'हरेक बालबालिकाका लागि खेलको अधिकार': ललितपुरमा एआरपी नेपालको रणनीतिक कार्यशाला सम्पन्न
बैशाख १८, २०८३, शुक्रबार | साँझ ०६:५३ बजे | 35
ललितपुर, १८ वैशाख । बालअधिकार र खेल्ने अधिकारको क्षेत्रमा क्रियाशील संस्था 'एसोसिएसन अन राइट्स टु प्ले नेपाल' (एआरपी नेपाल) ले आफ्नो रणनीतिक योजना कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ। ललितपुरमा आयोजित उक्त कार्यशालामा विभिन्न संस्थाका संस्थापकहरू, प्रमुख सरोकारवाला र विभिन्न साझेदार निकायहरूको सहभागिता रहेको थियो। कार्यशालामा संस्थाले हालसम्म हासिल गरेका उपलब्धिहरूको समीक्षा गर्दै आगामी वर्षहरूका लागि स्पष्ट र प्रभावकारी रणनीतिक मार्गचित्र (रोडम्याप) तयार गरिएको छ। 'प्रत्येक बालबालिकाका लागि खेल्ने अधिकार' सुनिश्चित गर्ने एआरपी नेपालको अभियानलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर कार्यक्रममा घनीभूत छलफल भएको थियो। सहभागीहरूले नेपालभरका बालबालिकाहरूका लागि समावेशी र सुरक्षित खेलको वातावरण निर्माण गर्ने, संस्थाको पहुँच (आउटरिच) विस्तार गर्ने र नवीन कार्यक्रमहरू डिजाइन गर्ने विषयमा अर्थपूर्ण विचार आदानप्रदान गरेका थिए। एआरपी नेपालले कार्यशाला सफल बनाउन र बालअधिकारको क्षेत्रमा निरन्तर सहयोग पुर्याउने साझेदार संस्थाहरू— टीडीएच (TDH) फाउन्डेसन नेपाल, युनिसेफ (UNICEF), प्लान इन्टरनेशनल नेपाल, सेभ द चिल्ड्रेन इन्टरनेशनल र मास्टर पिस फाउन्डेसनलगाएत साझेदार निकायहरूको सहभागिता रहेको थियो। खेलका माध्यमबाट बालअधिकारलाई अगाडि बढाउन एकताबद्ध भएका यी साझेदारहरूको भूमिकाको संस्थाले उच्च प्रशंसा गरेको छ। नवीकृत ऊर्जा र साझा दृष्टिकोणका साथ एआरपी नेपालले आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ। प्रत्येक बालबालिकाले खेलका माध्यमबाट सिक्ने र फस्टाउने अवसर पाउने बालमैत्री समाज निर्माण गर्नु नै आफ्नो अन्तिम लक्ष्य रहेको संस्थाले उल्लेख गरेको छ। कार्यशाला समापनसँगै एआरपी नेपालले बालबालिकाको आधारभूत अधिकारका रूपमा रहेको 'खेल'लाई नीतिगत र व्यवहारिक दुवै तहमा स्थापित गराउने अभियानलाई तीव्रता दिने बताएको छ।
फाेटाेमा हेर्नुहाेस्...
