनाएर उपचार गराइदिऊँ त ? के भन्नुहुन्छ तपाईँ ?’ ‘बिराम जस्तो कुरो निको हुन्छ भने म त अहिल्यै पनि तयारी छु नि । तर खै कहाँ पाउनु र त्यस्तो मान्छे ?’ मैले जिज्ञासा राखँे । यति भनिसक्ता नसक्तै उहाँले आफ्ना पिताजी केदारनाथ झा त्यस किसिमको तान्त्रिक पद्धतिबाट उसबेला कतिपय बिरामीलाई निको पार्ने गर्नुहुन्थ्यो । त्यस्तो विधि उहाँले आफूलाई पनि सिकाएर जानुभएको हुनाले आफैँ त्यस्तो विधिद्वारा फाकफुक गरेर तपाइँको रोग निको पार्न सकिहालिन्छ । त्यस्तो मान्छे अरू कोही नभएर उही इन्दुल भन्ने मान्छे त हो नि । उसैले गरिदिहाल्छ नि । त्यो मान्छे अहिले कोटेश्वरको तीनकुनेमा बस्छ । उसलाई भक्तपुर पठाउनु छ । सोही मान्छे लोकन्थली चोकसम्म आएर गाडीबाट उत्रिनेछ र नजिकैको एउटा मन्दिरभित्र पसेर तपाईंको उपचार गरिदिनेछ । तपाईँ पनि आफ्नो घरबाट केही सामग्री झोलामा लिएर चोकतर्फ आउनुहोला भन्नेबित्तिकै मेरालागि अभिभावक सरहका मेरा हितैषी मित्र इन्दुलजीलाई भेट्ने अभिप्रायले म पनि तुरुन्तै लोकन्थली चोकतिर लागि हालेँ । उहाँले भने मुताबिकका सामग्रीहरू फूल, अक्षेता, बाटेका एक जोडा धुप, कलश स्थापना गर्ने एक लोहोटी, सानो थाली, अबिर रङ, केसरी रङ, अलिकति खरानीको धुलो, २÷४ वटा चानचुने पैसा, सलाई जस्ता सामानहरू लिंदै चोकतर्फ लागँे म पनि । चोकमा पुग्दा लठ्ठी टेक्दैटेक्दै गाडीबाट खुत्रुक्क उत्रिएका इन्दुल र म नजिकैको दिव्येश्वर मन्दिर परिसरभित्र छि¥याँै । उहाँ र म दुवैजना शिवालयको ढोकै अघिल्तिर पञ्चस्नान गरेपछि पलेंटी कसेर बस्याँै । उहाँले मलाई जेजे गर्नु भन्नु भो मैले पनि त्यसैत्यसै गर्दै गएँ । सर्वप्रथम उहाँले भुइँलाई पानीले चोख्याउन लगाउनुभो । कलशको स्थापना गर्न लगाउदै त्यही चोख्याएका ठाउँमा त्यस कलशलाई राखियो । अर्को एक ठाउँमा गणेश भगवान्लाई सम्झिएर ठाउँ चोख्याउन लगाउनु भो भने अर्कोतिर ढोकैमा शिव र पार्वतीको आकृति सम्झेर फूल अक्षता चढाएर धुप्बाती बाल्न लगाउनु भो । गणेश भगवान् र शिवजीको स्तोत्र पाठ गर्न र सम्झिन लगाउनु भो । त्यसपछि सानो थालीमा राखिएको चामल÷अक्षेता झिकेर मेरो जिउ र शरीर वरिपरि आफ्ना हातले घुमाउँदै दायाँबायाँ फ्याँक्न थाल्नु भो । पानीलाई पनि वरपर छ्याप्न थाल्नु भो । मेरो पिठिउँलाई उहाँ बसेपट्टि फर्किन लगाउनु भो, लगाएको वस्त्रलाई उचाल्न लगाउनु भो र दुखेको ठाउँमा धमाधम खरानी दलेर खै के के तन्त्रमन्त्र भन्नु भो त्यसलाई मैले त बुझिनँ । एकोहोरो धेरैचोटि आफ्नो लामोलामो सास तानेर फुकफाक विधि भने अपनाउनु भो । फेरि हामी दुवैजना भएर दिव्येश्वर मन्दिरको परिक्रमा ग¥यौँ । उहाँले परिपरि घुमुन्जेलसम्म उक्त अक्षता र पानीलाई हातमा लिएर परेवालाई डाक्तै खान दिनु पर्छ अनि मात्र शरीरको नकारात्मक ऊर्जा बाहिरिन्छ भन्दै ममा एक प्रकारको मानसिक उपचार पद्धति पनि अपनाउनु भो उहाँले । यति गरेपछि पक्कै पनि निको भैहाल्छ, यदि भएनछ भने फेरि एकचोटि गरूँला भन्दै उहाँ र मसँगै बसेर १÷१ कप चिया खाएर आआफ्नो बाटोतर्फ लाग्यौँ । उहाँ त आफ्नो घर भक्तपुर पुगिसक्नु भएको थियो कि थिएन कुन्नि फेरि निको भएको छ कि छैन भन्दै पुछताछ गर्न थालिहाल्नु भो मलाई । केही बिसेक हुन थालेको महसुस गरी मैले उहाँलाई दुई दिनपछि फेरि दूरस्थ रेकी पद्धतिद्वारा उहाँकै घरबाट उपचार गरिदिन अनुरोध गरेँ । उहाँले साँझपखको समय पारेर मलाई अलौकिक शक्तिलाई प्रार्थना गरेर ध्यानमग्न भै बस्नू होला भनेर भन्नु भो । यसरी उहाँले आफ्नो घरैमा बसीबसी १५ मिनेट जति रेकी विधिबाट उपचार गरिदिएपछि भने आज म ठमठम गरेर हिंड्न सक्ने भएको छु । उहाँको फुकफाक विधि र रेकी विधिमध्ये कुन चाहिँ सशक्त विधि हो त्यसबारे भने अहिल्यै म केही पनि भन्न सक्तिनँ । त्यसै पनि मित्र इन्दुलले वैकल्पिक उपचार पद्धतिमाथि नै पी. एच. डी. गर्नु भएको हो भनिएकै छ । यस अघि पनि उहाँले जलनेती विधि अपनाएर शब्द यात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको पिनासको बिमारलाई राम्ररी निको पार्नु भएको थियो भन्ने कुरा लेखक हरि मञ्जुश्रीज्यूको पत्रिकामा छापिएको एउटा लेख पढेर बुझेको थिएँ मैले । कतिपय बिरामीलाई उहाँले माटोको प्रयोग गरेर पनि निको पारिसक्नुभएको कुरा मैले सुनेको छु । मेरो ढाड दुख्ने बिरामलाई उहाँकै प्रयासले अहिले निको भैसकेको छ । यसको तात्पर्य डा.इन्दुलजी सित आध्यात्मिक शक्ति पनि लुकेको रहेछ भन्ने लाग्यो । दैविक शक्तिको उपयोग गरी उहाँले मप्रति गर्नुभएको उपचारका लागि उहाँलाई आभार व्यक्त गर्दछु । साँच्चीकै उहाँ एकजना बहुआयामिक व्यक्तित्व नै हुनुहुन्छ । उहाँको यस किसिमको प्राकृतिक उपचार पद्धतिले डा. इन्दुलको बहुआयामिक उचाइमा अर्को एक अध्याय पक्कै पनि थपिएको छ भन्ने मेरो ठम्याइ छ ।

Comments